हिमालबाट समृद्ध म्याग्दी «

हिमालबाट समृद्ध म्याग्दी

हिमालबाट समृद्ध म्याग्दी हिमालबाट समृद्ध म्याग्दी सन्तोष गौतमम्याग्दी । म्याग्दीको भूगोलमा रहेका एक दर्जन हिमाल तथा हिमश्रृंखलाले जिल्लालाई समृद्ध बनाएको छ । हिमाली जिल्लाको पहिचानबाट भने जिल्लालाई ओझेलमा पारिएकोमा भने स्थानीयको चित्त दुखाइ छ । “हिमालै हिमाल भएर पनि म्याग्दी आफ्नो पहिचान, सुविधा र लाभबाट वञ्चित भएको छ,” धौलागिरी गाउँपालिका १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले भने । हिमाल आरोहण गर्न आउने पर्यटकदेखि हिमालको स्रोत भएर बग्ने नदीनालालाई परिचालन गर्न सके म्याग्दीका स्थानीय तहमात्रै होइन, प्रदेश र संघीय सरकार पनि समृद्ध बन्ने स्थानीय बताउँछन् । संसारको सातौं अग्लो (८,१६७ मिटर) धौलागिरि प्रथमदेखि छैटौँसम्मका चुचुरासँगै अन्नपूर्ण प्रथम, मानापाथी, गुर्जा, चुरेन, पुथा, बराह शिखर, निलगिरि हिमालको दक्षिण र पूर्वी मोहडा म्याग्दीको भूगोलमा समेटिएको छ । धौलागिरी गाउँपालीकाको मुदी, गुर्जा, मल्कवाङ, रघुगंगाको कुइनेमंगले, चिमखोला, अन्नपूर्णको दाना, नारच्याङ र शिखको भूभाग हिमालसँग जोडिएको छ । 
म्याग्दीका हिमालहाल संसारको सातौ अग्लो (८,१६७ मिटर) धौलागिरी र ८०८१ मिटर अग्लो अन्नपूर्ण प्रथम आरोहरणका लागि पर्यटक आउने गरेका छन् । सात हजार मिटरभन्दा अग्ला धौलागिरीका छ वटा हिमशृंखला म्याग्दीको धौलागिरी गाउँपालिका ४ मुदी, ५ मल्कवाङ, रघुगंगा ८ कुईनेमंगलेको क्षेत्रमा पर्छ । सात हजार १९३ मिटर अग्लो गुर्जा हिमाल धौलागिरी गाउँपालिकामा अवस्थित छ । सोही हिमालको आधारमा गुर्जा गाउँको नामाकरण भएको छ । अन्नपूर्ण प्रथमको आधार शिविर अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्छ । नारच्याङदेखि दुई दिनमा अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग निर्माण भैसकेको छ । ७ हजार ३८५ मिटर अग्लो निलगिरीको दक्षिण र पूर्वी मोहोडाको भूगोल नारच्याङमै पर्छ । मानापाथी, पुथा, चुरेन हिमाल धौलागिरी गाउँपालिका १ गुर्जामा अवस्थित छन् । 
लाभबाट वञ्चित हिमालबाट हालसम्म म्याग्दी र हिमाल नजिकैका बस्तीका समुदायले लाभ लिन नसकेको धौलागिरी गाउँपालिका ४ बगराका हरिप्रसाद तिलीजाले बताए । “म्याग्दीको भूगोलमा पर्ने हिमालहरूको खोज अनुसन्धान र पर्यटक भित्र्याउने विषयमा कसैको ध्यान पुगेको छैन,” तिलीजाले भने, “हिमाललाई समेटेर पदमार्ग सञ्चालन गर्ने, होटल तथा लज खोल्ने र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्न सकेमा पर्यटक भित्र्याएर धेरै आम्दानी गर्न सकिन्छ ।” धौलागिरी पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँ सरकारी निकायले पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्ने बताउँछन् । यहाँ भित्रने पर्यटकले तिर्ने शुल्कको रोयल्टीबाट संघीय, प्रदेश र स्थानीय सरकार सञ्चालनसँग विकास निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ । संविधानले प्राकृतिक स्रोतबाट हुने आम्दानीको रोयल्टी संघीय सरकारलाई ५०, प्रदेश र स्थानीय सरकारलाई २५-२५ प्रतिशत हुने व्यवस्था गरेको छ । 
वार्षिक ७० हजार पर्यटक जिल्ला प्रहरी कार्यालयले म्याग्दीका विभिन्न नाकाहरूमा संकलन गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७३-०७४ मा ७० हजार जना बाह्य पर्यटकले म्याग्दीका पर्यटकीय स्थलहरूको भ्रमण गरेका छन् । तथ्यांकअनुसार २०७३ को साउनदेखि २०७४ असारसम्म म्याग्दी भ्रमणमा आउने बाह्य पर्यटकको संख्या ६९ हजार ८३७ जना थियो । म्याग्दी आउने पर्यटकको ९० संख्या अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत पर्ने घोडेपानी र पुनहिल मात्रै घुमेर फर्कन्छन् । दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दी जिल्लाको आधा भूगोल हिमाली क्षेत्रले ओगटेको बताइन्छ ।पहुँचको कमीका कारण म्याग्दीको हिमाली पहिचान दबाइएकाले हिमाल र पर्यटनबाट लाभ लिन नसकेको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले बताए । आर्थिक वर्ष २०७३-०७४ मा पर्यटन मन्त्रालयले म्याग्दीमा पर्यटन रोयल्टीबापत २१ लख ८१ ह्जार रुपैयाँ पठाएको थियो । जिल्ला समन्वय समितिका लेखापाल विनोद रेग्मीका अनुसार मन्त्रालयले खाता रोक्का गरेकाले विद्युत् र पर्यटन रोयल्टीको रकम परिचालन हुन सकेको छैन । आर्थिक वर्ष २०७२-७३ मा १७ लाख पर्यटन रोयल्टी आएको थियो । 
पहिचान र लाभको खोजी राज्य पुनसंरचनाका क्रममा म्याग्दीका दुई वटा स्थानीय तहको नामाकरण हिमालको आधारमा गरिएको छ । साविकको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ र ताकम गाविस समेटीएको धौलागिरी र दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेलाई समेटीएको गाउँपालिकालाई अन्नपूर्ण नामाकरण गरिएको छ । स्थानीय तहका जनप्रतिनिधि, प्रदेश र प्रतिनिधिसभाका सांसदहरूले म्याग्दीलाई हिमाली जिल्लाको पहिचान दिलाउन नीतिगत पहल थालेका छन् । जिल्ला समन्वय समितिको गत हप्ता बसेको बैठकले म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न निर्णय गर्दै प्रदेश र संघिय सरकारलाई प्रस्ताव पठाएको छ । आधा दर्जन हिमालहरू अवस्थित र भौगोलिक विकटतालाई आधार मानेर म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न माग गर्ने निर्णय गरेको समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिए ।  हिमाल नजिकका वस्तीहरू पहाडी भेगमा सूचीकृत हुँदा राज्यले हिमाली भेगका अन्य जिल्लाका बासिन्दालाई दिने सेवा सुविधाबाट म्याग्दीका दुर्गम बस्तीका बासिन्दा बञ्चित भएका छन् । हिमाली जिल्ला सरहको बिकटता भएको ठाउँमा विशेष सुविधा नहुँदा कर्मचारी जान नमान्ने अर्को समस्या छ । हिमाल भएको म्याग्दी जिल्लाको पहिचान नै दबाइएका कारण पनि जिल्लामा पर्यटन रोयल्टी समेत न्यून मात्रामा आउने गरेको छ । अन्नपूर्ण प्रथमको रोयल्टी कास्कीमा जाने गरेको भन्दै चार वर्षअघिको जिल्ला परिषद्ले अन्नपूर्ण प्रथम हिमालको रोयल्टी म्याग्दीलाई उपलब्ध गराउन पर्यटन मन्त्रालयमा माग गरेको थियो । नेपालमा २० वटा हिमाली जिल्ला छन् । गत भदौमा गोरखा, धादिङ, रामेछाप र पूर्वी रुकुमलाई हिमाली जिल्लामा सूचीकृत गरेको थियो ।

सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्