एनसेलले ४ अर्ब ६० करोड लाभकर बुझायो «

एनसेलले ४ अर्ब ६० करोड लाभकर बुझायो

निजी क्षेत्रको दूरसेवा प्रदायक कम्पनी एनसेलले मंगलबार सरकारलाई थप ४ अर्ब ६० करोड लाभकर बुझाएको छ । टेलियासोनेरबाट अक्जियटा आफ्नो शेयर बिक्री हुँदा लाग्ने लाभकरमध्ये मंगलबार ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको हो । योसँगै एनसेलले पुँजीगत लाभकरवापत सरकारलाई बुझाएको रकम अहिलेसम्म ३३ अर्ब रुपैयाँ पुगेको छ ।
एनसेलले सुरुमा अग्रिम लाभकरवापत कुल लाभको १५ प्रतिशतले हुने २२ अर्ब रुपैयाँ सरकारलाई बुझाएको थियो । सरकारलाई तिर्नुपर्ने लाभकरको दोस्रो किस्ता बुझाएको ठूला करदाता कार्यालयका प्रखुम झलकराम अधिकारीले जानकारी दिए । एनसलेलले अब सरकारलाई १४ अर्ब ४० करोड रुपैयाँ बुझाउन बाँकी छ । “बाँकी रहेको १४ अर्ब ४० करोड रुपैयाँ रकम पनि अब १५ दिनभित्र बुझाउँछौ भन्नु भएको छ,” अधिकारीले भने ।
एनसेलको पुँजीगत लाभकरका विषयमा परेको मुद्दामा भदौ ९ गते फैसला गर्दै सर्वोच्च अदालतले २१ अर्ब १० करोड रुपैयाँ कर लाग्ने ठहर गरेको थियो । यसअनुसार ब्याजको हिसाब गर्दै ठूला करदाता कार्यालयले एनसेलमाथि २२ अर्ब ४४ करोड रुपैयाँ कर लाग्ने भन्दै पत्र पठाएको थियो । कर कार्यालयको पत्र पाएपछि एनसेलले गत पुस १५ गते ४ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको थियो । पहिलो किस्ता बुझाएपछि एनसेलले किस्ताबन्दी सुविधा माग गरेको थियो । त्यसैअनुसार एनसेलले मंगलबार दोस्रो किस्ता तिरेको हो । जसअनुसार एनसेलले दुईपटक गरी ९ अर्ब १० करोड रुपैयाँ कर बुझाएको छ ।
एनसेलले बाँकी कर तिर्नका लागि एनसेलले केही रकम नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा आधा दर्जन बैंकसँग ऋण माग गरेको बताइएको छ । यसअघि एनसेलको कर भुक्तानीका लागि ठूलो रकम एभरेष्ट बैंकमा राखेको थियो । त्यसपछि नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकलगायतसँग भएको रकम पनि कम्पनीले स्ट्याण्डर्ड चार्टर्ड बैंकमा सारेको छ । जम्मा गरेपछि पनि अपुग केही रकम कम्पनीले ऋण लिएर भुक्तानी गर्न लागेको हो ।
एनसेलले पुँजीगत लाभकर भुक्तानी गर्न थालेपछि सरकारलाई राजस्व संकलनमा राहात मिलेको छ । लक्ष्यअनुसार राजस्व संकलन नभएपछि अर्धवार्षिक समीक्षामार्फत राजस्वको लक्ष्य घटाएको सरकारलाई संशोधित लक्ष्य भेटाउन पनि कठिन देखिएको छ । पछिल्लो समय बिश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विकास निर्माणका कामहरू ठप्प हुँदा सरकारलाई खर्च धान्ने स्रोत जुटाउन मुस्किल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्