अरुण तेस्रोद्वारा सरकारी अस्पताललाई १ करोडको सहयोग हस्तान्तरण «

अरुण तेस्रोद्वारा सरकारी अस्पताललाई १ करोडको सहयोग हस्तान्तरण

नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि १ करोड ५ लाख रुपैयाँबराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
आयोजना निर्माण गरिरहेको संखुवासभाको सरकारी जिल्ला अस्पताललाई अरुण तेस्रो आयोजनाले महामारीको बेला जनताप्रतिका दायित्वलाई मनन गरी १०.५ मिलियन अर्थात् १ करोड ५ लाख रुपैयाँबराबरको अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
आयोजना निर्माण गरिरहेको भारतीय प्रवद्र्धक कम्पनी एसजेभीएन अरुण–३ पावर डेलभमेन्टल कम्पनीका अध्यक्ष नन्दलाल शर्माको पहलमा कोरोना महामारीको रोकथाममा १ करोड ५ लाख रुपैयाँबराबरका अत्यावश्यक स्वास्थ्य सामग्रीहरू जिल्ला अस्पताललाई मंगलबार हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए । सबै सामग्रीहरू संखुवाभासमा ल्याएर प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा प्रमुख कार्यकारी अधिकृत धिमानले जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यलाई हस्तान्तरण गरेका थिए ।
आयोजनाका अनुसार, हस्तान्तरण गरिएका सामग्रीहरूमा मुख्य गरी आईसीयूका लागि दुई थान उन्नत भेन्टिलेटर, एक थान प्यासेन्ट मोनिटर, ५ थान अक्सिजन कन्सेन्टेटरस, दुई थान लरीङगोस्कोप सेट, ७ थान फाउलर वेड, २ थान पल्स अक्सिमिटर, तीन थान सक्सन मेशिन तथा १५ थान पर्सनल प्रोटेक्टिभ इक्वेपमेन्ट (पीपीई) सेट लगायतका सामग्री सहयोग गरेको छ ।
कम्पनीले आयोजना स्थल अन्र्तगतका विभिन्न गाउँहरूमा कोरोनाबारे जनचेतना जगाउने, ब्यानर राख्नुका साथै सरकार, स्थानीय जनता र अन्य आयोजनाका सरोकारवालाहरूका लागि समेत काम गरिरहेको जनाएको छ । आयोजनाका कर्मचारीहरूले कोरोनाको महामारीबाट रोकथामका लागि उनीहरूको तलबबाट अस्पताललाई ५ लाख रुपैयाँसमेत दिइएको कम्पनीले जनाएको छ ।
कम्पनीले सरकारले घोषणा गरेको लकडाउनको आधारमा २ साता आयोजनाको काम रोक्नुका साथै कार्यरत सबैलाई कोरोना भाइरसबाट जोगिनका लागि आवश्यक निर्देशन दिइएको पनि जनाएको छ । सरकारको तर्फबाट थप घोषणा नगरेसम्मका लागि भारतबाट नेपाल र नेपालबाट भारत ओहोरदोहोर गर्न परामर्शदाता कम्पनी तथा निर्माण कम्पनीका सबैलाई बन्द गरिएको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्