Logo

गोरखा अस्पतालमा आईसीयू सेवा सुरु हुने

गोरखा- कोरोना संक्रमणको उपचारका लागि गोरखा अस्पतालमा आईसियू कक्ष स्थापनाको प्रक्रिया शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेन्टिलेटर र अन्य आवश्यक उपकरण सहितको दुई वटा आइसियू बेड र ५ वटा आइसोलेसन कक्ष निर्माणका लागि वजेट छुट्याएको थियो ।
प्रदेशको सामाजिक विकास मन्त्रालय हुँदै अस्पताल ब्यवस्थापन समितिको खातामा वजेट आइपुगेको निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर नविन थापाले जानकारी दिए । गोरखा अस्पतालमा भेन्टिलेटर खरिद, आइसियू कक्ष निर्माण लगायत कामका लागि १ करोड रुपैया वजेट पठाइएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाले जनाएको छ । सातवटै प्रदेशमा दुई दुई बेडको अत्याधुनिक उपचार कक्ष निर्माण गर्ने क्रममा गण्डकी प्रदेशमा गोरखा र वागलुङ छनौटमा परेको हो ।
आइसियूमा कोरोनाका कारण सिकिस्त भएका बिरामीको पनि उपचार हुने अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट थापाले बताए । यसैविच गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण वस्नेतले आइसियू निर्माणको प्रक्रिया तत्कालै शुरु गर्न निर्देशन दिएका छन् ।
अस्पताल विकास समिति सहित जिल्ला अस्पतालका कर्मचारी, जिल्लास्थित सुरक्षा निकाय लगायत सरोकारवालाहरुको उपस्थितिमा शुक्रबार भएको छलफलमा बोल्दै उनले छोटो प्रक्रिया अपनाएर आईसियू कक्ष स्थापनाको काम शुरु गर्न आग्रह गरे । सार्वजनिक खरिद ऐनमा भएको प्रक्रिया पूरा गर्दा चालु आर्थिक वर्षभित्र पनि काम नसकिने भएकाले छोटो तर पारदर्शी प्रक्रिया अपनाएर आईसियू कक्ष स्थापनाको काम अघि बढाउन उनको आग्रह छ ।

 

प्रतिक्रिया दिनुहोस्