जहाज निर्माता कम्पनीले पनि अनुसन्धान गर्ने «

जहाज निर्माता कम्पनीले पनि अनुसन्धान गर्ने

क्यानेडियन कम्पनी बम्बार्डियरले नेपालमा सोमबार भएको यूएस–बंगला एयरको जहाज दुर्घटनाको अनुसन्धान गर्ने भएको छ । बम्बार्डियरले निर्माण गरेको जहाज नेपालसहित पछिल्लो दुई दिनमा दुईपटक दुर्घटनामा परेपछि कम्पनीले नै अध्ययन अनुसन्धान गर्ने भएको हो । यस्तै, बंगलादेशका नागरिक उड्डयनमन्त्रीले पनि जहाज दुर्घटनाको जाँचबुझमा सघाउने बचन दिएका छन् ।
आइतबार इरानमा दुर्घटना भएको २४ घन्टा नबित्दै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सोही कम्पनीबाट उत्पादित जहाज दुर्घटनामा परेपछि अन्तर्राष्ट्रिय जगतमै गम्भीर चासो उत्पन्न भएको छ । गत आइतबार इरानमा टर्किस बिजनेसम्यानको परिवार सवार रहेको निजी जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । यस्तै, काठमाडौंमा सोमबार भएको दुर्घटनामा परेर हालसम्म ५१ जनाको मृत्यु भएको छ ।
सोमबार बंगलादेशको ढाकाबाट काठमाडौंको लागि उडान गरेको यूएस–बंगला उडान नम्बर यूबीजी–२११ नम्बरको जहाज दुर्घटना भएको हो । दुर्घटनामा परी चालक दलका ४ सदस्यसहित ५१ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । जसमध्ये २८ बंगालादेशी तथा २२ नेपाली र १ चिनियाँको मृत्यु भएको छ ।
बम्बार्डिएर ड्यास ८–४०० सिरिजको ७८ सिट क्षमताको उक्त जहाज ७१ यात्रु लिएर काठमाडौं आउँदै थियो । एयर क्याडडाले पनि हाल क्यू–४०० सिरिजका ४४ वटा जहाजमार्फत उडान भर्दै आएको छ । बम्बार्डियर कम्पनीका प्रवक्ता नाथली सिम्फेन्ग्फेटले नेपालमा भएको दुर्घटनाको अनुसन्धानबाटमात्र जानकारी दिन सकिने उल्लेख उक्त क्षेत्रमा छिट्टै उच्च अनुसन्धानकर्ता पठाउने जानकारी दिएका छन् । इरान र नेपालको घटनाको विस्तृत अध्ययन गरेर सार्वजनिक गर्ने समेत बताएका छन् । उनले क्यू–४०० सिरिजकै २९ थान जहाज तत्काल डेलिभरी हुन लागेको समेत प्रवक्ता सिम्फेन्ग्फेटले जानकारी दिएका छन् । उनका अनुसार विश्वभर उक्त सिरिजका ५ सय जहाज सञ्चालनमा रहेको लाखौं यात्रुले सेवा पाइरहेको समेत बताए ।
बंगलादेशका मन्त्रीसहितको टोली नेपालमा
आफ्नो देशको जहाज दुर्घटनामा परेपछि घाइतेको अवस्था बुझ्न बंगलादेशका मन्त्रीसहित सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ । बंगलादेशका नागरिक उड्डयनमन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो ।
नेपाली टोली र उनीहरूबीच दुर्घटनाको छानविन गर्ने विषयमा छलफल भएको र बंगलादेशका प्रतिनिधिमन्डलको टोलीले अनुसन्धानमा सहयोग गर्ने बचन दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिए । “जहाजको रजिष्ट्रेसन तथा सम्पूर्ण नियगमनको जिम्मा बंगलादेशको भएकोले दुवै पक्षले संयुक्त रुपमा अनुसन्धान गर्नेछौं,” गौतमले भने ।

प्रतिक्रिया दिनुहोस्