व्यवसायीमाथि गोली प्रहारको विरोधमा भैरहवा बन्द «

व्यवसायीमाथि गोली प्रहारको विरोधमा भैरहवा बन्द

भैरहवा-युवा व्यवसायी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका नवनिर्वाचित सदस्य हरिश सेठिया (पिन्टु) माथि लक्षित गरी गोली प्रहार गरिएको घटनालाई लिएर विरोधस्वरुप संघले मंगलबार भैरहवा बजार बन्द गरी विरोध जनाएको छ । संघ तथा व्यवसायीहरूले गोलि प्रहार भएका पीडित सेठियालाई अनाकहमा दुःख दिई थप मानसिक तनावसमेत दिएको आरोप लगाएका छन् ।
सोमबार राति सेठियामाथि आफ्नो घर नजिक गोली प्रहार भएकोमा गोली उनलाई छलिएर जोगिएका थिए । मोबाइल तथा विद्युतका सामग्री बिक्री गर्दै आएका सेठिया राति आफ्नो व्यावसायिक प्रतिष्ठान बन्द गरेर घर जाने क्रममा भारतीय नम्बरको मोटरसाइकलका आएका दुई जना व्यक्तिले पिछा गर्दै गएको र घर नजिकै उनीमाथि गोली प्रहार गरी भाग्दै गरेका अबस्थामा स्वयं सेठियाले पछ्याउँदै जाँदा स्थानीयको सहयोगमा ‘सुटर’ लाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।गोली प्रहार गरेर भाग्ने क्रममा नल कटुवा पेस्तोलसहित भारतको महाराजगंज जिल्ला थाना कोतवाली मोनजोत ग्राम पंचायत नौतनवाका ४६ वर्षीय रमजान मुसलमान पक्राउ परेको प्रहरीले जनाएको छ ।
घटनामा प्रयोग गरिएको यूपी ५६ ई ४१४९ नम्बर प्लेट उल्लेख रहेको डिस्कभर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । साथै उनको साथबाट नलकटुवामा लोड भई फायर भएको अवस्थामा खोका एक थान र गोली एक थान बरामद भएको छ । मोटरसाइकल चालक भने फरार रहेका छन् । उनी पनि भारतीय नागरिक रहेको बताइएको छ ।
तर, व्यवसायीले भने घटनाका दोषीलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्नुको साटो प्रहरीले उल्टो पीडितलाई अन्याए हुने काम गरेको आरोप लगाउँदै शान्ति सुरक्षा कायम गर्न, सुरक्षाको प्रत्याभुति गराउन माग गर्दै बिरोधमा बजार बन्द आह्वान गरेको संघका महासचिव नेत्र प्रसाद आचार्यले बताए । उता व्यवसायीहरूले बजार बन्द गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले घटना दुःखद भएको भन्दै प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । उनले बजार बन्द गरेर समस्याको समाधान नहुने भन्दै बन्द नगर्न व्यवसायीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्