गिट्टी कुटेर जीविकोपार्जन

बाँगी खोलामा गिट्टी कुटेर जीविका चलाउने महिलाहरू धेरै छन् । उनीहरू बिहान उज्यालो भएपछि बेलुका अँध्यारो नहुँदासम्म गिट्टी कुट्नमै व्यस्त रहन्छन् ।
दिउँसोको टन्टलापुर घाम । पसिना बगाउँदै गिट्टी कुट्न व्यस्त महिलाहरू । गिट्टी कुटेर जीविका चलाउँदै आएकी सन्धिखर्क नगरपालिका–१० अर्घाकी पुतला नेपाली भन्छिन्, “धेरै चुनाव आए गए, नेताहरू माथि माथि गए, तर श्रमिकहरूलाई कसैले ध्यान दिएनन् । बिहान ७ बजे गिट्टी कुट्न आउँछु, घर पुग्दा राति हुन्छ, मासिक २५ सयभन्दा बढी कमाउन सकिंदैन । सधैंभरि मजदुरी गरेर यसरी कहाँ जीविका चलाउन सकिएला र !” श्रमिक महिलाहरू स्थानीय सरकारले गिट्टी कुट्नेको ज्यालामा ध्यान दिनुपर्ने बताउँछन् ।
“२० देखि २५ दिन लाग्छ, एक ट्याक्टर गिट्टी कुट्न, जम्मा २५ सय आम्दानी हुन्छ, कसरी घरपरिवार पालेर बस्नु ?” अर्घाकी नै विष्णु नेपालीले भनिन् – “१० जनाको परिवार छ, आम्दानी निकै कम हुन्छ, महिलाले गिट्टी कुट्दा निकै आपत् हुन्छ ।”
दिनभर गिट्टी कुट्दा हात फुटेर छिया छिया भएको विष्णु नेपाली बताउँछिन् । उनको ११ जनाको परिवार छ । उनी भन्छिन्, “गिट्टी कुटेर धेरै आम्दानी हुँदैन, खानाको जोहो गर्ने कि छोराछोरी पढाउने ?”
बाँगी खोलामा जिल्ला र जिल्ला बाहिरका मजदुरी गर्ने महिलाहरू धेरै छन् । यहाँ मजदुरी गर्नेहरू अधिकांश दलित र जनजाति छन् । आर्थिक हिसाबले निकै विपन्न भएकाले यहाँ मजदुरी गरेर जीविकोपार्जन गर्नु परेको उनीहरू बताउँछन् । दैनिक गिट्टी कुटेर जीवन चलाएका महिलाहरूलाई स्थानीय तहले कृषि तथा पशुपालनका कार्यक्रममा प्रेरित गर्नुपर्ने स्थानीयको भनाइ छ ।
–घनश्याम पौडेल