सेयर बजारमा गिरावट आउनु नियमित प्रक्रिया

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेको दिन बजारले स्वागत गर्यो भनेर भनेको दुई हप्ता नबित्दै उनै प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत लिएको दिन भने सेयर बजारमा पहिरो नै गएको छ । आइतबार बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको सेयर बजार, बजार बन्द हुँदा ३१.०४ अंकले घटेर १२८४.०९ अंकमा झरेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ । आइतबार जम्मा १ सय ६० कम्पनीका ३२ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । बजारमा १ अंक घट्नु भनेको लगानीकर्ताले करिब १ अर्ब गुमाउनु हो । यसरी ३१ अंक घट्दा आइतबार मात्रै ३१ अर्ब घाटा भएको अनुमान छ । आइतबार दुईवटा कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशत गिरावट आएको छ । सबैभन्दा बढी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा गिरावट आएको छ भने त्यसपछि नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि अघिल्लो दिनको तुलनामा ९.३३ प्रतिशत गुमाएका छन् । बजारका सबै समूहका परिसूचक राताम्मे भएको भए पनि सबैभन्दा बढी बिमा समूहको परिसूचक २४३ अंकले घटेको छ भने फाइनान्स समूहबाहेक बाँकी समूहको सूचक दोहोरो अंकले घटेको छ । फाइनान्स समूह ८ अंकले मात्रै ओरालो लागेको छ । राजनीतिक तथा अन्य आर्थिक नीति–नियमका कुराले सेयर बजारमा प्रभाव पार्नु स्वाभाविक हो । बजारमैत्री सरकार तथा अनुदार सरकारका कारण पनि सेयर बजारमा हलचल हुने गर्छ, तर बजार सधैं बढ्दैन, किनकि बजारमा गिरावट आउनु एउटा नियमित प्रक्रिया पनि हो । तर, सरकार परिवर्तनपछि एक्कासि सेयर बजारको कारोबार ओरालो लागेको हो वा बजारमा सेयरको आपूर्ति बढेर हो वा ऋण लिएर सेयर किन्ने जमातलाई ऋणमा कडाइ भएपछि बजार घटेको हो अथवा बजारमा खेलाडीहरूले चलखेल गरेका हुन्, यसबारेमा कारोबारले सेयर कारोबार गर्ने जिल्लाका कम्पनीहरूसँग छलफल गरेको छ । उनीहरूका अनुसार आर्थिक नियमअनुसार बजारमा आपूर्ति बढ्दा माग कम हुनु पनि स्वाभाविक हो । अहिले बजारमा सेयरको सप्लाई बढेको छ । बैंकहरूसँग सेयरमा ऋण दिन रकम अभाव छ, त्यसैका कारण पनि सेयर बजारमा गिरावट आएको हो । विभिन्न जिल्लाका कारोबारकर्मीहरूले सेयर बजारसँग सम्बन्धित कम्पनीका प्रतिनिधिहरूसँग गरेको कुराकानीको सार :
सेयर बजारमा लगानीकर्ता जोगाउनुपर्छ
जयप्रकाश साह
सञ्चालक
प्राइमो सेक्युरिटिज प्रा.लि.
सेयर बजारमा गिरावट आउनु नियमित प्रक्रिया नै हो । सरकार परिवर्तनपछि एक्कासि सेयर बजारको कारोबार ओरालो लागेको भन्नेहरू पनि छन्, तर त्यो कुनै सरकार परिवर्तनले पारेको असर होइन । सेयर बजारको कारोबार घटबढ हुनु मार्केटको टर्न नै हो । कुनै बहानाले होइन, यो सेयर बजारमा भइरहने नियमित प्रक्रिया नै हो ।
सेयर बजारमा आपूर्ति बढेको छ । आर्थिक नियमअनुसार बजारमा आपूर्ति बढ्दा माग कम हुनु पनि स्वाभाविक हो । अहिले बजारमा सेयरको सप्लाई बढेको छ । लिक्विडिटी क्रन्च पनि सेयर बजारमा गिरावट आउने कारण हो । हकप्रद सेयर र लाभांश सेयरधनीहरूको संख्या पनि बढेकाले सेयर बजारमा कमी आएको हो ।
वीरगन्जमा अहिले खासै सेयर बजारको घटबढले असर परेको छैन । वीरगन्जमा नयाँ लगानीकर्ताहरू खासै छैनन् । सेयर लगानीको विषयमा साक्षरता बढाउनुपर्ने आवश्यकता छ । अहिलेको अवस्थाले गर्दा नयाँ लगानीकर्ताहरूलाई सेयर साक्षरता दिएका छैनौं । सेयर बजार निरन्तरको कारोबार हो । यसमा लगानीकर्ताहरूलाई बचाउनुपर्छ । सेयरमा आएको गिरावटले लगानीकर्ताहरू पनि अहिले सेयरमा लगानी गर्न इच्छुक देखिएका छैनन् । वीरगन्जको सेयर बजारमा थोरै लगानीकर्ता छन् । वीरगन्जमा अहिले सेयर कारोबार गर्ने ब्रोकर कम्पनीहरू भर्खरै स्थापना भएकाले सेयर साक्षरता पनि आवश्यक छ । यसको बिस्तारै समाधान हुन्छ ।
सेयर बजारमा जबसम्म सेयरका बारेमा जानकारी हुँदैन, त्यस्तो अवस्थामा सेयर किनबेच गर्दा लगानीको जोखिम पनि बढी नै हुने गर्छ । त्यसैले अहिले नयाँ लगानीकर्तालाई हामीले जोगाएका छौं । उनीहरूलाई सेयर लगानीका बारेमा दबाब दिएका छैनौं । यो मन्दी निरन्तर रहिरहँदैन, फेरि उकालो लागिहाल्छ । त्यतिखेर फेरि हामी नयाँ लगानीकर्ताहरूलाई सेयर लगानी गर्न आग्रह गर्छौं, यसरी लगानीकर्ताहरूमा पनि विश्वास बढ्ने र सेयरबजारप्रतिको नकरात्मक सन्देशहरू जान पाउँदैन ।
हरेक सरकार फेरिने बेला यस्तै अफवाहहरू फैलिने र फैलाइने गरेको छ । सरकार परिवर्तनका बेला सेयर कारोबारमा परिवर्तन आउनु संयोग मात्रै हो । त्यस्तो हो भने त अब पाँच वर्षको स्थायी सरकार बन्न लागेको छ । पाँच वर्षसम्म सेयर बजारमा सुधार नआउला त ? त्यसैले यो बजारको हल्ला मात्रै हो ।
लगानीको मनोविज्ञानबाट सेयर बजार चल्छ
विनित अग्रवाल
शाखा प्रमुख
श्रीकृष्ण सेक्युरिटिज लिमिटेड, विराटनगर
बजारमा पैसा छैन । बजारमा पैसाको अभाव भएकै कारण बैंकहरूले ब्याजदर बढाएका छन् । महँगो ब्याजमा ऋण लिएर साना लगानीकर्ताहरूले सेयरमा लगानी गर्ने अवस्था अहिले छैन । १२ प्रतिशत ब्याज महँगो भयो । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयरको लगानी अनुत्पादक भन्नु ठीक होइन । उहाँले कुन प्रसंगमा भन्नु भएको हो, त्यो त उहाँ आफैंले बुझ्ने हो । मार्केट पनि एउटा व्यक्तिको भनाइका पछि लाग्नु हुँदैन । एउटा व्यक्तिले गर्ने पनि होइन, कम्पनीले गर्ने हो । एउटा व्यक्ति विशेषले मार्केट चलाउन हुँदैन र चलाउन पनि सक्दैन । देशभर ५ लाख लगानीकर्ता छन् । उनीहरूको मनोविज्ञानबाट चल्ने हो— मार्केट । लगानीकर्ताले पनि बजारको अवस्था बुझ्नुपर्छ । कसैको लहलहैमा लाग्नु हुँदैन ।
सेयर मार्केटमा विराटनगरको कुरा गर्ने हो भने यहाँ साना लगानीकर्ता धेरै नै छन् । ठूला लगानीकर्ताको आकर्षण छैन विराटनगरमा । हुन पनि ठूला–ठूला लगानीकर्ता काठमाडौंमै छन् । बिग हाउस काठमाडौं केन्द्रित छन् । बिग हाउसको सबै कारोबार काठमाडौंबाटै हुन्छ । यसले गर्दा विराटनगरमा जति छन्, सबै साना लगानीकर्ता छन् । उनीहरूको दुई–तीन पटक लगानी गरेपछि पैसा सकिन्छ । विराटनगरमा पाँचवटा सेयर ब्रोकर छन् । बिस्तारै यो क्षेत्रमा आकर्षण बढ्दै गएको छ ।
सेयर मार्केटमा आजको भोलि प्रतिफल प्राप्त हुँदैन । सेयरमा धैर्यता आवश्यक पर्छ । धैर्यता र अनुशासन नभए यो क्षेत्रमा नलाग्दा हुन्छ । आज लगानी गरेर भोलि प्रतिफल खोज्नेहरू यो क्षेत्रमा नआउँदा हुन्छ । अर्को कुरा, विराटनगरमा यो पेसालाई पार्ट टाइमका रूपमा लिने गरिएको छ, मुख्य पेसा अझै बन्न सकेको छैन । यसको प्रतिफल प्राप्त गर्न पर्खन सक्नुपर्छ ।
ब्याजदर घटाए मात्र कारोबार बढ्छ
गोकुल रिमाल
प्रमुख
नेपाल स्टक हाउस ब्रोकर (१४), पोखरा शाखा
हाल देशमा आर्थिक तरलता हुनु, बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउनु, अघिल्लो सरकारले आवश्यकताभन्दा बढी खर्च गर्नु, नेपालमै भारतीय नोट साट्ने सहज व्यवस्था नहुनु, बैंकहरूले हकप्रद सेयर र प्राथमिक (आईपीओ) सेयर निष्कासन गर्नुले बजारमा हाल सेयर मार्केट खस्कँदै आएको हो ।
बजारमा तरलता अभाव छ, बैंकहरूको ब्याजदर बढेको छ, राज्यको विकास बजेट न्यून मात्रामा खर्च भएको छ, घरजग्गा तथा अटोमा राष्ट्र बैंकले कडाइ गरेसँगै यसले बजार अझ आर्थिक चलायमान कम गराएको छ । सेयर बिक्री घट्दो क्रममा छ, यसको कारण बजारमा कम मूल्यमा यसको कारोबार भएको हो । कुनै बेला १ हजार ८ सय ८१ मा पुगेको सेयर कारोबार हाल १ हजार २ सय ८४ मा झरेको छ ।
घरजग्गामा राष्ट्र बैंकले कडाइ गर्दा त्यसको प्रभाव सेयर मार्केटमा देखिने भएकाले घरजग्गालाई केही खुकुलो पार्नुपर्छ । अघिल्लो सरकारले आवश्यकताभन्दा बढी खर्च गरेकाले अहिलेको सरकारलाई कठिन भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रलाई पुँजी वृद्धिमा ध्यान दिए पनि बैंक तथा वित्तीय क्षेत्रहरू नेपाली बजारमा अझै धेरै संख्यामा भएकाले यसलाई राष्ट्र बैंकले फोर्स मर्जरमा लैजानुपर्छ । ठूला कम्पनीको प्राथमिक सेयर निष्कासन गर्नुपर्छ, राजनीतिक स्थिरता र भ्रष्टाचारलाई न्यूनीकरण गर्न सकेको खण्डमा पनि सेयर बजार उकालो लाग्छ ।
पोखरामा हाल सातवटा ब्रोकर हाउसले सेयर कारोबार गरेका छन् । आइतबार मात्र सेयर खस्केको अवस्थामा पनि पोखराबाट करिब ३ करोडको कारोबार भएको छ । एकै दिन १ अर्बको कारोबार हुने सेयर मार्केट हाल ३०-३१ करोड मात्र हुने गरेको छ । पोखरामा हाल दैनिकजसो सेयर कारोबार गर्ने व्यक्तिहरू १ हजारजति छन् । पोखरामा ब्रोकर शाखाहरू स्थापना भएसँगै यसमा कारोबार गर्नेको संख्यामा वृद्धि भएको छ ।
मोफसलमा सेयर कारोबारप्रति आकर्षण बढ्दो छ
पुष्पनिधि ढकाल
सेयर ब्रोकर, बुटवल
रूपन्देहीमा पछिल्लो समय सेयर कारोबारप्रति आकर्षण बढेको छ । सेयर कारोबार गर्ने ब्रोकर कम्पनी रूपन्देहीमा नहुँदा काठमाडौँकै कम्पनीमा दैनिक रूपमा सेयर खरिद तथा बिक्रीका लागि आश्रित हुनुपर्नेमा अहिले रूपन्देहीमा मात्रै ब्रोकर कम्पनीहरू पाँचवटा खुलेका छन् । एसियन सेक्युरिटिज, लिंक, आर्यतारा, दक्षिणकाली र मिदास अहिले रूपन्देहीमा खासगरी बुटवल क्षेत्रमा सेयर कारोबारमा क्रियाशील कम्पनी हुन् ।
ब्रोकर कम्पनीहरूमार्फत सेयर कारोबार गर्ने दैनिक रूपमा बढेको छ । पछिल्लो समय सेयर कारोबार गर्नेहरूको संख्या बढ्दो छ, यद्यपि अहिले सेयर बजारको माहोल चिसो छ । तर, उनीहरू सेयर बजारप्रति अनभिज्ञ नै छन्, त्यसैले उनीहरूलाई सेयरसम्बन्धी सूचना, कार्यक्रम, अन्तक्र्रियामार्फत सुसूचित गराउन जरुरी छ ।
अहिले पनि आफूहरूको कम्पनीमार्फत दैनिक २५ देखि ३० वटासम्म सेयर कारोबार हुने गरेको छ । बढीजसो वाणिज्य बैंकहरूको, त्यसपछि इन्स्योरेन्स कम्पनी र माइक्रो फाइनान्स कम्पनीहरूको सेयर खरिद–बिक्रीमा सर्वसाधारणको आकर्षण बढेको छ ।
अहिले कुनै पनि संघसंस्थाले वार्षिक साधारणसभा गर्नुपूर्व, बुक क्लोज गर्नुअघि र बुक क्लोजको समायोजनपछि पनि सेयर खरिदका लागि उत्सुकता राख्नेहरू धेरै बढ्न थालेका छन् । पहिलेभन्दा सामान्य रुचि राख्ने क्रम बढ्दो छ । त्यसैले सेयरबजारसम्बन्धी राम्ररी शिक्षा दिन सकियो र कस्तो बेला सेयर खरिद–बिक्री गर्ने भन्ने जानकारी दिएमा सामान्य नागरिकको सेयर बजारप्रति लगाव र आकर्षण बढ्नेछ । अहिले सेयर कारोबार खस्किनुमा मुख्य कारण राजनीतिक अवस्था नै हो । वामपन्थीहरूको बहुमत निर्वाचनमा आए पनि सेयर बजारको अंक बढ्नुको साटो घट्दै जानुलाई अहिले सामान्य अर्थमा लिइनु हुँदैन । अहिले बैंकहरूको विभिन्न क्षेत्रमा लगानी, जग्गा बिक्रीमा राष्ट्र बैंकको नीति खुकुलो बन्न नसक्नु, बैंक तथा वित्तीय क्षेत्रले बोनसका नाममा हकप्रद सेयरको भार बोक्दै जानुजस्ता कारणले अहिले सेयर बजार खस्केको हो । अब सरकारले सेयर बजारलाई उकास्ने किसिमका कार्य गर्नका लागि लगानीमैत्री वातावरण बनाउनु जरुरी छ । सम्भावना राम्रो देखिएको सेयर बजारलाई बचाउन सरकारले छिटै आकर्षक कार्यक्रम र नीतिहरू सार्वजनिक गर्नु जरुरी रहेको छ ।