पोखरा महानगरको राहत कोषमा साढे ३ करोड संकलन

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा साढे ३ करोड रुपैयाँभन्दा बढी संकलन भएको छ । महानगरसहित अन्य विभिन्न संघ, संस्था, व्यक्तिले अहिलेसम्म महानगरले स्थापना गरेको उक्त कोषमा ३ करोड ६४ लाख ७१ हजार ६१ रुपैयाँ संकलन भएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए ।
महानगरले २ करोड, महानगरका कर्मचारीबाट ४८ लाख ५० हजार जम्मा गरी राहत कोष स्थापना गरिएको हो भने उक्त कोषमा गण्डकी प्रदेश सरकारले १ करोड सहयोग गरेको छ । अन्य संघसंस्थाबाट १६ लाख ७१ हजार ६१ रुपैयाँ सहयोग प्राप्त भएको महानगरले जनाएको छ । महानगरमा करिब २ हजार ५ सय कर्मचारी रहेका छन् भने श्रेणीविहीनको प्रतिव्यत्ति एक हजार अन्यको दुई हजार राहत कोषमा सहयोग गरेका हुन् । लकडाउनका कारण अतिविपन्न र दैनिक ज्यालादारी गर्ने मजदुरलगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले राहत कोषको स्थापना गरेको मेयर जिसीले जनाए ।
महानगरको राहतकोषमा सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार, कमल बचत तथा ऋण सहकारी संस्थाबाट पोखरा ९ बाट २५ हजार, हाम्रो सहयोगी बचत तथा ऋण सहकराी संस्थाले २२ हजार , संयुक्त बचत तथा ऋण सहकारीले १५ हजार, रानीवन साकोसले १५ हजार १ सय १५, दपर्ण साकोस १५ हजार, बाघमारा बहुउद्देश्यीय (साकोस) सहकारीले ११ हजार १ सय ११, समय बचत तथा ऋण सहकारी संस्थाले पोखरा ९ ले १० हजार सहयोग गरेको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए ।
यसैगरी सफल बचत तथा ऋण सहकारी पोखरा–७ बाट ११ हजार १ सय ११, स्वर्ण श्री साकोस १० हजार, आँगन बहुउद्देश्यीय सहकारीले १० हजार १ सय, नयन बचत तथा ऋण सहकारी संस्था १० हजार, शान्तिपथ गोरखा लाइन टोल अमरसिंहचोकका अध्यक्ष मेजर हितमान गुरुङ १० हजार, परेली साकोसले ५ हजार ५ सय सहयोग गरेको अधिकारीले बताए ।
बागलुङ नगरपालिका कुँडुले पुख्र्यौली भएका र हाल पोखरा महानगरपालिका वडा नम्बर १४ नागमणि टोल बस्ने नारायणप्रसाद सापकोटा महानगरको राहत कोषमा २२ हजार सहयोग गरेका छन् । सापकोटाले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधव बराललाई २२ हजारको चेक हस्तान्तरण गरेका हुन् ।
महानगरले ३३ वटै वडाबाट लाभग्राही छनोट गरी वडा कार्यालयमार्फत राहत वितरण कार्य पनि गरिरहेको छ । पोखरा महानगरपालिकाले विषम परिस्थतिमा महानगरले थालेको अभियानमा सहयोग गर्न सबैमा आह्वानसमेत गरेको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ । यसैबीच पोखरा महानगरले पोखराका केही वडामा किटनाषक औषधि स्प्रे गरेको छ । पोखरा २२ पुम्दीभुम्दी क्षेत्रमा बुधबार गाडीमार्फत स्प्रे छर्किएको पत्रकार त्रिभुवन पौडेलले जनाए ।