आर्थिक समृद्धिका लागि प्रदेशहरूबीच प्रतिस्पर्धा आवश्यक : विनोद चौधरी

उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आर्थिक समृद्धिका लागि प्रदेशहरूका बीचमा सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । आर्थिक एवं सामाजिक विकासका लागि मुलुकमा संघीय संरचना कार्यान्वयन गरिएको बताउँदै उनले प्रदेश सरकारहरूले यही सोचका साथ काम सुरु गर्न आग्रह गरेका छन् । “भारतमा जब एक अर्का राज्यबीच लगानी आकर्षित गर्ने प्रतिस्पर्धा चल्यो ती राज्यहरूको मात्रै होइन, समग्र भारतकै आर्थिक वृद्धिदर उच्च हुन पुग्यो,” चौधरी समूहका अध्यक्ष चौधरीले भने, “हाम्रा मुख्यमन्त्रीहरूले पनि आफ्नो प्रदेशलाई लगानीकर्ताहरूका लागि सबैभन्दा आकर्षक गन्तव्य बनाउने प्रतिस्पर्धा गर्नेछन् र यसबाट देशकै अर्थतन्त्रमा नया“ उत्साह आउने विश्वास मैले लिएको छु ।”
सोमबार रौतहटको चन्द्रपुर महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले राजनीतिक एजेण्डाहरू व्यवस्थापन भएको भन्दै अब प्रदेश सरकारहरूले प्रान्तिय संरचना वा कानुनी पक्षहरूका बारेमा अलमल नगरी विकासका एजेन्डालाई पहिलो प्राथमिकताका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।
प्रदेश नम्बर २ आर्थिक एवं सामाजिक विकासका दृष्टिले अहिले पछाडि रहेको तथ्य प्रस्तुत गर्दै उनले यस प्रदेशलाई देशकै सबैभन्दा विकसित प्रदेशमा रूपान्तरण गर्न सकिने प्रयाप्त आधार रहेकोमा उनले जोड दिए । काठमाडौं–तराई फास्ट ट्र्याक, वीरगन्ज–सिमरा औद्योगिक करिडोर र निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलजस्ता पूर्वाधारहरू प्रदेश २ मा छन् । व्यापार तथा वाणिज्य, औद्योगिक क्षेत्र, कृषि र पर्यटनमार्फत यस नेपालको सबैभन्दा सम्पन्न प्रदेश बनाउन सकिने उनको भनाइ थियो । तर, हिजोका दिनमा जस्तै व्यवस्थापकीय कमजोरीहरू भने अब दोहो¥याउनु नहुने उनले बताएका छन् ।