एटीसीको निर्देशन नटेर्दा दुर्घटना «

एटीसीको निर्देशन नटेर्दा दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार यूएस–बंगला एयरलाइन्सको जहाज दुर्घटना भएको छ । युबीजी–२११ नम्बरको जहाज दुर्घटनामा चालकदलका ४ सदस्यसहित ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार यूएस–बंगला एयरलाइन्सको जहाज दुर्घटना भएको छ । युबीजी–२११ नम्बरको जहाज दुर्घटनामा चालकदलका ४ सदस्यसहित ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । बम्बार्डिएर ड्यास ८– क्यू ४०० सिरिजको ७८ सिट क्षमताको उक्त जहाज ७१ यात्रु लिएर काठमाडौं आउँदै थियो । ढाकाबाट काठमाडौं आएको उक्त जहाज अवतरणको क्रममा रन–वेमा दुर्घटना भएको हो । जहाज अतवरण गर्ने क्रममा पाइलटले ‘मिसएप्रोच’ लिएपछि जहाज दुर्घटनामा परेको विमानस्थल आधिकारीहरूले दावी गरेका छन् । अतवरणको समयमा मौसम सफा रहेको र भिजिबिलिटी १५ सय मिटरसम्म रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलमा एयर ट्राफिक कन्ट्रोलरको जिम्मेवारीमा रहेका कन्ट्रोलरले पाइलटलाई दक्षिण ०२ दिशाबाट ल्याण्ड गर्ने अनुमति दिँदा पाइलटले ‘उत्तर ०२  तिरबाट ल्याण्ड गर्छु’ भनेर उत्तरतिर लागेका थिए । “पाइलटले उक्त कुरा भनेपछि जहाजमा केही समस्या हो भनेर सोध्दा ‘आई एम ओके’ भनेका थिए,” विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर प्रमख सीताराम भन्डारीले भने ।  कन्ट्रोलरले जहाजमा समस्या भएको हो भनेर पटक-पटक पाइलटलाई सोधेको तर ओके भन्ने जवाफ पाएको भन्डारीले बताए । जहाज उत्तर गएर अवतरण गर्नुपर्नेमा उत्तरपूर्वतर्फ गएर तीन फन्को लगाएपछि पुनः कन्ट्रोलरले किन अवतरण नगरेको भन्ने प्रश्न पाइलटलाई गरेका थिए । तर, पाइलटले ‘म ठिक छु, ल्यान्ड गर्छु’ भनेको भन्डारीले जानकारी दिए । “अवतरण गर्ने बेला ‘एलाइन्मेन्ट’ नमिलेको थाहा पाइसकेका थियौं,” भण्डारीले भने, “ल्याण्ड गर्ने बेला पाइलटको रेस्पोन्स आएन, त्यसपछि जहाज रनवेबाट सिधा ल्याण्ड गर्नुपर्नेमा दाहिने (आर्मीको ह्यांगर) तर्फ टावरको छेउबाटै आएको थियो ।”अवतरण रनवेमै गरे पनि जहाजले त्यसलगत्तै रनवे छाडेको थियो । रनवेको बाहिरपट्टी ५० मिटर पर रहेको खाल्डोमा परेपछि जहाजमा आगो लागेको थियो । “हाम्रो प्रारम्भिक अध्ययनमा पाइलटले कन्ट्रोलरको कुरालाई बेवास्ता गरेको देखिएको छ,” नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले कारोबारलाई भने । पाइलटले किन एटीसीको निर्देशन मानिनन् भन्ने जाचबुझ आयोगले अध्ययन गर्ने गौतमले बताए । सोमबार बसेको मन्त्रिपरिषदले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा आयोग गठन गरेको छ ।
एटीसीको अडियो नै बाहिरियोअन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले अतिसंवेदनशील र गोप्य भन्ने गरेको एटीसीको अडियो बाहिरिएको छ । दुर्घटनाअघि यूएस–बंगलाका पाइलट पृथुला रसिद र एटीसीबीच भएको कुराकानीको अडियो बाहिरिएको हो । यस्तो अडियो जाँचबुझ आयोगको अनुमतिमा आयोगका प्राविधिकलेमात्र सुन्न पाउने व्यवस्था छ । तर, दुर्घटना भएको केही घन्टामै अडियो बाहिरिएपछि नेपालको नागरिक उड्डयन सुरक्षामा गम्भीर चासो उत्पन्न भएको छ । “अडियो कसरी बाहिरियो भन्ने विषयमा छानविन गरेर सत्यतथ्य बाहिर ल्याउनेछौं, यो बाहिरिनु गम्भीर विषय हो,” महानिर्देशक गौतमले भने । ईयूको कालोसूचीबाट हट्ने सम्भावना पुनः टर्यो चार वर्षदेखि नेपाली हवाई आकाशलाई युरोपेली आयोगले कालोसूचीमा राख्दै आएको छ । नेपालमा भएका ठूला दुर्घटनालाई कारण देखाउँदै कालोसूचीमा राख्दै आएको ईयूले नेपाललाई केही महिनापछि यसबाट हटाउने संकेत गरेको थियो । सोमबार भएको दुर्घटनाकै कारण देखाउँदै सूचीबाट पुनः हट्ने सम्भावना टरेको आशंका छ । तर, महानिर्देशक गौतमले नेपालको कमजोरीले दुर्घटना नभएकोले यो विषयमा ईयूमा ब्रिफिङ गरिने जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्