राष्ट्रपतिमा दोहोरिइन् भण्डारी «

राष्ट्रपतिमा दोहोरिइन् भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी पुनः राष्ट्रपति निर्वाचित भएकी छन् । मंगलबार सम्पन्न राष्ट्रपति निर्वाचनमा अर्की उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै उनी राष्ट्रपति दोस्रोपटक निर्वाचित भएकी हुन् । राष्ट्रपति निर्वाचनमा उनले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईले भने ११ हजार ७सय ३० मतभर प्राप्त गरिन् ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ ३ र प्रदेशसभा सदस्यतर्फ ५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गरेका थिए । । कूल मतदातामध्ये संघीय संसद्का ५ र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित भएका थिए । कानुनले संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभाका ५ सय ५० सदस्य मतदाता थिए । संघीय संसद भवन नयाँ बानेश्वरमा विहान १० बजेदेखि ३ बजेसम्म राष्ट्रपतिका लागि मतदान भएको थियो ।
नवनिर्वाचित राष्ट्रपति भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिने छिन् । सपथको समय बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने व्यवस्था छ । गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी भण्डारी दोहोर्याएर राष्ट्रपति बन्न सफल भएकी छन् ।
भण्डारीलाई सत्तारुढ दल एमाले र माओवादीको वामगठबन्धनको समर्थन थियो । यसअघि उनी संविधान घोषणा पछि २०७२ कात्तिक ११ गते राष्ट्रपति चयन भएकी थिइन् । त्यतिबेला रुपान्तरित संसदले उनलाई राष्ट्रपति चयन गरेको थियो । राष्ट्रपति हुनुअघि एमाले उपाध्यक्ष रहेकी भण्डारीले ०६६ सालमा रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकी थिइन् । पहिलो कार्यकाल उनले राष्ट्रपतिका रुपमा दलीय आवद्धता नभए पनि एमालेसँग निकट रहेको आरोप खेप्नुपरेको थियो । राष्ट्रिय सभा सदस्यहरुका लागि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले गरेको सिफारिस कार्यान्वयन नगरेपछि उनीमाथी संविधान नमानेको भन्दै अदालतमा रिट समेत दायर भएको थियो ।
को हुन् भण्डारी ?
विसं २०१८ असार ५ गते भोजपुर जिल्लाको मानेभञ्ज्याङमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिएकी भण्डारीले बाल्यकालमा बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुरबाट अध्ययन शुरु गरेकी हुन् । उनले माध्यमिक शिक्षा विद्योदय व्यावसायिक सेकेन्डरी स्कुलबाट हासिल गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले भोजपुर क्याम्पस, भोजपुरमा आइए र महेन्द्र मोरङ कलेज विराटनगरमा बिए अध्ययन गरेकी छन् । भोजपुर क्याम्पसमा पढ्दा विसं २०३५ मा तत्कालीन नेकपा (माले) सम्बद्ध युवा लिगमा संगठित भई विसं २०३७ मा काठमाडौँमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पाँचौँ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधि छानिएकी थिइन् ।
विसं २०३७ मा तत्कालीन नेकपा (माले) को सदस्यता प्राप्त गरी विसं २०३६ देखि विसं २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य भई काम गरेकी उनले उनले विसं २०३९ देखि २०४० सम्म महेन्द्र मोरङ क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित भई विद्यार्थी फाँटमा काम गरिन् ।
विसं २०४६ मा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङको तर्फबाट प्रतिनिधि भएकी उनले विसं २०५० देखि विसं २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को महिला विभाग प्रमुखको जिम्मेवारी सम्हालिन् ।
विसं २०५४ मा नेपालगञ्जमा भएको एमालेको छैठौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य भएकी भण्डारी विसं २०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित भएर दुई कार्यकाल नेतृत्व गरिन् ।
विसं २०५९ मा जनकपुरमा भएको एमालेको सातौँ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य र विसं २०६४ मा बुटवलमा भएको आठौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भण्डारी विसं २०७१ मा काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट पनि पुनःउपाध्यक्ष भएकी थिइन् । एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी विसं २०६७ देखि २०६९ सम्म रक्षामन्त्री भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्