एभरेस्ट लिंकको दर्जनौं स्थानमा सेवा विस्तार «

एभरेस्ट लिंकको दर्जनौं स्थानमा सेवा विस्तार

उच्च हिमाली र अति दुर्गम भेगमा इन्टरनेट सेवा प्रदान गर्दै आएको एभरेस्ट लिंक कम्पनीले सेवा विस्तार गरेको छ । चार वर्षअघि सगरमाथा क्षेत्रबाट इन्टरनेट सेवा सुरु गरेको एभरेस्ट लिंकले पर्यटकीय गन्तव्यलाई ध्यान दिँदै अन्य भेगमा पनि सेवा दिन थालेको कम्पनीले जनाएको छ ।
एभरेस्ट लिंकले सोलुखुम्बुको व्यस्त पदमार्ग मेरा पिक, सगरमाथा र मकालु पदमार्गलाई जोड्ने क्षेत्र मकालु गाउँपालिकामा पर्ने बुङ, छेस्काम र गुदेल गाउँमा इन्टरनेट सेवा विस्तार भएको छ ।
कम्पनीले सगरमाथा भित्रकै आकर्षक र प्रख्यात गन्तव्य गोकयो भ्यालीमा पनि सेवा विस्तार गरेको छ । मेरा पिकमा बर्सेनि हजारौं पर्यटकहरू पदयात्रा गर्न र मेरा पिक चड्न जान्छन् ।
एभरेस्ट लिंकले रसुवाको लाङटाङ, गोरखाको मनास्लुक्षेत्र र आधार शिविरसम्म इन्टरनेट सेवा दिन थालेको छ । त्यसैगरी माथिल्लो मुस्ताङ पदमार्गमा पनि सेवा प्रदान गरेको छ ।
एभरेस्ट लिंकले उच्च हिमाली र अति विकट गाउँहरूमा इन्टरनेट सेवा दिन थाले पनि विदेशी पर्यटकहरू पदयात्राका रमाइला गतिविधिहरू छिनभरमै विभिन्न सामाजिक सञ्जालबाट भिडियो, फोटो सेयर गरेर देशको पर्यटन बजारलाई विस्तार गर्न सफल भएका छन् ।
लाङटाङ पदमार्गमा पर्ने क्याङजिङ गुम्बा एरियासम्म एभरेस्ट लिंकको इन्टरनेट सेवा विस्तार भएको छ ।
एभरेस्ट लिंकले सगरमाथा क्षेत्रमा जाने पदयात्री तथा पर्वतारोहीहरूलाई सुरक्षानुभूतिका लागि गत नोेभेम्बरबाट हेल्लो डाक्टर सेवा सुरु गरिसकेको छ । एभरेस्ट लिंकका प्रमुख कार्यकारी अधिकृत छिरिङ ग्याल्जेन शेर्पाले लिंकले निकट भविष्यमा सगरमाथा र मकालु जोड्ने महाकुलुङ क्षेत्रमा अनलाइन शिक्षा प्रदान गर्ने तयारी थालेको बताए । यसले अति दुर्गम र उच्च हिमाली भेगका बासिन्दहरूका बच्चाहरूले अनलाइनबाटै गुणस्तरीय र सुलभ शिक्षा लिन पाउने शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस्