मनोविज्ञान, सूचना प्रवाह र भ्रम «

मनोविज्ञान, सूचना प्रवाह र भ्रम

 

छिटो, नयाँ र धेरै सूचनाको माग भएका बेला सूचनाको प्रवाहलाई नियन्त्रण गर्नु अफवाह, हल्ला र गलत सूचना फैलने मौका दिनु हो ।

सेभर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस–२ (सार्स कोभ–२) भाइरसका कारण लाग्ने कोरोना भाइरस रोग (कोभिड १९) का सम्बन्धमा विश्वभरका नागरिकले अपेक्षा गरेअनुसार सूचना पाएका छैनन् । सम्बन्धित सरकार र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तौलेर सार्वजनिक गर्ने गरेका सूचना मानिसहरूका लागि पर्याप्त छैनन् । त्यसैले मानिसहरू अनेक अनुमान र आशंका गर्न बाध्य छन् ।
मानिस बृहत् मनोविज्ञान भएको प्राणी हो । दोस्रो पक्षले तलाई यति सूचना चाहिन्छ भनेर अड्कलेर दिएको सूचनाले मानिसलाई पुग्दैन । मानिसहरूका फरक मनोविज्ञान हुन्छन् । मानिसमा कौतूहलता र जिज्ञासा हुन्छ । त्यसबारे मानिस सत्यतथ्य सूचना जान्न चाहन्छ । यदि सत्यतथ्य पत्ता लागिसकेको छैन वा पत्ता लागे पनि उसले जान्न पाएन भने कल्पना, अनुमान, आशंका, विश्लेषण, तर्कबाट भए पनि उत्तर खोज्ने प्रयत्न गर्छ ।
मानिसको मनोविज्ञानलाई सम्बोधन गर्ने विधि अभिव्यक्ति स्वतन्त्रता हो । सबै प्रमाणित भएका कुरा मात्रै बोल्ने र लेख्ने हो भने मानिससँग बोल्ने र लेख्ने कुरा एकदमै कम हुन्छन् । मानिसहरूले मनमा जे लाग्यो, त्यो बोल्न पाउनुपर्छ । यसको सीमा भनेको एकको बोली वा लेखाइले अर्कोको स्वतन्त्रता मिच्नु हुँदैन । नभएको घटनालाई भएको भनेर नियतवश जानाजान झूटो बोल्नु हुँदैन, तर मैले प्रत्यक्ष नदेखे पनि मेरो अनुमानमा यस्तो भएको हुन सक्छ भनेर भन्ने अधिकार हरेक मानिसमा हुन्छ ।
डब्लूएचओले विश्वमा कुन देशमा कति जना संक्रमति भए, कति निको भए र कतिको मृत्यु भयो भन्ने सूचना मात्रै सार्वजनिक गर्ने गरेको छ, जसअनुसार आइतबारसम्म विश्वभर संक्रमितको संख्या ३ लाख ३६ हजार, निको हुनेको संख्या ९८ हजार ३ सय र मृत्यु हुनेको संख्या १४ हजार ६ सय पुगेको छ । संक्रमितमा मृत्यु हुनेको संख्या ४.४ प्रतिशत पुगेको छ । २ लाख ३७ हजार अहिले संक्रमित अवस्थामै रहेका छन् । त्यसैले यो रोगका संक्रमितको संख्या शून्यमा नझेरसम्म संक्रमितमध्ये कति प्रतिशतको मृत्यु हुँदो रहेछ भनेर तथ्यांक निकाल्न सकिंदैन ।
कोरोनाको शंका लागेर परीक्षण गरिएकाको संख्या सार्वजनिक भएको हो । डब्लूएचओले तयार गरेको मापदण्डअनुसार मात्र परीक्षण गरिन्छ । सुगर, थाइराइडजस्तो आफूखुसी यो परीक्षण गराउन पाइँदैन । विश्वभर परीक्षण कीटको सीमितता रहेको छ । नेपालमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र परीक्षणको सुविधा छ । रोगको लक्षण मिली परीक्षण गरिएकामध्ये कति प्रतिशतलाई संक्रमण पाइयो भन्ने विश्वभरको एकीकृत तथ्यांक डब्लूएचओले सार्वजनिक गरेको छैन । परीक्षण केन्द्रहरूले स्थानीय सञ्चारकर्मीलाई दिएको जानकारी सार्वजनिक भएका छन् । नेपालमा आइतबारसम्म ६ सय ३० जनामा परीक्षण गर्दा संक्रमण शून्य पाइएको छ । त्यहाँ सरकारको मापदण्डबमोजिम दैनिक ५०÷६० जनाको मात्र परीक्षण हुने गरेको समाचार सार्वजनिक भएको छ ।
महामारी, आपत्विपद आइपर्दा मानिसहरू बढीभन्दा बढी सूचना चाहन्छन् । २०५८ सालमा राजा वीरेन्द्रको वंश नाश हुँदा बजारमा बिहान, दिउँसो र साँझ तीन संस्करणमा समेत पत्रपत्रिका प्रकाशित भएका थिए । ती सबै बिक्री भएर तिनका फोकोकपीसमेत बिक्री भएका थिए । त्यतिखेर अहिलेजस्तो अनलाइन, युट्युब र सामाजिक सञ्जालहरू विकास भएका थिएनन् । जनता सूचनाका लागि त्यति हतार र उत्सुक थिए, तर सरकारले रेडियो र टिभीमा शोक धुन मात्र बजाउने गरेको थियो ।
छिटो, नयाँ र धेरै सूचनाको माग भएका बेला सूचनाको प्रवाहलाई नियन्त्रण गर्नु अफवाह, हल्ला र गलत सूचना फैलने मौका दिनु हो । सरकारले दिएका सीमित सूचना र अर्ती उपदेशमा मानिसहरू चित्त बुझाएर बस्दैनन् । मनमा आएका अनुमान, तर्क र विचारहरूलाई निर्वाध रूपले अभिव्यक्त हुन दिनुपर्छ । सरकारको सूचनामा कसैलाई विश्वास छैन भने उसलाई त्यो अविश्वास व्यक्त गर्न दिनुपर्छ । जनस्तरबाट आएका जायज नाजायज सबै तर्क, विचार र अनुमानलाई स्वागत गर्दै सरकार, विज्ञ र जिम्मेवार आम सञ्चारमाध्यमले त्यसबारे सत्यतथ्य जानकारी गराउने र मानिसहरूलाई विश्वास दिलाउने प्रयास गर्नुपर्छ ।
प्रमाणित नभएका कुरा आशंका र अनुमानका भरमा सामाजिक सञ्जालहरूमा पोस्ट गरेमा सरकारले कारबाही गर्ने नीति लिने हो भने भ्रम र अफवाहहरू अझ बढी फैलने सम्भावना हुन्छ । आजभन्दा केही दशकअघिका घटनाक्रमलाई सम्झिऔं । त्यतिखेर सामाजिक सञ्जाल थिएन, मोबाइल फोन थिएन, तैपनि कति अफवाह र भ्रमहरू जनमानसमा तुरुन्तै फैलिने गर्थे । व्यक्तिबाट व्यक्तिमा फैलने भ्रम चिर्न सम्बन्धित पक्षलाई कठिन हुन्छ, किनकि जनतामा के भ्रम फैलिएको छ भनेर थाहा पाउन सकिंदैन ।
सामाजिक सञ्जालको निर्वाध प्रयोगले भ्रम चिर्न सजिलो पर्छ । कसैको मनमा लागेको कुरा सामाजिक सञ्जालमा निर्वाध व्यक्त गर्न पाउने हो भने त्यसबारे सही सत्य थाहा पाएको पाठक, दर्शक र श्रोताले सुरुमा जारी भएको सन्देशलाई खण्डन गर्ने गरी कमेन्ट गर्न वा आप्mनो फरक सन्देशमार्फत भ्रम हटाउने प्रयास गर्न सक्छ । अनुमानित कुराहरू सामाजिक सञ्जाल र अनलाइनमा पोस्ट गर्न प्रतिबन्ध लगाउँदैमा मानिसहरूमा त्यस्ता सन्देश पुग्नबाट रोकिँदैनन् । फोन, च्याट र मुखबाट फैलिन्छ । यसरी फैलने सन्देशमा गलत बुझाइलाई सच्याउने कमेन्टहरू समावेश हुन पाउँदैनन् ।
रोग लाग्ने व्यक्तिहरूको उमेर समूह, ब्लड ग्रुप, सर्ने सम्भावना, संक्रमण भएमा भोग्नुपर्ने पीडा, निको हुने वा मृत्यु हुनेबारे विश्वभर अनेक समाचारहरू प्रसारित भएका छन् । त्यसको सत्यतथ्य डब्लूएचओले खुलाएको छैन । नयाँ रोग भएकाले कुनै पनि निष्कर्षमा पुग्न अहिलेसम्मको तथ्यांक र प्रयोग पर्याप्त नहुन सक्छ । त्यसैले सूचना नै प्रवाह नगर्नु वा अड्कलेर प्रवाह गर्नुभन्दा अहिलेसम्मको तथ्यांकमा यस्तो देखिन्छ, तर यसलाई सामान्यीकरण गर्न मिल्दैन भनेर जे छ, त्यही सूचना प्रवाह गरिदिएमा मानिसहरूलाई आफैं शंका उपशंका र भ्रमहरूबाट मुक्त हुन सहज हुन्छ ।
गरिब मुलुक र समाजहरूमा संक्रमणका घटना शून्य वा थोरै देखिएका छन् । यसको कारण ती क्षेत्रमा परीक्षण कीटको अपर्याप्तता हुनु, विकसित समाजमा जस्तो स्वास्थ्य सेवा सहज र सुलभ नहुनु कारण हो । यसको मतलब संक्रमण भए पनि थाहा नहुनु हो वा त्यस्तो समाजमा विकसित समाजको तुलनामा मानिसहरूको आवतजावत कम भएका कारण संक्रमण भएको हो वा त्यस्ता क्षेत्रमा मानिसहरूको जीवनशैली बढी प्राकृतिक भएको कारण रोगको संक्रमण नभएको हो ? विभिन्न प्रश्न मानिसहरूका मनमा उब्जेका छन् । यसबारे सरकार र विश्व संगठनहरूले कुनै प्रतिक्रिया जनाउँदैनन् ।
आधिकारिक निकायबाट आएका सही सन्देशले पनि मानिसहरूलाई भ्रम पार्न सक्छ । उदाहरणका लागि २०७२ सालको भूकम्पलाई लिन सकिन्छ । भूकम्प आउँदा टेबुलमुनि लुक्नु भन्ने सन्देश दिइएको कारण खुला आकाशमुनि भएका मानिसहरूसमेत भूकम्पले हल्लाएपछि घरभित्र छिरेका थिए । अहिले पनि आधिकारिक र समाज सेवा भन्दै जोकोहीले अर्ती उपदेशहरू बाँडिरहेका छन्; जसमा कुहिनोले सिंगान पुछ्नुु भनिएको छ । सार्वजनिक बसलगायत सार्वजनिक स्थलमा बस्दा लुगामा भाइरस सरेको हुन सक्छ । त्यसैले हातको जुन भाग बढी सुरक्षित छ, त्यसले पुछ्ने सन्देश पुग्नुपर्छ । सबै मानिसले क्षण क्षणमा साबुन पानीले हात धुनुपर्छ भन्ने बुझाइ जनमानसमा पुगेको छ । घरभित्रै बसेका मानिसले समेत मिनेट मिनेटमा हात धुन थालेका छन् । बाहिरी वस्तु छोएपछि अनिवार्य हात धुने भन्ने सन्देश पुग्नुपर्ने हो ।
यो यो लक्षण देखिएमा कोरोना हुनसक्छ भन्ने सन्देश प्रवाह हुनु ठीक हो । साथै, यो यो लक्षण देखिएमा कोरोना होइन भन्ने सन्देश पनि उत्तिकै प्रवाह हुनु जरुरी छ । मानिसहरूमा भ्रम पार्न सक्ने र मानिसहरूमा देखिने बढी सम्भावना भएका लक्षणलाई लक्षित गरी कोरोनाका लक्षण होइनन् भनेर बुझाउनुपर्छ । मानिसहरूलाई कुनै पनि कुरा बझाउन “के हो भन्दा के होइन” बाट सहज हुने गर्छ । सन्देश र समाचारहरूबाट त्रास यस्तो फैलिएको छ कि टोल छिमेकमा कोही बिरामी परे भने अस्पताल पु¥याउने सहयोगी नै नपाइएला भन्ने डर छ । कोरोनाको शंका लागेको बिरामीलाई यस्तो विधि अपनाएर अस्पताल पु¥याउनुपर्छ भन्ने सन्देश दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्