रोल्पालाई ऊर्जामन्त्रीको स्वास्थ्य सामग्री सहयोग «

रोल्पालाई ऊर्जामन्त्रीको स्वास्थ्य सामग्री सहयोग

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफ्नो गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग पठाएका छन् ।
सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री मन्त्रीले पठाएका हुन् । रोल्पाका सबै १० वटै पालिकामा ती सामग्री पुग्ने गरी पठाइएका ४० थान पीपीई, ४ हजार थान मास्क र १० थान इन्फ्रारेड थर्मोमिटरलगायत स्वास्थ्य सामग्री छन् । जिल्लामा एक नगरपालिका र ९ गाउँपालिका छन् ।
जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि आफ्नो पहलमा ती सामग्री संकलन गरी पठाएको मन्त्री पुनले जानकारी दिए । पर्याप्त पीपीईको अभावमा महामारीका बेला स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गरिरहेको बेला पीपीईसहित पञ्जा १ हजार थान, आधा लिटरको सेनिटाइजर १३ वटा र मास्क १ हजार थानसमेत रोल्पा पठाइएको उनले जानकारी दिए । ती स्वास्थ्य सामग्री जिल्ला अस्पतालसहित सबै स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्