रोशीमा घरघरमा चिकित्सकु कार्यक्रम «

रोशीमा घरघरमा चिकित्सकु कार्यक्रम

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले जेष्ठ नागरिकहरुको स्वास्थ्यप्रतिको हितलाई ध्यानमा राख्दै घरघरमा डाक्टर कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले घर–घरमा नै पुगेर निशुल्क स्वास्थ्य परीक्षण तथा औषधिउपचार खर्च वितरण गरेको छ ।
आइतबार गाउँपालिकाको वडा–१२ स्थित भीमखोरीको केराबारीमा अध्यक्ष दलबहादुर लामाले कार्यक्रमको उद्घाटन गरेका छन् भने वडा नं. १ स्थित खहरेपाँगुबाट उपाध्यक्ष लक्ष्मी बर्तौलाले उद्घाटन गरी स्वास्थ्य परीक्षण तथा औषधिउपचार खर्च वितरण अभियान सुरु गरेका हुन् । गाउँपालिकाले उल्लेख गरेको नीति तथा कार्यक्रमअन्तर्गत दूरदराजमा रहेका जेष्ठ नागरिकहरुले स्वास्थ्य उपचार नपाएर ब्यहोर्नु परेको समस्यालाई ध्यानमा राखि डाक्टरको टोलीसहित घर–घरमा नै पुगेर स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष दल बहादुर (डिबी) लामाले बताए । ‘गाउँगाउँमा सिंहदरवार’ भन्ने नारालाई जोड दिँदै गाउँपालिकाभित्रका वृद्धवृद्धा स्वस्थ्य भएर बाँचुन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको लामाको भनाइ छ ।
७० वर्षभन्दा माथिका वृद्धवृद्धाहरुलाई लक्षित गरेर गाउँपालिकाले सञ्चालन गरेको जेष्ठ नागरिकहरुको गाउँ गाउँमा पुगेर स्वास्थ्य परीक्षण र औषधि उपचार कार्यक्रम अन्तर्गत रोशी गाउँपालिकाका सबै वृद्धवृद्धाहरुलाई स्वास्थ्य परीक्षण र औषधिउपचार कार्यक्रम सञ्चालन हुनेछ । आइतबारबाट सुरु भएको स्वास्थ्य परीक्षणवाट एकै दिन ८५ जनाले सेवा लिएका छन् । रोशी गाउँपालिकाभित्र दुर्गम भेग पनि पर्ने भएकोले स्वास्थ्य परीक्षणको लागि दुईवडा टोली बनाएर स्वास्थ्य परीक्षण भईरहेको छ । आईतबार एकै समयमा रोशी १ नं वडाबाट डा. डिलबहादुर तामाङको नेतृत्वमा र १२ नं वडाबाट डा. हिमालय बहादुर थापाको नेतृत्वमा रहेको स्वास्थ्य टोली परीक्षणमा खटेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौलाले जानकारी दिइन ।
एउटा वडामा ३ दिनका दरले डाक्टरहरुको टोली मोबाइल टोलीको रुपमा उपचारमा रहने रोशी गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत युवराज आचार्यले जानकारी दिए । गाउँपालिकाले डाक्टरहरुका लागि एक जनाको स्वास्थ्य परीक्षणवापत २५० रुपैयाँ रकम उपलब्ध गराउने जनाएको छ । आचार्यका अनुसार दुईवटै डाक्टरको टोलीले रोशी गाउँपालिकाभित्र ७० वर्षभन्दा माथीका १९ सय वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गर्नेछ । गाउँपालिकाले उनीहरुको परीक्षणसँगै औषधोपचार भनेर छुट्टै २ हजार समेत उपलब्ध गराउनेछ । गाउँपालिकाभरमा रहेको जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण सकिन करिब १५ दिन जति लाग्ने जनाएको छ । यसरी जेष्ठ नागरिकको घर–घरमा नै पुगेर सेवा गरेको जिल्लाका स्थानिय तह मध्ये पहिलो हो ।
उपचारको क्रममा दम, प्रेसर, बाथ लगायतका रोहरु धेरै भेटिएको उपचारमा संलग्न डा. हिमालयबहादुर थापाले जानकारी दिए । उपचार पाएपछि रोशी गाउँपालिका वडा नं १२ केराघारीकी सेती कामी (८३) ले खुशी हुँदै धन्यवाद दिइन् । विभिन्न पटक काभ्रेको बनेपा, धुलिखेल पुगेर उपचार गराउने कामीको टोलमा आईतबार पहिलोपटक स्वास्थ्य परीक्षणसहित उपचार शुल्क २ हजार रुपैयाँ हस्तान्तरण गरेको पहिलो भएको बताईन । “यसरी उपचार भएको थाहा नै छैन् मंगलटार कि बनेपा धुलिखेल पग्नुपथ्र्यो, उमेरको कारण हिड्न पनि नसकिने भइयो अहिले आँगनमानै उपचार पाउँदा अत्यन्तै खुशी भएको छु,” कामीले भनिन्, “पाएको २ हजार पनि स्वास्थ्य उपचारमानै खर्च गर्न लगाउँछु ।”

प्रतिक्रिया दिनुहोस्