पुनर्निर्माणको पहिलो किस्ता लिने समय थपिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितहरुका लागि पहिलो किस्ता लिने समय थप गर्ने भएको छ । प्राधिकरणले चैत मसान्तलाई अन्तिम पहिलो किस्ता लिने समयसिमा तोकेपनि कोरोनाको महामारी फैलन सक्ने भन्दै लगाइएको लकडाउनका कारण समय थप गर्ने भएको हो । गत फागुनमा प्राधिकरणले पहिलो किस्ता लिने अन्तिम समय चैत मसान्त, दोस्रो लिने असार मसान्त र तेस्रो किस्ता लिने समय आगामी मंसिर मसान्तसम्म तोकेको थियो ।
लक डाउनको अवधि सकिएपछि पहिलो किस्ता लिने समयअवधि थपिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । “कोरोना महामारीले निजी आवास पुनर्निर्माण प्रभावित भएको छ, चैत मसान्तभित्र पहिलो किस्ता लिईसक्नुपर्ने व्यवस्था गरिएको थियो” उनले भने, “लक डाउन सकिएपछि निश्चित अन्तिम किस्ता लिने समय अवधि थप्छौं ।” ज्ञवालीका अनुसार, दोस्रो किस्ता असार मसान्तसम्म र तेस्रो किस्ता लिने समय मंसिरसम्म पु¥याउने प्राधिकरणको तयारी छ ।
कोरोना महामारीका कारण निजी आवाससँगै सरकारी भवन, पुरातात्विक क्षेत्रका संरचनालगायत सम्पूर्णको पुनर्निर्माण प्रभावित भएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको पदावधि प्राधिकरणकै समय थपिने अवस्थासमेत सिर्जना भएको छ । भूकम्पपछिको पुनर्निर्माणका सबै काम सम्पन्न गर्नका लागि पाँच वर्षको अवधि तोकेर प्राधिकरण गठन गरिएको थियो ।
भूकम्पपछिको पुनर्निर्माण तथा पुर्नस्थापना सम्बन्धी ऐनमा प्राधिकरणको समावधि एक वर्षसम्म थप गर्न सकिने उल्लेख छ । कोरोनाको कारणले पुनर्निर्माणमा असर परेपछि यसको कारण प्राधिकरणको म्याद थपबारे समेत छलफल सुरु भएको छ ।
कोरोना महामारीको कारण पुनर्निर्माणको काम हाल रोकिएको छ भने लक डाउन लगत्तै सुरु गर्ने लक्ष्य राखिएको छ । प्राधिकरणका अनुसार, १२ बैशाख २०७२ मा गएको भूकम्पबाट प्रभावित १० लाख ३६ हजार ५ सय ६२ घरधुरीको सर्वेक्षण गरेकोमा प्रभावितको सूचीमा ८ लाख २७ हजार ६ सय ५७ तथा प्रबलीकरण सूचीमा ७५ हजार ४ सय ४५ जना परेका छन् ।
हालसम्म ७ लाख ८१ हजार १ सय ७६ जनाले अनुदान सम्झौता गरेकोमा पहिला किस्ता ७ लाख ७६ हजार ९ सय ५३ ले लिएका छन् । पहिला किस्ता लिन बाँकी संख्या मात्र करिब ५० हजार छ । त्यसगरी दोस्रो किस्ता लिनेको संख्या ६ लाख ४१ हजार ९ सय ९४ जना छन् भने तेस्रो किस्ता लिनेको संख्या ५ लाख ५० हजार ५ सय ३२ जनाले लिएका छन् । प्राधिकरणको तथ्यांकअनुसार, पुनर्निर्माण सम्पन्न निजी घरको संख्या ४ लाख ९४ हजार ४४ छ ।