सात वर्षमा पिलर र दुईवटा स्ल्याब मात्रै «

सात वर्षमा पिलर र दुईवटा स्ल्याब मात्रै

जुम्ला, डोल्पा र जाजरकोट तीन जिल्लालाई जोड्ने दानसाँघु पक्की पुलको निर्माण अझै सम्पन्न भएको छैन । तिलाजवा नदीको दोभानमा २०६८ असार १५ देखि निर्माण सुरु गरिएको ६० मिटर लम्बाइको सो पुल २०७१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने सम्झौता थियो ।
२०७२ मा प्रमुख इन्जिनियर हरिप्रसाद शर्मा बहाल हुँदा पुलको डिजाइन फेल भएको जनाइएपछि निर्माण कार्यमा अवरोध आएको एसबिए बन्धन भगवती पृथ्वी जेभी बत्तीसपुलती काठमाडौँका प्रोपाइटर तारासिंह कठायतले बताए । प्राविधिक कमजोरीका कारण निर्माण कार्य लम्बिएको प्रोपाइटर कठायतको भनाइ छ ।
जिल्ला प्राविधिक कार्यालय जुम्लाका निमित्त प्रमुख नारायण चौलागाईंका अनुसार तत्कालीन जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयद्वारा सञ्चालित दानसाँघुको पक्की पुललगायत क्रमागत योजना संघीयतापछि कर्मचारी फेरबदलले प्रभावित भएका हुन् । उनले भने, “कर्मचारी सरुवाबढुवा हुने क्रममा एक–अर्कालाई जिम्मेवार हस्तान्तरण गर्ने प्रवृत्तिले नयाँ आउने कर्मचारीलाई कुन योजना कस्तो अवस्थामा छ भन्ने विषयमा अन्योल छ ।’
जिल्ला प्राविधिक कार्यालय जुम्लाका अनुसार पुलको डिजाइन जिल्ला तहबाट नभई छुट्टै कन्सल्टेन्सीले गर्ने भएकाले समस्या आएको हो । कार्यालयका अनुसार पुलको डिजाइन फेल भए तापनि कार्यालयले त्यसको पुनः डिजाइन गरी काम सुरु भइसकेको छ ।
मन्त्रालयले अघिल्ला वर्षमा करोडौँको आयोजनाका लागि न्यून बजेट विनियोजन गरेकाले निर्माण ढिलाइ भएको उनको दाबी छ । पुलको बायाँतिरको पिलरको डिजाइन फेल भएको थियो । यद्यपि भू–गर्भ विभाग्द्वारा माटो परीक्षण गरी काम गर्नुपर्ने भएकाले केही समय लम्बिएको बताइएको छ ।
नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, स्थानीय सडक तथा पुल कार्यक्रमबाट सञ्चालित आयोजनाको करिब चार करोड लागतमा भगवती पृथ्वी जेभिका प्रोपाइटर कठायतले दुई करोड ८८ लाख ३० हजार सात सय ७६ रुपैयाँ ६२ पैसामा ठेक्का लिएका थिए ।
जुम्लाको गोठीचौर गाउँपालिकामा पर्ने देपालगाउँ, गज्यांकोट, गोठीचौरसहित डोल्पा र जाजरकोटलाई समेत जोड्ने पक्की पुल समयमा नबन्दा यातायात सेवामा प्रभाव परेको स्थानीयवासीको गुनासो छ । बिरामी अस्पताल पुराउनदेखि उत्पादित वस्तु स्याउ अन्नबाली तरकारी फलफूल सदरमुकामको बजार र बाहिर जिल्लाका बजारमा पुराउन निकै समस्या भएको स्थानीयले बताएका छन् ।
दानसाँघु पक्की पुल निर्माण सम्पन्न भएको खण्डमा सवारी आवागमन सहज हुने र छिमेकी जिल्ला जाजरकोट र डोल्पाका जनता यातायात अभावको पीडाबाट मुक्त हुने अपेक्षा स्थानीयको छ ।
सात वर्षमा पुलको पिलर र दुईवटा स्ल्याब मात्र हाल्ने काम भएको छ । साथै जग्गावालले पर्खाल लगाउन दिएका छैनन् । पुलको काम सुरु गर्दा डोजरमा ढुंगा हान्ने र कामदारमाथि हातपात गर्नेजस्ता क्रियाकलाप गरेर काम गर्न नदिएको ठेकेदार कठायतले गुनासो गरे ।

सागर परियार 

प्रतिक्रिया दिनुहोस्