धुलाम्य सडकले स्वास्थ्यमा नकारात्मक असर «

धुलाम्य सडकले स्वास्थ्यमा नकारात्मक असर

सडक निर्माणको क्रममा धुलोको मात्रा अत्यधिक हुँदा गुल्मीमा प्रदूषणको दर बढेको छ । धुलो व्यवस्थापनको लागि चासो नदिँदा गुल्मीवासीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । हुनत हिउँद महिनामा धुलाम्य सडक नहुने कुरै भएन तर पनि जताततै डोजर चलाइएका कारण यस बर्ष सडकहरू अत्याधिक धुलाम्य भएका छन । विशेषतः रिडी– रुद्रवेणी वामीटक्सार सडकखण्ड निर्माणको क्रममा अहिले सडक निकै धुलाम्य बनेका छन् । यो सडकमात्र होइन सदरमुकाम तम्घासदेखी सीमलटारी सम्मको सडक आयोजना, तम्घास–इन्द्रगौडा सडक आयोजनाको अवस्था पनि उस्तै छ ।
सडक वारपार बनाउन लागीएका नाली तथा भित्ताहरू उठाउने क्रियाकपाल भइरहँदा धुलोको मात्रा बढेको छ । साथै पिच नगरीएसम्म सडक अत्यन्तै धुलो हुने देखिएको छ । जसले गर्दा यात्रुहरू तथा सडक वारीपारी बसोबास गर्ने जनताहरूको जनजीवनमा नकारात्मक असर परिरहेको छ ।
“दिनभर धूलो आएर दिक्क बनाउँछ, यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर भइरहेको छ,” मुसिकोट नगरपालिका ७ वामीका सिटि एक्सप्रेस मनि ट्रान्सफरका मेनेजर बिष्णु चुँदालीले भने, “सडक पक्की गर्न भनेर निर्माण थालिएदेखि झन् धुलोको मात्र ह्वात्त ै बढ्यो ।” विष्णुजस्तै धुलोसँग सम्बन्धित समस्या नभोग्ने मानिसहरू सायदै भेटिएलान् । वर्षातको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकको नियती हो । यस क्षेत्रका बासिन्दाले हिलो र धुलोबाट मुक्ति अझै सकेका छैनन् । धुलोकै कारण विभिन्न रोगहरू पाल्न बाध्य छन् गुल्मीबासी । धुलो छल्न मास्क, मफलर प्रयोग गरे पनि धुलाका मसिना कण हावासँगै फैलिएर फोक्सोसम्म सजिलै पुग्ने चिकित्सकहरू बताउँछन्। साथै धुलोका कारण आँखामा पनि उस्तै समस्या देखिने गरेका छन । ‘सवारी हाँक्दा चस्मा नलगाएसम्म हिड्न सकिदैन, आँखा भरी धुलोका कण गएर समस्या हुन्छ’ धेरै मोटरसाइकल चालकहरूको गुनासो यस्तै हुने गर्छ ।
स्वास्थ्यमा गम्भीर असर
 वातावरण मन्त्रालयको तथ्यांक अनुसार धुवाँ र धूलोमा २.५ पीएमभन्दा साना कणहरू प्रत्यक्ष मानिसको फोक्सोमा पुग्ने गर्छ ।  विभिन्न अनुसन्धान अनुसार खाना नखाइ मानिस तीन हप्तासम्म र पानी नपिई २–३ दिनसम्म बाँच्न सक्छ। तर, हावा बिना ३ मिनेटभन्दा बढी बाँच्न गाह्रो हुन्छ ।एउटा स्वस्थय मानिसले औसत प्रतिमिनेट ९२ पटकसम्म सास फेर्छ। त्यस क्रममा लगभग ६ लिटर अक्सिजन शरीरले ग्रहण गर्छ । हावा प्रदूषित बनेपछि मानिसले लिने अक्सिजनमा पनि प्रदुषण मिसिएको हुन्छ ।
प्रदूषित हावाका कारण ७२ प्रतिशतलाई मुटु रोग, १४ प्रतिशतलाई दम तथा खोकी, १४ प्रतिशतलाई फोक्सोको क्यान्सर चिकित्सकहरूले बताउछन । अक्सिजन नै प्रदुषित लिएपछि मानिसहरूलाई हरेक प्रकारका रोगहरू लाग्ने वामीमा मेडिकल ब्यबसाय गरीरहेका निरज भण्डारीले बताए । मानिसलाई सबैभन्दा बढी हावा, पानी र खाद्यान्नले रोग सिर्जना गर्ने उनले बताए ।
हामीले सास फेर्ने हावामा सामान्य आँखाले देख्न सकिने र नसकिने धुलोका अनेक कण हुन्छन् । तीमध्ये केही धेरै हानिकारक हुन्छन् त केही सामान्य हानी गर्ने हुन्छन् । सडक निर्माणमा वातावरणीय असर नपुग्ने गरी काम गर्दा धुलो कम हुने बताइन्छ । सडकमा जथाभावी फोहोर नफाल्ने र नजलाउँने हो भने पनि प्रदूषण कम हुने बिश्वास गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्