बल्दैनन् सौर्य बत्ती

इलाम बजार क्षेत्रभित्र जडान गरिएका सोलार (सडक) बत्तीहरू बल्न छोडेका छन् । सौर्य बत्ती जडान गरिएको छ महिना पनि नबित्दै रातको समयमा बत्ती बल्न छाडेको हो ।
सघन सहरी विकास कार्यक्रम अन्तर्गत इलाम नगरपालिका कार्यालयको समन्वयमा सहरी विकास कार्यालयले सौर्य बत्ती जडान गरेको थियो । पोल खरिद र बत्ती जडानसहित सम्पूर्ण कामको जिम्मा सिप्रदी इनर्जीले पाएको थियो । यसका लागि भ्याटसहित एक करोड ८९ लाख ३२ हजार पाँच सय रुपैयाँ खर्च भएको थियो ।
बत्ती जडान गरिएको छ महिना नबित्तै मिलिक–मिलिक चम्किने, केही ठाउँमा नबल्ने समस्या आएको स्थानीय बताउँछन् ।
बत्ती नहुँदा रातको समयमा नियमित आवातजावत गर्न समस्या भएको इलाम नगरपालिका ७ टुँडिखेलका स्थानीयवासी दीपेन्द्र चापागाईंकोे गुनासो छ ।
सडकमा हिँड्ने यात्रुहरूलाई अनियमित रूपमा बिजुली बत्ती चम्किँदा आँखामा समस्या हुने र सवारी चालकलाई बत्ती चम्किएका कारण सवारी चलाउँदा असर पर्ने गरेको उनीहरूको भनाइ छ । बत्तीले सडकमा एकनासले उज्यालो नदिएपछि त्यहाँ हिंडडुल गर्दा दुर्घटनाको जोखिम बढेको छ ।
स्थानीय दीपेन्द्र चापागाईँ भन्छन्,– “सोलार बत्ती जडान गरिएको दुई, तीन महिना मज्जाले बल्यो, तर त्यसपछि बिग्रिएर उज्यालो दिन सकेको छैन, त्यसैले चाँडो भन्दा चाँडो सोलार बत्तीको मर्मत गर्न सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।”
सोलर बत्तीमा आएको समस्याका कारणले नगरवासीको आँखामा समेत गम्भीर असर पर्न थालेको गुनासो आउन थालेको छ । बत्तीको मर्मतसंभार गर्न सरोकारवालाले चासो नदेखाएको बजारवासीको भनाइ छ ।
इलाम नगरपालिका साबिक वडा नम्बर १, २, र ३ स्थित बजार क्षेत्रमा सोलार बत्ती जडान गरिएको छ । यता डिभिजन सहरी कार्यालय इलामले के कारणले कुन बत्तीमा समस्या भएको हो, पोल नम्बरसहित कार्यालयमा जानकारी गराउन भनेको छ । बत्तीबाट समस्या उत्पन्न भएको गुनासो आएपछि कार्यालयले यस्तो सूचना जारी गरेको हो । समस्या आएको बत्ती मर्मत गर्ने समेत कार्यालयले बताएको छ ।