लामाचौर गोस्तेघाटमा फुटबल मैदान «

लामाचौर गोस्तेघाटमा फुटबल मैदान

पोखराको लामाचौरस्थित गोस्तेघाटमा फुटबल मैदान निर्माण भएको छ । ६८ रोपनी क्षेत्रफलमा खेलकुद मन्त्रालय, संसद विकास कोष, पोखरा लेखनाथ महानगरपालिकालगायतका विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा फुटबल मैदान हालै निर्माण भएको लामाचौर खेल मैदान निर्माण समिति गोस्तेघाटका अध्यक्ष सुरेन्द्रमान सिंह भण्डारीले बताए ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार १ सय ५ मिटर लम्बाइ र ६५ मिटर चौडाइको फुटबल मैदान निर्माण गरिएको अध्यक्ष भण्डारीले जनाए । फुटबल मैदान निर्माण भएसंगै पोखरामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता संचालन गर्न सहज हुने अध्यक्ष भण्डारीले बताए । उनले भने, “यो मैदान निर्माण भएसंगै लामाचौरवासी मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको लागि यो मैदान उपयोगी हुन सक्छ ।”
सेती नदीको किनारामा रहेको उक्त क्षेत्रमा तटबन्ध गर्न ७ करोड बजेट आवश्यक भएको उनले जनाए । सो क्षेत्रमा तटबन्ध गर्नको लागि जलउत्पन्न प्रकोप मन्त्रालयसमक्ष माग गरिएको अध्यक्ष भण्डारीले जनाए । उक्त मन्त्रालयबाट हालसम्म ग्याबिङ (जालीमा ढुंगा) भर्न करिब ५० लाख बराबरको काम भएको उनले जनाए । मैदान निर्माणका लागि खेलकुद मन्त्रालयबाट करिब ८० लाख, सांसद कुमार खड्का, पूर्वसांसद शारदा पौडेल र चुडामणि जंगलीले सांसद विकास कोषबाट जनही ५÷५ लाखका दरले १५ लाख, पोखरा लेखनाथ महानगरपालिकाबाट १० लाख प्राप्त भएको समितिले जनाएको छ । त्यसै गरी साविक लामाचौर गाविसबाट ५० हजार, जय मनकामना सहकारीबाट २५ हजार लगायतका संघसंस्थाबाट प्राप्त भएको र बाँकी रकम स्थानीय स्रोतबाट व्यवस्था गरिएको हो ।
डेढ करोडको लागतमा फुटबल मैदान निर्माण गरिएको उनले जनाए । मैदान निर्माण भएसंगै केही फिनिसिङसहित प्याराफिट निर्माणका लागि ठुलो बजेट आवश्यक भएको समितिका सचिव बुद्धिबहादुर खत्रीले बताए । फुटबल प्याराफिट निर्माणको लागि २८ करोड रुपैयाँ बजेट राष्ट्«िय खेलकुद परिषद्मा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्