सेयर राफसाफ वैशाख मसान्तसम्म गरे हुने «

सेयर राफसाफ वैशाख मसान्तसम्म गरे हुने

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सेयर कारोबारको राफसाफ गर्ने समय एक महिना थप भएको छ । लकडाउनभन्दा अघि भएको सेयर कारोबारको राफसाफ आगामी वैशाख मसान्तसम्म गरे हुने व्यवस्था भएको हो ।
सरकारले चैत ११ गतेदेखि लकडाउन गरेसँगै धितोपत्र बजार बन्द रहँदै आएको छ । चैत ९ आइतबार सेयर कारोबार भएको थियो । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चैत ११ गते मंगलबारदेखि एक साता पहिलो चरणको लकडाउन गर्ने घोषणा गरेको थियो ।
सरकारले कोरोना प्रभावित क्षेत्रका लागि राहत सुविधा प्रदान गर्ने क्रममा धितोपत्र बजारमा पनि राफसाफका लागि एक महिनाको समय दिएको हो । मन्त्रिपरिषद्बाट भएको निर्णयअनुसार सेयर कारोबारको राफसाफ वैशाख मसान्तसम्ममा गरे हुने व्यवस्था भएको हो ।
चैत ९ गते निकै विवादका बाबजुद पनि खुलेको धितोपत्र बजारमा करिब २० करोड रुपैयाँ बरावरको कारोबार भएको थियो । धितोपत्र बजारमा कारोबार भएको दिनसहित चार दिनमा राफसाफ गर्नुपर्छ । पछिल्लो समयमा अनलाइन कारोबार प्रणाली सुरु भएपछि त्यसमा पनि केही छरितो हुने गरेको धितोपत्र दलालहरू बताउँछन् ।
सरकारले धितोपत्र बजारलाई पनि राहत सुविधा दिने क्रममा राफसाफको काम एक महिनाको अवधि थप गरेको भए पनि सेयर कारोबार साफसाफ प्रक्रिया चुस्त रहेको हुनाले धेरै बाँकी नरहेको नेपाल स्टक ब्रोकर एसोशिएसनका अध्यक्ष भरत रानभाटले बताए । लकडाउनपछि सेयर कारोबार खुल्दाको दिन नै त्यो बाँकी रहेको राफसाफ हुने समेत उनले बताए । धितोपत्र कारोबारको राफसाफका लागि धेरै समय नलाग्ने उनको भनाइ छ । आइतबारको कारोबारको राफसाफ हुन बाँकी होला तर त्यसभन्दा अघिको राफसाफ बाँकी नरहेको समेत उनले स्पष्ट पारे । राफसाफमा सेयर तथा पैसाको भुक्तानी नभएको खण्डमा क्लोजआउटमा गएर आफैं सेटलमेन्ट हुने भएकाले पनि लामो समय नरोकिने उनी बताउँछन् ।
धितोपत्र कारोबारको राफसाफ टि प्लस थ्रीभित्र हुने भएकाले त्यो समयअवधि दिइनु राफसाफ प्रक्रियालाई नबुझेर वा राहत सुविधामा सेयर बजारलाई पनि सहभागी गराउने भन्ने सोचसहित ल्याइएको हुनसक्ने अर्का एक धितोपत्र दलाल व्यवसायीले बताए ।
केन्द्रीय निक्षेप सेवाले पनि सेयर कारेबार राफसाफ लकडाउन अवधिभर नखुल्ने जनाएको तथा लकडाउन सकिएलगत्तै सेयर कारोबारको नियमित काम सुरु हुने सीडीएसले जनाएको छ । तर, चैत ९ गते भएको कारोबार गरेका लगानीकर्ता उपत्यकाबाहिर गई सेयर बजार कारोबार खुलेपछि सेटलमेन्ट हुन नसकी क्लोजआउटमा परे पनि सो दिन भएको कारोबारको सेटलमेन्ट वैशाख मसान्तसम्म गर्न सक्नेछन् । त्यसैगरी कोरोना प्रभावित राहत सुविधाअन्तर्गत धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूले बुझाउनुपर्ने विवरण पनि २०७७ वैशाखसम्म बुझाए हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्