प्लान्ट बन्द हुँदा कृषक–उद्योगी अविश्वास बढ्यो «

प्लान्ट बन्द हुँदा कृषक–उद्योगी अविश्वास बढ्यो

पाउडर प्लान्ट एक सिफ्ट मात्र चल्ने

निजी क्षेत्रका दुई पाउडर प्लान्ट पोखराको सुजल डेरी र चितवनको चितवन मिल्कले तत्काललाई एक सिफटमा मात्र काम गर्ने भएका छन् । दूध संकलन र आपूर्ति सहज नहुने भएकाले तत्काललाई एक सिफ्ट चलाउने भएका हुन् ।
दूध बढी हुने सिजनमा बचेको दूधलाई दुग्ध विकास संस्थानको विराटनगर पाउडर प्लानसहित मुलुकका तीन वटै पाउडर प्लान्टबाट धुलो दूध बनाइ स्टोर गर्ने गरिन्छ । खाद्य उद्योग अत्यावश्यक वस्तु भित्र पर्ने भएकाले यस्ता उद्योग र आपूर्ति बन्द गर्न नमिल्ने कानूनी प्रावधान छ । तर, एक्कासी आएको कोरोना प्रभावको कारण चितवन मिल्क भने लकडाउन यता बन्दको अवस्थामा छ भने आवश्यक मर्मत गर्ने भन्दै दुई दिनयता बन्द छ ।
डेरी उद्योगी अरनिको राजभण्डारीले आजदेखि दुई वटै पाउडर प्लान्ट चल्ने बताए । “सोमबारदेखि पाउडर प्लान्टमा दूध पठाउन हामीलाई भनिएको छ, हामीले कोटा सिस्टममा पाउडर बनाउन ट्यांकरमा पठाउँछौं,” नेपाल डेरी उद्योग संघका निवर्तमान अध्यक्ष राजभण्डारीले भने, “अफ्ठ्यारो समयमा पनि किसानको दूध संकलन गरेर मिल्क होलिडे रोक्न किसानसँग राम्रो समन्वय गर्दै आएका छौं, केही दिन दूध संकलनमा समस्या आए पनि अब आउने छैन ।” उनले तत्काललाई एक सिफ्टमा चल्ने र विस्तारै बढाउँदै लगिने बताए । पाउडर दूध कारखाना नखुल्दा कतिपय संकलनकर्ताले दूध बिग्रेका कारण पोखेकासमेत थिए ।
डेरी उद्योग संघ र नेपाल डेरी एशासेसिएसन आवद्ध दुग्ध उद्योगहरुले दूध कम हुने समयमा आवश्यक प्रयोगका लागि उपलब्ध दूधलाई पाउडर प्लान्टमार्फत् दूध दूध र बटर बनाएर राख्ने गरेका छन् । दुवै उद्योगमा अन्य डेरी उद्योग र सहकारीले झोल दूध ट्यांकरबाट पठाइ पाउडर प्लान्टबाट धुुलो दूध बनाएर राख्ने गरेका छन् । सुजल डेरीमा दुग्ध विकास संस्थानले पनि पाउडर बनाउने गरेको छ । दूध उत्पादन बढेर मिल्क होलिडेको समस्या बढेपछि खोलिएका दूध कारखानाहरुका कारण मिल्क होलिडे रोक्न सहयोग पुगेको छ । दुग्ध सहकारीहरुले पनि मिल्क होलिडे हुन नदिन निजी डेरीलाई प्राथमिकता दिएर दूध उपलब्ध गराउँदै आएका छन् ।
केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्षले निजी डेरीप्रति गरेको विश्वासमा ठेस लागेको गुनासो गरे । “घाटा त हामीलाई पनि लागको छ, जति सकिन्छ दूध संकलन गरेमा हामीलाई राहत हुन्छ, हामी ढुक्क थियौं तर केही निराश हुने अवस्था आयो,” उनी भन्छन्, “हामीले निजी डेरी उद्योगलाई निकै प्राथमिकता दिएर दूध आपूर्ति गर्ने गरेका छौं तर लकडाउनका बेला धेरै किसानको दूध नबिकेर निरास बन्नुपर्यो, कम्तिमा धुलो दूध कारखाना खुलेमा धेरै सहज हुन्छ ।” चितवन मिल्कले बटर बढी भएर राख्न नसकेको भन्दै कारखाना बन्द गरेको थियो । संघ र दुग्ध विकास संस्थानले हेटौंडामा स्टोरको व्यवस्था गरेपछि पनि कारखान नखुल्दा किसान रुष्ट छन् ।
चितवन मिल्क प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठले उद्योग खोल्छु भन्दै मन्त्रालयलाई झुक्काएको सरकारी अधिकारीहरुको आरोप छ । “बटर स्टक भयो भन्नुभयो, हामीले सहज बनाइदियौं तर विभिन्न बहानामा अझै खोल्नु भएको छैन,” मन्त्रालयका उच्च अधिकारी भन्छन्, “हामी आवश्यक समन्वय गरिहेका छौं, पुनः आजसम्मको समय माग्नु भएको छ, यस पटक हामी विश्वस्त छौं ।” उद्योगलाई आवश्यक सुरक्षा दिने तर अटेर गरेमा कारवाही गर्ने तयारी रहेको ति अधिकारीले बताए ।
श्रेष्ठले कारोबारसँगको कुराकानीमा पनि गत बुधबार खोल्ने जनाएका थिए । लकडाउन लगत्तै दूधको चाप बढेकाले अत्यधिक बटर उत्पादन हुँदा स्टोरको समस्या रहेको उनले बताएका थिए । सरकार बटरको स्टोरको व्यवस्था गरेपछि भरतपुरमा कोरोनाको संत्रासका कारण कामदार नआएको निहुँमा उद्योग खोलेका छैनन् । आवश्यक सुरक्षा सामग्रीसमेतको व्यवस्था गरि आजदेखि सञ्चालमा ल्याउने उनको प्रतिवद्धता छ । यस विषयमा भरपुर महानगरपालिकाकी मेयर रेणु दाहलले पनि चासो दिँदै उद्योग जसरी पनि खोल्न निर्देशन दिइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्