खडेरीसँगै सामुदायिक वनमा डढेलो «

खडेरीसँगै सामुदायिक वनमा डढेलो

लमजुङ-गर्मी मौसम सुरु भएसँगै लमजुङका वन जंगलमा डढेलो लाग्ने क्रम बढेको छ । जिल्लाका विभिन्न स्थानीय तहका वन जंगलमा दैनिकजसो डढेलो लागेको छ ।
डिभिजन वन कार्यालय लमजुङका अनुसार केही दिनयता सुन्दरबजार, मध्यनेपाल, राइनास, बेंसीसहर, दोर्दीलगायतका वनजंगलमा डढेलो लागेको छ । केही वनमा लागेको डढेलो नियन्त्रणमा आए पनि अझै अधिकांश डढेलो नियन्त्रणमा आउन बाँकी रहेको डिभिजन वन कार्यालय लमजुङले जनाएको छ ।
सुख्खा याम सुरुदेखि नै जिल्लाका १५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागिसकेको छ । सोबाहेक जिल्लाको एउटा प्रस्तावित सामुदायिक वनमा पनि डढेलो लागेको डिभिजन वन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।
डिभिजन वन कार्यालयका अनुसार मध्यनेपाल–६ को रानीरिहिने सामुदायिक वन, वडा नम्बर १ को कीर्तिपुर सामुदायिक वन र वडा नम्बर ५ को गुम्बा हलेसी सामुदायिक वनमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । यस्तै सुन्दरबजार–६ को ढोर्दिङ सामुदायिक वन, वडा नम्बर ९ को चण्डी सामुदायिक वन र सुन्दरबजार–१ कै पाताल सामुदायिक वनमा डढेलो लागेको हो । यसैगरी राइनास नगरपालिका अन्तर्गत वडा नम्बर ९ को मनकामना सामुदायिक वन र कालिका सामुदायिक वन, वडा नम्बर–६ को आँपचौर सामुदायिक वन, सिमलचौर नारिनघाट सामुदायिक वनमा पनि डढेलो लागेको छ ।
त्यसैगरी दोर्दी गाउँपालिका–३ को केराबारी सामुदायिक वन र वडा नम्बर ४ को इच्छापुरी कमेरेपानी सामुदायिक वनमा पनि आगलागी भएको छ । केराबारी सामुदायिक वनमा लागेको डढेलोमा परेर स्थानीय ४ जना गम्भीर घाइतेसमेत भएका थिए । डिभिजन वन कार्यालयका अनुसार बेंसीसहर नगरपालिका–६ को प्रस्तावित सुलिकोट सामुदायिक वन, भोटेचौर सामुदायिक वन र वडा नम्बर २ को किरेपानी सामुदायिक वनमा पनि डढेलो लागेको छ ।
लमजुङको कुल भूभागको ५५ प्रतिशतभन्दा बढी जमिनमा वन रहेको सरकारी तंथ्याक छ । डढेलो नियन्त्रणका विभिन्न प्रयास भए पनि वनमा आगलागी भने रोकिन सकेको छैन । वर्षेनी गर्मीयाममा वनमा डढेलो लाग्ने क्रम घट्नुको साटो बढ्दो क्रममा रहेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख मोहन काफ्लेले बताए । प्राकृतिक र मानवीय दुई कारणले वनमा डढेलो लाग्ने गरेको भन्दै डिभिजन प्रमुख काफ्लेले डढेलोको मुख्य कारण मानवीय क्रियाकलाप भएको बताए । डढेलोका लागि प्राकृतिक कारण एकदमै न्यून भएको भन्दै घाँस उमार्ने मनसायले वनमा डढेलो लगाउने गरेको बताए ।
वन डढेलो नियन्त्रणका लागि जिल्लास्थित सामुदायिक वन उपभोक्ता समितिलाई परिचालन गरिएको छ । भौगोलिक विकटता, पर्याप्त स्रोत साधनको अभावका कारण डढेलो नियन्त्रणमा चुनौती देखिएको छ । विशेषगरी कोभिड–१९ को प्रभावसँगै अधिकांश नागरिक घरबाहिर ननिस्कने हुँदा आगो नियन्त्रणमा पनि समस्या भएको छ । सोबाहेक आगलागी नियन्त्रणका लागि सरकारी तवरबाट संघसंस्था परिचालन, विद्यालय सचेतना, सञ्चार माध्यममार्फत सूचना प्रवाह, सूचना बोर्ड व्यवस्थापन लगायत काम भए पनि तथ्यांकअनुसार डढेलो लाग्ने क्रम बढ्दो छ ।
डढेलोका कारण जिल्लाको कति हेक्टर वनमा क्षति पुगेको छ भन्ने एकिन तथ्यांक आइसकेको छैन । डिभिजन वन कार्यालयका अनुसार यस वर्षको डढेलोका कारण जिल्लाका आठ स्थानीय तहमध्ये पाँचवटा स्थानीय तहका सामुदायिक वन प्रभावित भएका छन् ।
जिल्लाको कुल वन क्षेत्रफल ६६ हजार ६ सय ७३.६ हेक्टरमध्ये ६२ हजार पाँच सय ८३.१० हेक्टर सामुदायिक वन रहेको पाइएको छ ।

डढेलोबाट एकै परिवारका चारजना घाइते
लमजुङको दोर्दी गाउँपालिका–३ केराबारीको वनमा भएको आगलागीमा परी चारजना घाइते भएका छन् । घाइते हुनेमा दूधपोखरी गाउँपालिका–६ पोखरी बस्ने २८ वर्षीय हरिमाया गुरुङ, १७ वर्षीय पूजा गुरुङ, १० वर्षकी रश्मी गुरुङ र ५ वर्षकी अस्मी गुरुङ छन् । शुक्रबार दिउँसो पोखरीबाट भोटेवडार आउने क्रममा बाटोमा पर्ने दोर्दी–६ केरबारी सामुदायिक वनमा लागेको आगोमा परी उनीहरू घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका चारैजना एकै परिवारका हुन् ।
आगोमा परी घाइते चारैजनालाई उपचारका लागि बेंसीसहरस्थित जिल्ला सामुदायिक अस्पताल ल्याइएको थियो । अस्पतालमा सामान्य उपचार पश्चात गम्भीर घाइते हरिमाया गुरुङ र रश्मी गुरुङलाई थप उपचारका लागि काठमाडांैस्थित कीर्तिपुर वर्न केयर सेन्टरमा रिफर गरिएको छ भने पूजा र अश्मी गुरुङको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए ।

 

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्