Logo

३० अर्बको विकास ऋणपत्र निष्कासन आज

नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक परेपछि ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारलाई पैसा आवश्यक भएपछि विकास ऋणपत्रमार्फत पैसा संकलन गर्न लागेको छ । राष्ट्र बैंक केही दिनअघि मात्र बैंक तथा वित्तीय संस्थाको नगद सञ्चिति अनुपात र वैधानिक तरलता अनुपालाई एक प्रतिशतका दरले घटएको थियो । केन्द्रीय बैंकले घटाएको यो दरले सरकारले अन्तरिक ऋण धेरै उठाउन सक्ने बैंकहरुले बताउँदै आएका थिए । सोही अनुसार सरकारले विकास ऋणपत्र तथा टे«जरी विल मार्फत बैंकिङ प्रणालीमा अधिक भएको पैसा उठाउन खोजेको हो ।
राष्ट्र बैंकले चैत २७ गते बिहीबार ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८१ ‘घ’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । यो विकास ऋणपत्र ५ वर्षे अवधिको हुनेछ । चैत २८ गते शुक्रबार जारी मिति तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि २०८१ चैत २८ गते हुनेछ । लकडाउनका कारण अहिले बैंक तथा वित्तीय संस्थामा अनिवार्य तरलता अनुपातबाहेक ९० अर्ब रुपैयाँ भन्दा धेरै अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सर्वसाधारण लगानीकर्ताबाट भने विगतमा विकास ऋणपत्र खरीदमा खासै चासो देखाएको देखिँदैन ।
इच्छुकले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन् । यदि राष्ट्र बैंकमा खाता नरहेको बोलबालाहरुले ऋणपत्र खरिद गर्न चाहेमा खरिद गर्ने रकमको २.५० प्रतिशतले अर्नेष्ट मनि वापतको रकम बैंकको खातामा जम्मा गरी प्राप्त भौचर बुझाउनुपर्ने हुन्छ ।
प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलवालालार्ई निष्काशित रकमको २५ अर्ब ५० करोड (८५ प्रतिशत) र ४ अर्ब ५० करोड (१५ प्रतिशत) छुट्याइएको केन्द्रीय बैंकले जनाएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइन्छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमार्फत हुनेछ ।
निश्चित ब्याजदर दिई सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटक पटक प्रयोग गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्