सप्तरंगी रारा

मुगु । राराको सौन्दर्यको परख गर्ने धेरै छन् । तर, राराले एकदिनमा सप्तरंगी मुहार फेर्छ भन्ने हेक्का कमैलाई छ । राराको यही सप्तरंगी सुन्दरता हेर्न आउनेको ताँती नै लाग्ने गरेको छ । हिउँद याममा बाह्य र आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बनेको छ रारा । खासगरी राष्ट्रिय सडक सञ्जाल रारासम्म जोडिएपछि र ताल्चा– रारा विमानस्थल कालोपत्रे भएपछि पर्यटकको घुइँचो हुन थालेको छ रारामा ।
२०६१ सालमा मुगुस्थित रारा विमानस्थल कच्ची निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएयता त्यो संख्या बढ्दै गए पनि २०६९ सालमा जिल्ला सदरमुकाम गमगढी राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि र रारा ताल्चा विमानस्थल कालोपत्रे भएयता रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या नाटकीय रूपमा बढेर गएको छ ।
रारा राष्«िटय निकुञ्ज कार्यालयले रारामा घुम्न आउने बाह्य पर्याटकको मात्र अभिलेख राख्ने गरेको छ । राराभन्दा केही माथि रहेको मुर्माटप पुगेपछि बाजुरा, जुम्ला, हुम्ला, कालीकोट, अछाम, मुगु र हुम्लामा रहेका हिमालहरू, बडीमालिका हिमाल, सैपाल हिमाल आदि पनि देख्न सकिन्छ ।
अझै पनि पर्यटकले रारामा आवासलगायत असुविधा भने भोगिरहनु परेको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत चन्द्रशिखर चौधरीका अनुसार विदेशी पर्यटकलाई मात्र गन्ने प्रवृत्ति विद्यमान छ ।
उसो त राज्यले राराका लागि केही नगरेको भने होइन । पर्यटन बोर्ड, राष्ट्रिय ताल विकास समिति र कर्णाली पर्यटन विकास समिति जुम्लाबाट करोडभन्दा बढी रकम विभिन्न काम गर्ने भनी राराका नाममा आउने गरे पनि जिल्ला विकास समितिमार्फत नभएर सिधै ती निकायसँग सम्झौता र निकासा हुने भएकाले काम प्रभावकारी हुन सकेको छैन ।
पछिल्ला वर्षमा यातायातको सहजताले गर्दा देशका विभिन्न जिल्लाका विद्यालय, संघसंस्था, सरकारी निकायबाट धेरै संख्यामा आन्तरिक पर्यटक रारा आउने गरेका छन् । देशका प्रतिष्ठित उद्योगी, व्यापारी, उच्चपदस्थ अधिकारी तथा कर्मचारी पनि रारा घुम्न आउने क्रम बढेको छ ।
जुम्ला कनकासुन्दरी गाउँपालिका १ भाड गाउँका लोकबहादुर भण्डारी आन्तरिक तथा बाह्य दुवैखाले पर्यटकका लागि पूर्वाधार बनाउनुपर्नेमा जोड दिन्छन् ।
लकरको सुनजस्तो रारा
पीताम्बर शर्मा
पूर्वउपाध्यक्ष, राष्ट्रिय योजना आयोग
रारा लकरको सुनजस्तै भएको छ । लकरबाट बाहिर निकालेर सुनलाई विभिन्न डिजाइनका गहना बनाएर व्यापारीले जति पनि फाइदा लिन सक्छ । तर, लकरमा राखेको सुनको के काम ? त्यस्तै भएको छ रारा पनि । अनेकौं सम्भावना भएर पनि न त राज्यले नै फाइदा लिन सकेको छ, नत स्थानीय जनताले नै ।
रारालाई धार्मिक, खेल र प्राकृतिक पर्यटनको रूपमा विकास गरी सोहीअनुसारका पूर्वाधारको विकास गर्न ठोस गुरुयोजना बनाई काम थाल्ने हो भने रारामा आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने सम्भावना देखिन्छ ।
यहाँ प्ूर्वाधार विकास गर्दा प्राकृतिक संरचना नबिग्रिने गरी गरिनुपर्छ । हवाई र सडक सहजताले रारा हेर्न आउने पर्यटकहरू बढिरहेका बेला राज्यले उनीहरूबाट भरपुर फाइदा लिन होटल, मनोरञ्जन, धार्मिक स्थल, पदमार्गलगायत पूर्वाधार निर्माणमा ध्यान दिई पर्यटकको बसाइ लम्बाउने कार्य गर्नुपर्छ ।
– दानबहादुर बुढा