दुःखद दुर्घटना

नेपाली हवाई आकाशमा फेरि अर्को विमान दुर्घटना भएको छ । चालक दलसहित ७१ जना रहेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमै दुर्घटनामा परेको दुःखद खबरले जो–कोहीलाई पनि स्तब्ध पारेको छ । यसमा भएको प्राविधिक र मानवीय कमजोरीका सम्बन्धमा छानबिनपछि पत्ता लाग्ने नै छ, सँगसँगै नेपाली आकाश कति सुरक्षित छ भन्नेदेखि नेपालसँग एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडाका सम्बन्धमा पुनः बहस सिर्जना हुनेछ ।
हुन त दुर्घटनाको पूर्वजानकारी हुँदैन । तर, दुर्घटना अनपेक्षित पनि हुँदैन, त्यसैले दुर्घटनामा हुने क्षति न्यूनीकरणका लागि नै विभिन्न उद्धार संयन्त्रसहित इक्युपमेन्टहरू विमानस्थलमै तम्तयार अवस्थामा राखिन्छन् । मुलुककै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल र त्यसमा पनि तीन दर्जन विदेशी वायुसेवा कम्पनीले नियमित उडान गर्ने स्थानमा उद्धारका लागि पर्याप्त साधनस्रोतको व्यवस्थापन नहुनु लाजमर्दो अवस्था हो । अर्कातर्फ दुई वर्षअघि टर्किस एयरको विमान दुर्घटनामा परेर सिर्जना भएको अवस्था स्मरण मात्र गर्ने हो भने विमानस्थल व्यवस्थापनका कमजोरी यथावत् रहेछन् भन्ने प्रस्ट देखिन्छ । विमानस्थलमा साधनस्रोतको अभावभन्दा पनि भिजन र इच्छाशक्तिको अभाव भन्ने प्रस्टै देखिन्छ । यूएस बंगला एयरको जहाज दुर्घटना भएको घण्टौंसम्म पनि आगलागी नियन्त्रण हुन नसक्नु यसको उदाहरण हो ।
अधिकांश विमान दुर्घटना मानवीय त्रुटिका कारणले हुने गरेको विभिन्न समयमा गठन भएका दुर्घटना आयोगको अध्ययनले देखाएका छन् । दुर्घटनापछि चालकको मृत्यु हुने र उसैलाई दोषारोपण गरेर अरूलाई बचाउन यस्तो प्रतिवेदन दिने गरिएको भन्दै यसको आलोचना पनि हुने गरेको छ । त्यसैले यस दुर्घटनाको पनि सबैभन्दा ठूलो पाठ भनेको दुर्घटनापछिको उद्धारमा हामी कहाँ चुक्यौं भन्ने नै हो । समयमै आगलागी नियन्त्रणमा आएको भए मृतकको संख्या कम हुने थियो भन्ने सामान्य कुरा हो । तर, विमानस्थलमा पर्याप्त र प्रभावकारी अग्नि नियन्त्रक मेसिन र जनशक्ति नहुनु नै सबैभन्दा खट्केको पक्ष हो । यस्तै, विमानस्थलबाट काठमाडौं मेडिकल कलेज (केएमसी) बाहेक सबै अस्पतालहरू टाढा रहनु र काठमाडौंमा हुने अत्यधिक जामले दमकल र एम्बुलेन्सहरू पनि घटनास्थल र अस्पतालसम्म पुग्न समय लाग्नु अर्को चुनौती हो । यसकारण दुर्घटनापछिको ट्राफिकदेखि अस्पतालसम्मको व्यवस्थापनमा पनि केही कमजोरी देखिन्छ । यस्तै, नयाँ सरकार गठनको एक महिना भइसक्दा पनि पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त नगरी आफैं मन्त्रालयको वागडोर सम्हाल्ने र विमानस्थल पुगेर आफैं मन्त्रीको शैलीमा निर्देशनको अभ्यास गर्ने प्रधानमन्त्रीको कार्यशैली पनि चित्तबुझ्दो छैन । विमानस्थलको व्यवस्थापकीय कमजोरीमा धेरै बाधा–व्यवधान छन् र तीमध्ये सबैभन्दा ठूलो समस्या भने हरेक पर्यटनमन्त्री विभिन्न स्वार्थी समूहका गोटी बनेर विमानस्थललाई यस्तै भद्रगोल बनाउनमै सीमित रहेको छ ।
यूएस बंगलाको विमान दुर्घटना नेपालका लागि ठूलो पाठ हो । नेपालले कस्ता अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई अनुमति दिने र कसलाई रोक्ने भन्ने मापदण्ड पनि हुनुपर्छ । नेपालमा उडान गर्न इच्छुक सबै वायुसेवा कम्पनीलाई अनुमति दिनैपर्छ भन्ने पनि छैन । नेपाल र नेपालीलाई सुविधा हुने तथा नेपालले बढी खर्चिला पर्यटक ल्याउन सक्ने मुलुकका वायुसेवा कम्पनीलाई बढी प्राथमिकतामा राखिनुपर्छ । विमान दुर्घटनाको दुःखद घटनाबाट पाठ सिकेर शोकलाई शक्तिमा बदल्न विमानस्थलको सुधारसहित समग्र उड्डयन क्षेत्रकै पुनर्संरचना जरुरी छ ।