जैविक विविधिताले भरिपूर्ण लब्रेकुटी «

जैविक विविधिताले भरिपूर्ण लब्रेकुटी

पाँचथरको सदरमुकाम फिदिमबाट नजिकै रहेको जिल्लाकै ऐतिहासिक र किरात समुदायको आस्थाको केन्द्र लब्रेकुटी वनभोजस्थल र पर्यटनका लागि जिल्लाकै अब्बल गन्तव्य मानिन्छ । मेची राजमार्गको इलाम–फिदिम सडक खण्डको कान्छीदोकान बजारबाट करिब आधा घण्टाको पैदल हिँडेपछि लब्रेकुटी पुगिन्छ ।
१६औं राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दले वि.सं १९८८ वैशाख २४ गते यही स्थानमा किरात समाज सुधारका लागि तत्कालीन दश लिम्बुवान शत्र थुमका अगुवाहरूको भेला गराई ७ बुँदे सत्य धर्म मुचुल्का घोषणा गरेको इतिहास पाइन्छ । सोहि मुचुल्कालाई किरात समाज सुधारको क्षेत्रमा हालसम्मकै महत्वपूर्ण दस्तावेज मानिन्छ । जसको स्मरणमा प्रत्येक वर्षको वैशाख २४ गते समाज सुधार दिवश र कार्तिक २४ गते फाल्गुनन्द जन्मजयन्ती मनाउने गरीन्छ । ा नेपालका विभिन्न जिल्लाहरूसंगै भारतको सिक्किम, दार्जिलिङ, आसाम, भुटान र वर्मा सम्मका किरात धर्मावलम्बीहरू लब्रेकुटि आउँछन् । त्यसैले यो स्थल अन्तराष्ट्रियस्तरमा समेत परिचित छ । १६ औं राष्ट्रिय विभूति तथा किरात समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको तपोभूमिको रुपमा परिचित फिदिम नगरपालिका–८ चोकमागुमा पर्ने लब्रेकुटि किरात धर्मावलम्बीहरूको धार्मिक आस्थाको केन्द्र हो । किरात समुदायको प्रमुख तीर्थस्थल फक्ताङलुङ (कुम्भकर्ण) पारुम्फुक्कु–मारुम्फुक्कु पुग्न नसक्नेहरूले यहाँ आएर सेवा गरे त्यहाँ पुगेर सेवा गरे सरह हुने जनविश्वास छ ।
समुन्द्रि सतहबाट २४ सय फिट उचाइमा रहेको यो डाँडाबाट देखिने मनोरम हिमश्रृङ्खलाको दृष्यले सबैलाइ लोभ्याउने गरेको छ । सगरमाथा र कुम्भकर्ण लगायतका हिमाललाई एकै दिशाबाट हेर्न सकिने यो डाँडाबाट पूर्वका विभिन्न जिल्लाहरूको दृष्यावलोकन गर्न सकिन्छ । चैत–वैशाखमा गराँस फुल्ने भएकोले यहाँ आन्तरिक पर्यटकहरूको घुइचो लाग्ने गर्दछ । जडिबुटि र जैविक विविधताको लागि पनि महत्वपूर्णस्थल हो लब्रेकुटि । यहाँ सतुवा, चिराइतो, खापनबेद, पाँचअम्ले, सुगन्धवाल, कुड्की, गुजुरगानो, चिम्फिङ, भुतकेश र लेकाली टिमुर जस्ता जडिबुटि पाइन्छन् । काँडे भ्याकुर, हुचिल, कालिज जस्ता जंगली पंक्षि र मलसाप्रो, दुम्सि, मृग, खरायो जस्ता जंगली जनावर पाइन्छन् । विभिन्न प्रजातिका गुराँस, लौठ सल्ला, सेती सल्ला, ठिङ्ग्रे सल्ला, गोब्रे सल्ला र धुपी सल्ला लगायतका वनस्पतिले ढाकेको छ लब्रेकुटि क्षेत्र ।

प्रतिक्रिया दिनुहोस्