बाख्रा पालेरै आत्मनिर्भर «

बाख्रा पालेरै आत्मनिर्भर

म्याग्दी-दुई-चार हजार रुपैयाँ आवश्यक पर्दा साहुकहाँ ऋण माग्न जानुपर्ने समस्याबाट मुक्त भएकोमा अन्नपूर्ण गाउँपालिका–६ कुटमुनीकी विष्णु खड्का दंग परेकी छन् । दशक अघि माइतीबाट दुइटा पाठापाठी ल्याएर बाख्रा पाल्न सुरु गरेकी खड्काले अहिले बाख्रा बेचेरै वार्षिक दुईदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्न थालेकी छिन् । “साहुले ऋण नपत्याएर माईतीबाट पाठापाठी ल्याएर बाख्रा पाल्न थालेकी थिएँ,” खड्काले भनिन्, “एक वर्षयता २३ वटा बाख्रा र १५ वटा खसीबोका बेचें । घरव्यवहार र छोराछोरीको पढाइ खर्च धानिएको छ ।”
राम्रो आम्दानी हुन थालेपछि रोजगारीका लागि ८ वर्षसम्म इराक, साउदी, मलेसियामा भौंतारिएका खड्काका श्रीमान् गणेश पनि घर फर्किएर बाख्रापालनमै लागेका छन् । बाख्रापालनबाट स्वरोजगार बनेका खड्का दम्पतीले तीन वर्षअघि दर्ता गरेको ‘खड्का बाख्रा फार्म’मा हाल खरी र जमुनापारी जातका ६० वटा बाख्रा छन् ।
घार, पोखरेबगर, भुरुङ तातोपानीमा खसीबोका तथा गाउँमै बाख्रापालन गर्नेले पाठापाठी खरिद गरेर लैजाने गरेका छन् । “खसीबोका र बाख्रा बिक्रीका लागि बजारको समस्या छैन, ग्राहक घरमै आउँछन्,” गणेशले भने, “सुख र आम्दानी दुवै हिसाबले बाख्रापालनबाट विदेशमा भन्दा राम्रो भएको छ ।”
बाख्रापालनबाट भएको आम्दानीले छोराछोरीलाई पढाउन र घरव्यवहार चलाउन सजिलो तथा दुई, चार हजार आवश्यक पर्दा महँगोमा ऋण खोज्नुपर्ने अवस्थाको अन्त्य भएकोमा खड्काले खुसी व्यक्त गरिन् । गरिबी निवारण कोषको सहयोगमा गाउँमा गठन भएको जलेश्वर सामुदायिक संस्थाबाट हालै ४० हजार रुपैयाँ ऋण लिएर ३ वटा माउ बाख्रा थपेको खड्काले बताइन् ।
अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका गमबहादुर गर्बुजाले पनि स्थानीय दोसल्ले प्रगतिशील सामुदायिक संस्थाबाट सहुलियत ब्याजदरमा ३४ हजार रुपैयाँ ऋण लिएर बाख्रापालन ब्यवसाय विस्तार गरेका छन् । विदेशको विकल्पमा बाख्रापालन गरेका गर्बुजासँग हाल ४६ वटा बाख्रा छन् । खड्का र गर्बुजा जस्तै म्याग्दीको ग्रामीण क्षेत्रमा गरिब विपन्न समुदाय बाख्रापालनबाट आत्मनिर्भर र स्वरोजगार बनेका छन् ।
गरिबी निवारण कोषको सहयोगमा सामुदायीक संस्थामा स्थापित घुम्ती कोषबाट सहुलियत ब्याजदरमा बिना धितो उपलब्ध गराइने ऋण बाख्रा, कुखुरापालन, घरेलु उद्यम गर्नेका लागि सहयोगी बनेको छ ।
संगम म्याग्दीद्वारा म्याग्दीका १० वटा वडामा सञ्चालित गरिवी निवारण कोष कार्यक्रमअन्तर्गत गठन भएका ८१ वटा सामुदायीक संस्थाले ८२२ घरधुरी विपन्नलाई ३ करोड ३७ लाख ४२ हजार ५४६ रुपैयाँ ऋण लगानी गरेका छन् ।
बिना धितो ऋण उपलब्ध गराइने भएकाले बैंक, वित्तीय संस्थाको पहुँचमा नरहेका दुर्गम ग्रामीण क्षेत्रका विपन्नका लागि घुम्ती कोष बरदान बनेको संगम म्याग्दीका अध्यक्ष दीपक पौडेलले बताए ।

सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्