बैतडीमा घर, डडेल्धुरामा कर «

बैतडीमा घर, डडेल्धुरामा कर

बैतडीको तल्लोस्वराड क्षेत्रमा पर्ने मेलौली नगरपालिकाका नागरिक घर जग्गाको कर तिर्न डडेल्धुरा जान बाध्य छन् । मेलौली नगरपालिका–८ का ४ सयभन्दा बढी घरपरिवार आफ्नो घर, जग्गा तथा सम्पत्तिको कर डडेल्धुरामा पुगेर तिर्दै आएका छन् । ०३२ सालभन्दा अगाडि उक्त क्षेत्र डडेल्धुरामा राखिएकाले राजस्व बुझाउन सोही जिल्लामा जानुपरेको मेलौली नगरपालिका–८ का वडा सदस्य प्रेमसिंह विष्टले बताए ।
पछि सिमांकन गर्दा सूर्नया नदीलाई सीमाना बनाएर मेलौलीको विशालपुर क्षेत्र बैतडीमा गाभिएपछि जग्गाको नापी नहुँदा कर डडेल्धुराको भागेश्वर गाउँपालिकामा तिर्न जानुपर्ने बाध्यता छ । उनले भने, “डडेल्धुरामा राजस्व बुझाउँदै आए पनि त्यहाँबाट सेवा सुविधा भने पाएका छैनौं ।”
मेलौली–८ का बासिन्दालाई घरजग्गा कारोबार, कित्ताकाटदेखि जग्गा पास गर्नसमेत डडेल्धुरा नै पुग्नुपर्ने बाध्यता छ । फरक भू–भाग भएकै कारण बैतडी र डडेल्धुराको सीमानामा विद्युत् भए पनि बैतडीका बासिन्दाले विद्युत्को उपभोग गर्न नपाएको स्थानीय तपेन्द्र बिष्टले बताए । स्थानीयबासिन्दाले बैतडी क्षेत्र ‘ख’ का प्रदेश सांसद लिलाधर भट्टलाई आफूहरुका समस्याबारे जानकारीसमेत गराएका छन् ।
“विशालपुरका बासिन्दाको समस्या थाहा हुने बितिक्कै नापी विभाग तथा जिल्ला नापी कार्यालयमा खबर गरेको र प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालहरुसँग छलफल गरेको छु,” सांसद भट्टले भने, “समस्या समाधानका लागी पहल थालेकाले छिट्टै समाधान हुन्छ ।”
जिल्ला नापी कार्यालय बैतडीका प्रमुख नरबहादुर चन्दले यो विषयमा पहिलो पटक खबर आएकाले समाधानका लागि पहल गर्ने बताए । स्थानीय तह सिमांकनले पनि यहाँका धेरै नागरिकलाई तीन–तीन वटा नगरपालिकाको हकदार बनाएको छ । बैतडीको दशरथचन्द नगरपालिका–७ मा घर भएका राजेन्द्र बडुको खेत पाटन नगरपालिकामा छ भने खरबारी मेलौली नगरपालिकामा परेको छ ।

नरी बडु

प्रतिक्रिया दिनुहोस्