राष्ट्र बैंकको राहत : सावाँ र ब्याज तिर्ने समय थप «

राष्ट्र बैंकको राहत : सावाँ र ब्याज तिर्ने समय थप

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरूले साँवा र ब्याज असार मसान्तसम्ममा भुक्तानी गर्दा हुने भएको छ । विश्वभर सन्त्रास र संक्रमण फैलाइरहेको कोरोना भाइरस (कोभिड–१९) को असरबाट राहत दिन नेपाल राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै यस्तो सुबिधा दिएको हो ।
‘कोरोनाले गरेको असरका कारण बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले समयमै सावाँ ब्याज भुक्तानी गर्न नसक्ने अवस्था उत्पन्न भएपछि राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै चैत मसान्तभित्र असुल गर्नुपर्ने मासिक र त्रैमासिक किस्ताहरूको (क्रेडिट कार्डसमेत) भुक्तानी २०७७ असार मसान्तसम्ममा हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ । सो किस्ताको हकमा कुनै पनि किसिमको थप शुल्क वा हर्जना लिन नपाइने पनि राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ । किस्ता असुल नभएको कारणले कर्जालाई तल्लो वर्गमा वर्गीकरण गर्नुनपर्ने राष्ट्र बैंकले जनायो ।
तर, कसैले चैतमा किस्ता भुक्तानी गर्न आएमा उसलाई ब्याज रकममा १० प्रतिशत छुट दिने भन्दै राष्ट्र बैंकले छुट रकम आधार दरभन्दा तल नदिन पनि भनेको छ ।
“यस बैंकबाट स्वीकृतिप्राप्त २०७६ पुस वा चैत मसान्तसम्मका लागि ब्याज पुँजीकरण गरिएका ऋणीहरूको हकमा २०७७ असार मसान्तसम्मका लागि ब्याज पुँजीकरण गर्न सकिने छ,” राष्ट्र बैंकद्वारा आइतबार जारी परिपत्रमा लेखिएको छ । त्यसैगरी राष्ट्र बैंकले चैत मसान्तसम्ममा नवीकरण नभएको कर्जालाई सूक्ष्म निगरानीमा राख्न नपाइने व्यवस्था पनि गरेको छ । त्यस्तै, चैत मसान्तसम्ममा भुक्तानी अवधि तोकिएको सबै प्रकारका चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाहरूको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने परिपत्रमा उल्लेख छ ।

राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गरेर प्याकेज ल्याएको हो । सो प्याकेजमा बैंकबाट ऋण लिएका व्यक्तिहरूले ऋणको किस्ता आगामी असार मसान्तभित्र तिरे हुने भएको छ ।
साथै, कोरोनाको त्रासमा परेको अर्थतन्त्रलाई राहत दिन राष्ट्र बैंकले पुनर्कर्जा कोषको रकम १० अर्ब रुपैयाँले बढाउँदै ६० अर्ब पु-याइएको छ भने चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाको भुक्तानी अवधि पनि दुई महिनालाई थप गरेको छ । अर्थतन्त्रमा समस्या पर्न थालेपछि राष्ट्र बैंकले बैंक तथ वित्तीय संस्थाको अनिवार्यता तरलता अनुपात (सीआरआर) पनि घटाएको छ । राष्ट्र बैंकले सीआरआर एक प्रतिशत बिन्दुले घटाएर ३ प्रतिशत कायम गरेको छ । निर्देशनका अनुसार बैंक दर पनि ५ प्रतिशतमा झारिएको छ । ६ प्रतिशतको बैंक दरलाई राष्ट्र बैंकले ५ प्रतिशतमा झारेको हो ।

प्रतिक्रिया दिनुहोस्