कोभिड–१९ को विश्व अर्थव्यवस्थामा प्रभाव «

कोभिड–१९ को विश्व अर्थव्यवस्थामा प्रभाव

तत्काल कुनै समाजवादिता वा सामूहिकतामा आधारित विश्व व्यवस्थाको परिकल्पना गर्नु मिठो सपना मात्र हो ।

अलिकति सैद्धान्तिक कुरा गरौं । सिद्धान्ततः अहिलेको विश्व नवउदारवादी संरचनामा कोभिड १९ भाइरस यसले परिवर्तन ल्याउने अनेकौं आकलन भइरहँदा राजनीतिक अर्थशास्त्रीय दृष्टिले यसलाई विश्लेषण गरेर हेर्नुपर्ने हुन्छ । यो भाइरस जैविक हतियार पो हो कि वा यो चीनबाट सुरु भएको हुनाले र अहिले अमेरिकामा धेरै असर परेकाले पुँजीवाद संकटमा परेको हो कि भनेर आँकलन हुँदा विरोधाभाषपूर्ण धारणाहरू पनि छलफलमा आउनु स्वाभाविक नै हो ।
यो संकटले ल्याएका नयाँ प्रवृत्तिले के कुरा र कुन विचारधारालाई मदत गर्छ भन्ने पनि विश्लेषण गरेर हेरेर मात्र वस्तुनिष्ठ धारणा बनाउन सकिन्छ । विश्व राजनीतिक अर्थव्यवस्थामा ऐतिहासिक समयदेखि दुई विपरीत विचारधारा बीच संघर्ष जारी छः व्यक्तिवादिता र सामूहिकता । जीवन, राजनीति र अध्यात्मसंग सम्बन्धित पूर्वीय र पश्चिमी मतहरूमा पनि व्यक्तिवादिता विरूद्ध सामूहिकताको द्वन्द्व विभिन्न आयाममा देख्न सकिन्छ ।
जस्तो कि पूर्वीय दर्शनले राज्य संचालन र कर्म गर्दा उदात्त भावनाले सर्वजन हितायको सामूहिक भावनाले काम गर्न प्रेरित गरे पनि जीवनको रहस्य बुझेर मोक्ष प्राप्त गर्न आत्म चिन्तन गर्दै सबै त्याग गर्न र अन्तिममा आत्म एवं प्राप्त ज्ञान समेतलाई त्याग गरी परमब्रह्ममा लीन हुन व्यक्तिवादी बाटो देखाउँछ । तर, पश्चिममाहरूको पुँजी विषयक दर्शन विशेष गरी एडम स्मिथले प्रतिपादन गरेको भनेको त्याग होइन व्यक्तिवादी ढंगले प्रतिस्पर्धा गरी संग्रह गर्ने नै धनी हुने र बजारमा उसैको एकाधिकार हुने र बजारले नै मूल्य तय गर्ने बजार अर्थशास्त्रको सिद्धान्त हो । निजीलाई नै यसले प्रश्रय दिने हो ।
एडम स्मिथ प्रवद्र्धित बजारिया औद्योगिक पुँजीवाद र यसबाट देखिएका विकृतिलाई आधार बनाएर विश्लेषण गरी उपलब्ध श्रोतको समुचित वितरण गर्न र श्रमिक वर्गको उत्थान गर्न श्रमिकले श्रमको उचित मूल्य पाउनुपर्ने भनी एकजुट भई पुँजीपति विरुद्ध कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्ति गर्न सुझाव दिएका माक्र्सको विचार सामूहिकतामा आधारित विचार हो । तर उनका विचारमा पनि केही विरोधाभास मौजुद छन् । जस्तो कि श्रमको शोषण विरुद्ध र श्रमको उचित मूल्य प्राप्त गर्न गोलबद्ध भई लडेर साम्यवादतिर अग्रसर हुँदा त्यही श्रमिकले आफ्नो कामको उचित मूल्य अब कम्युनिष्ट सरकारबाट चाहिँ नपाइने र काम गर्दा उत्कृष्टतामा आधारित भई गर्ने र पारिश्रमिक चाहिँ न्यूनतम आवश्यकता बमोजिम मात्र पाइने माक्र्सीय सिफारिस रहेको छ ।
सम्पति व्यक्तिगत राख्न वर्जित हुनाले उत्कृष्ट छ भन्दैमा धेरै कमाउने र व्यक्तिगत रूपमा व्यक्तित्व विकासको अवसर कम्युनिष्ट शासनमा हुँदैन । यो चेतनशील व्यक्तिलाई सह्य हुँदैन । उदाहरणका लागि अहिले चिकित्सकहरूले उपचार गर्न सकेसम्म जानेजति र बाँचेसम्म काम गर्नुपर्ने र त्यसो भन्दैमा विशेष पारिश्रमिक होइन कि खाना, छाना र नानाका लागि चाहिने पारिश्रमिक मात्र चिकित्सकलाई दिने भन्ने खाँटी कम्युनिष्ट सैद्धान्तिक नीति हो । त्यसैले चीनमा उपचार गर्दा गर्दै केही डाक्टर मरेका हुन् । फेरि शासकको हकमा देवत्वकरण गर्ने र सर्वहाराको अधिनायकत्वको नाममा व्यक्तिवादिता हावी गर्ने कम्युनिष्ट व्यवहार आफैंमा समस्याग्रस्त छ ।
प्रथम विश्वयुद्धपछि गम्भीर आर्थिक मन्दीको चपेटामा परेको युरोपलाई उकास्न किन्सले व्यक्तिवादिता र सामूहिकतालाई सामञ्जस्य गरेर मिश्रित अर्थ व्यवस्थाको सिद्धान्त सिफारिस गरेपनि द्वितीय विश्वयुद्ध पछि हाल एटलान्टिक सन्धिका आधारमा बिजारोपित विचारलाई ब्रिटेन उड्समा आयोजित आर्थिक सम्मेलनबाट पारित गरी स्थापित तीन वटा वैश्विक आर्थिक संगठनले विश्वभरि आर्थिक कानून निर्माण र परिपालना गराइरहेका छन् । ती विश्व बैंक, अन्तर्रा्ष्ट्रिय मुद्रा कोष र विश्व व्यापार संगठन हुन् ।
अब कोरोना महामारीले यो परिवेशमा सन् १९८० पछि अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्गेरेट थ्याचरको मुख्य स्वार्थबाट प्रेरित गरी अघि बढाएको नव उदारवादी विश्वव्यापीकरणलाई कसरी प्रभाव पर्ला भनेर हेरौं । हालको विश्व संरचनामा पुँजीवादी वा सामूहिकतामा आधारित विचारधारा जे भनेपनि विश्व अर्थव्यवस्थाका त्रिमूर्ति संगठन र राष्ट्रसंघबाट बाहिर रहने अवस्था छैन । विश्वव्यापीकरण भनेपनि सारमा अहिलेको अवस्थालाई म विश्व व्यापारीकरण भन्न चाहन्छु । सामान छ, उत्पादन र आइडिया छ भने बेच्ने कमाउने विश्वभरि गाउँ जस्तै गरेर चहार्ने । छैन सामान पनि, सेवा पनि भनेदेखि विश्वभरिका देशलाई आफू बजार बनिदिने नेपाल जस्तै । दाताको मुख ताकेर बस्ने । यही हो अहिलेको कटु यथार्थ ।
यस्तो पृष्ठभूमिमा कोरोनाले संकटले सामूहिकतालाई बढावा दिइरहेको छ कि व्यक्तिवादीतालाई भनेर हेर्नु उपयुक्त हुन्छ । कोरोनाले संकटको घडीमा सामूहिकता र हार्दिकता नभई सामाजिक दूरी कायम गर्नपर्ने भनी व्यक्तिवादितालाई प्रश्रय दिएको पाइन्छ । पीडितलाई आइसोलेटेड बनाउने, मरेको लाश समेत नछुने र मलामी नजाने संस्कृति भनेको पूर्णतस् व्यक्तिपरक व्यवहार हो । रोगको डर देखाएर यसले एक्काइसौं शताब्दीमा नयाँ भेदभाव र छिछि दूरदूरको अवस्थामा उत्प्रेरित गरी रहेको छ ।
मानिसका मौलिक हक मानी आएको आवागमन लगायतका स्वतन्त्रता कटौती गरी सार्वभौम नागरिकलाई आफ्नो देश प्रवेशमा नै रोक लगाउन थालिएको छ । रोग बाट बच्न लुकेर बस्नेमात्र उपाय सुझाउनुका पछाडि पूर्वीय संस्कृतिमा बचेखुचेको सामाजिक सद्भाव अन्त्य गरी समाजमा एकलकाँटेपन थोपरेर क्रमशः मानिसको सिर्जनात्मकता, प्रेम, जात्रा, चाडबाट जस्तो चीजबाट विरक्त बनाइँदैछ । यसरी लकडाउन गरिराख्ने हो भने सांस्कृतिक मान्यताहरू क्रमशः हराउँदैन जाने र आम मानिसहरू ल्याब सेटिङमा बस्नुपर्ने अवस्था सिर्जना गरिएको छ ।
सबैभन्दा ठूलो कुरा यसरी लुकेर बाँच्न धेरैभन्दा धेरै धन सम्पत्ति सञ्चय हुने मात्र बाँच्न सकिन्छ भनेर यो महामारीले श्रम गर्न र कमाएर खान होइन कि जसरी पनि अकूत सम्पत्ति जोड्न समेत नजानिंदो गरी उत्प्रेरित गरेको छ । गरीब लाई मात्र लाग्ने भोकमरी जस्तो समस्या र रोगको चर्चा नै नहुने गरी प्रोपागान्डा भइरहेको छ । दातामा परनिर्भर तुल्याइएका कृषि उत्पादनका लागि पूर्वाधारविहिन नेपाल जस्तो देशमा धेरै लामो समय थप गरीबीले डेरा जमाउने निश्चित प्राय भएको छ । यस्तो स्थितिमा जनचाहना पूरा नहुने भएकाले थप राजनीतिक जटिलता र नैराश्य प्रेरित हिंसा भड्किने टड्कारो सम्भावना देखिन्छ । प्रत्यक्ष व्यापारलाई अब पूर्ण स्वचालित र डिजिटाइज गर्न उत्प्रेरित गरेको छ यो महामारीले । र यो सब उत्प्रेरणाको प्रत्यक्ष लाभ भनेको वर्तमान नवउदारवादी अर्थ व्यवस्थालाई नै हुनेतर्फ लक्षित देखिन्छ । अहिले पूरै विश्वमा आर्थिक कारोबार ठप्प हुँदा डिजिटल प्लेटफर्महरू मालामाल भइरहनु नै यसको प्रत्यक्ष प्रमाण हो ।
विश्वमा एकाएक सबै आर्थिक गतिविधि रोक्दा आउने वर्षमा २ करोड ५० लाख मानिसले रोजगारी गुमाउने अन्तर्राष्ट्रिय श्रम संगठनको प्रक्षेपण छ भने वैदेशिक लगानीको आप्रवाहमा विश्वमै चालीस प्रतिशतले कमी आउने भन्ने अङ्टाड को प्रक्षेपण रहेको छ । यसबाट अब विश्वमा अहिले जस्तो पढाइ र रोजगारीका लागि आगामी दिनमा बसाइसराइमा तीव्रता नहुने, डिजिटल प्रविधिमा कम्पनीहरूको जोडले गर्दा प्रत्यक्ष रोजगारीमा कमी आउने नै देखिन्छ । यसले बहुराष्ट्रिय कम्पनीहरूको जनशक्तिको लागत घटेर प्रविधियुक्त र धनी देशलाई फाइदा नै पुग्ने देखिन्छ ।
विश्वभरि आर्थिक गतिविधि रोकिने वा मन्द हुने स्थितिमा जो धनी उही धनी र जो एक नम्बरमा छ उही रहिरहने स्थिति स्वाभाविक रूपमा हुन्छ । अतः विश्वभरि लगानीकर्ताले अहिले अमेरिकालाई नै सबल अर्थतन्त्रका रूपमा विश्वास गरिरहेको हुनाले अमेरिकी डलरको स्थिति मजबुत हुँदै गइरहेको छ । यसबाट अमेरिकी अर्थतन्त्रलाई सस्तो दरमा प्राकृतिक कच्चा तेल र सुन सञ्चय गर्ने अवसर जुटेको छ । विश्व नै ठप्प पारेर वातावरण प्रदूषणमा कमी आउनु सकारात्मक भनेर चर्चा चलाइनु र अतिशयोक्ति गरिनु पनि धनीहरूलाई सफा सुग्घर स्वच्छ वातावरणका लागि गरीब र हुँदा खानेहरू कलकारखानामा काम गर्न वञ्चित हुनुपर्छ भन्ने खालको अतिरन्जना हो । वातावरणबारे यति विघ्न सचेत हुने हो भने विश्वलाई पूर्णत आणविक निशस्त्रीकरण गर्न यो महामारीले किन उत्प्रेरित गर्न सकेको छैन? यसबारे पनि गम्भीर भएर सोच्नु आवश्यक छ ।
अतः कोरोना महामारीको समस्या सिजनल फ्लुकै रूपमा सदाबहार रहने समेत चेतावनी समेत आइरहँदा म भगवानसँग प्रार्थना मात्र गर्न सक्छु कि यो महामारी लामो अनुसन्धानपछि र एउटा श्रृंखलाबद्ध डिजाइनमा विश्व वैश्यीकरणलाई थप निर्मम र धारिलो तुल्याउने दाउमा सिर्जना वा उत्पादन गरिएको नहोस् । तर सबै प्रवृत्ति हेर्दा विश्वलाई थप क्रुर उत्तर नवउदारवादी व्यवस्थातिर नै यो कोभिड–१९ ले धकेल्ने पो देखिन्छ । अतः तत्काल कुनै समाजवादिता वा सामूहिकतामा आधारित विश्व व्यवस्थाको परिकल्पना गर्नु मिठो सपना मात्र हो ।

अमृत खरेल

प्रतिक्रिया दिनुहोस्