सहकारीको सेवा सञ्चालन गर्न निर्देशन «

सहकारीको सेवा सञ्चालन गर्न निर्देशन

सहकारी विभागले सहकारी संघ–संस्थाहरूलाई नियमित रूपमा सेवा दिन निर्देशन दिएको छ । आइतबार ६ बुँदे निर्देशन जारी गर्दै स्थानीय प्रशासनसँग समन्वय गर्दै सबै प्रकृतिका खाताहरू सञ्चालन गर्न भनेको हो ।
सरकारले लकडाउन घोषणा गरेसँगै एक सातायता सहकारी संस्थाहरूले कारोबार बन्द गरेका छन् । कारोबार बन्द भएपछि सहकारीबाट सेवा लिने सर्वसाधारण भने वित्तीय सेवाबाट बञ्चित भएका छन् ।
यसअघि अर्थमन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय वित्तीय समन्वय समितिले बैंकिङ, बिमा, धितोपत्र, कम्पनी कार्यालय र बचत तथा ऋण सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार विभागले छुट्टै निर्देशन जारी गरेर सेवा सञ्चालन गर्न भनेको हो ।
संस्थामा तरलता व्यवस्थापन गर्दै सदस्यहरूको जिवन निर्वाहका लागि भुक्तानी तथा कर्जा प्रवाह गर्न विभागले भनेको छ । यसैगरी उत्पादन र उपभोक्ता सहकारीहरूले उत्पादित सामग्रीको सहज वितरणको व्यवस्था मिलाउन, स्थानीय स्तरमा सचेतना फैलाउन र बिमारीलाई अस्पताल पु¥याउनसमेत सहजीकरण गर्न विभागले निर्देशन दिएको छ ।
आइतबारबाटै सहकारीलाई होलसेलमा वित्तीय सेवा दिने राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले आइतबारबाट सेवा सुरु गरेका छन् । यसैगरी केही बचत तथा ऋण सहकारीहरूले सदस्यलाई आवश्यक्ताका आधारमा सेवा दिन थालेका छन् । यस्तै कृषि सहकारीहरूले दैनिक उपभोग्य सामानहरूको बिक्रीमा समेत सहजीकरण गर्न थालेका छन् ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बैंकले केन्द्रीय कार्यालयका साथै प्रादेशिक कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिए । “बिहीबारदेखि नै केन्द्रीय कार्यालय आंशिक समय सञ्चालन गर्दै आएका थियौं, उनले भने, आइतबारबाट भने प्रादेशिक कार्यालयहरूबाट समेत सेवा सुरु गरिएको छ ।”
यसैगरी नेफ्स्कुनले पनि अत्यावश्यक अवस्थामा संस्थालाई सहयोग गर्ने जनाएको छ । नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले आवश्यक पर्ने संस्थालाई रकम उपलब्ध गराउने बताए । “हाम्रो भल्टको क्षमताअनुसार नगद व्यवस्थापन गरेका छौं उनले भने, “अत्यावश्यक पर्ने सदस्य संस्थालाई रकम उपलब्ध गराउछौं ।”
बैंकिङ सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयहरूले बैंकहरूलाई पास वितरण गरे पनि सहकारीहरूलाई भने नदिएको र वाणिज्य बैंकहरूले नगद नदिँदा संस्था सञ्चालन गर्न अप्ठेरो भएको सहकारीकर्मीले गुनासो गरेका छन् ।
बैंकहरूले ग्राहकलाई विद्युतीय कारोबारमा प्रोत्साहन गर्दै आएका छन् । तर, एकाध सहकारीमा मात्र एटीएम, मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएका छन् ।
भौतिक रूपमा नगदै कारोबार गर्ने सहकारीहरूले सेवा सञ्चालन नगर्दा सहकारीका सदस्यहरू अत्यावश्यक कामका लागि समेत नगद निकाल्न पाएका छैनन् । हाल देशभर ३५ हजार सहकारीमध्ये ६० प्रतिशतले वित्तीय सेवा दिँदै आएका छन् । वित्तीय क्षेत्रमा सहकारीको हिस्सा २५ प्रतिशत छ ।

 

प्रतिक्रिया दिनुहोस्