पोखरा महानगरले अति विपन्न र ज्यालादारी मजदुरलाई राहत दिने

पोखरा महानगरपालिकाले अति विपन्न र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरुलाई सहयोग गर्न २ करोड ४८ लाख ५० रुपैयाँको राहत कोष स्थापना गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी कोरोना भाइरसको संक्रमण फैलिन नदिन देश नै लकडाउन भएको अवस्थामा अति विपन्न र ज्याला मजदुरी गर्नेहरुलाई राहत वितरण गर्न कोष स्थापना गरेको जानकारी गराएका छन् ।
जिसीले जारी गरेको विज्ञप्तिमा विषम परिस्थितिमा पोखरा नगर क्षेत्रमा रहेका अति विपन्न र ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुलाई राहत उपलब्ध गराउन पोखरा महानगरपालिकाले २ करोड तथा कर्मचारीबाट संकलन भएको ४८ लाख ५० हजार रुपैंयाँ समेत गरी २ करोड ४८ लाख ५० हजार रुपैयाँको राहत कोष स्थापना गरेको उल्लेख गरिएको छ । महानगरका ३३ वटै वडा कार्यालयमार्फत् टोल विकास संस्था, टोल सुधार समिति, असहाय, अति विपिन्न, दैनिक ज्यालादारीको रुपमा काम गर्ने मजदुरहरुको नामावली संकलन गर्न लागिएकोले विवरण संकलनमा सहयोग र सहजीकरण गरिदिन समेत विज्ञप्तिमा अनुरोध गरिएको छ । अति विपन्न र ज्यालादारी मजदुरलाई परिचय खुल्ने एउटा कागजपत्रको आधारमा राहत वितरण गरिने प्रमुख जिसीले जानकारी दिए ।
एकद्वार प्रणालीमार्फत् प्रभावकारी ढंगले राहत वितरण गरिने भएकाले इच्छुक सबैमा पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गरी सहयोग पु-याइदिन हुन प्रमुख जिसीले विज्ञप्ति मार्फत अनुरोध गरेका छन् । यस कोषबाट अति विपन्न परिवार र दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने परिवारलाई प्रति परिवार २ हजार रुपैंयाँ बराबरको खाद्यान्न सामग्री उपलब्धि गराइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कठिन परिस्थितिमा संयम र सचेत भई घर भित्र बसेर आफू पनि बाच्न र अरुलाई पनि बचाउन नगरवासीलाई आग्रह गर्दै गरिएको छ भने महामारीसँग जुध्ने कार्य कष्टपूर्ण भएकोले सरकारको एकल प्रयासले मात्र यो संकटबाट पार पाउन कठिन भएकाले विपद्को घडीमा सबैमा सहयोगको आह्वान गरिएको छ ।