लकडाउनले घट्यो वायु प्रदूषण «

लकडाउनले घट्यो वायु प्रदूषण

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि एक सातादेखि सरकारले लागू गरेको लकडाउनका कारण काठमाडौं उपत्यकाको वायुको अवस्थामा उल्लेख्य सुधार देखिएको छ । काठमाडौं उपत्यकालगायत विश्वभर नै वायु प्रदूषण घट्दै गइरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन निर्देशन दिँदै सरकारले गरेको लकडाउनका कारण उद्योग, कलकारखाना, जहाज, सवारीसाधन सञ्चालन भएका छैनन् भने निर्माणका काम पनि ठप्प छन् । आम मानिसको आवतजावतमा समेत कमी आएकाले वायु प्रदूषणको मात्रा पनि घटेको हो ।
लकडाउन घोषणासँगै अत्यावश्यक काममा प्रयोग गरिने सवारीसाधन बाहेक लामो तथा छाटो दूरीका सबै सवारीसाधन सञ्चालनमा छैनन् । उपत्यकामा वायु प्रदुषण गराउने मुख्य तत्वको रुपमा सवारीसाधनलाई लिने गरिन्छ । उद्योग कलकारखानाले पनि वायु प्रदुषण गराइरहेका छन् ।
वातावरणविद् भुषण तुलाधारले अहिले काठमाडौंको वायुको गुणस्तरमा निकै सुधार आएको बताए । लकडाउनको बेला गाडीहरू नचलेको र प्राकृतिक कारण अर्थात् शुक्रबार पानीसमेत परेकोले सुधार आएको उनको भनाइ छ । शुक्रवारदेखि नै पश्चिमी वायुले प्रदूषणलाई उपत्यकाबाट बाहिर लगेकोले पनि प्रदूषण कम देखिएको उनको भनाइ छ । “हिजो (शनिबार) दिउँसो ३ बजे काठमाडौंको फोहोरा दरबारमा पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रति घनमिटरमा पुगेको थियो । यो भनेको काठमाडौंको वर्षभरीको औसत वायु प्रदूषणभन्दा करिब १० गुना कम हो र विश्व स्वस्थ संघको मापदण्डभन्दा आधा जति हो,” उनले थपे , “गएको २४ घण्टाको औसत पीएम २.५ भने २९ माइक्रोग्राम प्रति घनमिटर थियो, जुन विश्व स्वस्थ संघको मापदण्डभन्दा अझै केही बढी हो तर वर्षभरीको औसतभन्दा आधा नै हो र गत वर्ष मार्च माहिनामा औसत पीएम २.५ को मात्रा ६६ थियो ।”
काठमाडौंबाहेक संसारका अन्य सहरहरूमा पनि उल्लेख्य सुधार छ । भारतको राजधानी दिल्लीजस्तो प्रदूषित सहर पनि अहिले निकै सफा रहेको तुलाधारले बताए । भारतमा पनि २१ दिनका लागि लकडाउन गरिएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा वायु प्रदूषण सम्बन्धमा गरेको एक अनुसन्धानले काठमाडौं उपत्यकामा ५ गुणाले वायु प्रदुषण बढेको देखाएको थियो । नेपाल सरकारको वातावरण संरक्षण नियमावली, ०५४ ले तयार पारेको वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्डले ०६९ ले पीएम् २.५ को मापदण्ड ४९ माइक्रोन प्रति घनमिटर कायम गरेको छ । सामान्यतया पीएम् २.५ भनेको धेरै सूक्ष्म कण हो । जसको ब्यास २.५ माइक्रोनभन्दा कम हुन्छ । यस्ता धुलोका कण मानव स्वास्थ्यको दृष्टिकोणले सबैभन्दा हानिकारक मानिन्छन् । यी कणहरू श्वासप्रश्वास नली हुँदै फोक्सोसम्म पुग्न सक्छन् । फोक्सोबाट रक्तसञ्चार प्रणालीको माध्यमबाट शरीरको विभिन्न भागमा फैलिएर मुटु फोक्सो, तथा अन्य स्वास्प्रश्वाससम्बन्धी रोग निम्त्याउनुका साथै अन्य संक्रमण पनि गराउने विज्ञहरू बताउँछन् ।
तथ्यांकअनुसार वायु प्रदूषणका कारण विभिन्न रोगबाट नेपालमा प्रत्येक वर्ष करिब १० हजार मानिसले ज्यान गुमाउने गरेको पाइएको छ । विश्व बैंक र रिसर्च इन्स्टिच्युट (आइएचएमई) ले सन् २०१६ मा गरेको एक अध्ययनअनुसार वायु प्रदूषणकै कारण नेपालमा बर्सेनि २२ हजारभन्दा बढीको मृत्यु हुने गरेको उल्लेख गरिएको छ भने कुल गार्हस्थ्य उत्पादनको ४.७ प्रतिशत नोक्सान भइरहेको बताइएको छ । काठमाडौं उपत्यकामा मात्र झण्डै ७२ प्रतिशत मुटुको समस्या वायु प्रदुषणकै कारण हुने गरेको पाइएको छ । प्रदूषणका कारण मुटु रोगबाहेक १४ प्रतिशत दमका रोगी दमका रोगी, फोक्सोको क्यान्सर १४ प्रतिशत बढेको पाइएको हो । वायु प्रदुषणले दमखोकीका बिरामीको अस्पताल भर्ना हुने दरमा १.३ प्रतिशत, निमोनियाबाट भर्ना हुनेमा ३.४ प्रतिशत बढेको छ भने श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु हुने दर ३.६ प्रतिशतले बढेको अनुसन्धानबाट देखिएको छ ।

कार्बन उत्सर्जनमा पनि कटौती
कोरोना नियन्त्रणका लागि हवाई उडान पनि कम भएकाले कार्बन उत्सर्जनसमेत कम भइरहेको जनाइएको छ । “विश्वभर कति मात्रामा कार्बन उत्सर्जन कम भइरहेको छ भन्ने तथ्यांक आएको त छैन तर तीन महिनामा चीनमा १ सय मिलियन टन कार्बनडाइअक्साइड इकोभ्यालेन्ट कम भएको तथ्यांकले देखाएको छ,” जलवायु परिवर्तनविद् युगान मानन्धर भन्छन्, “वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढाउनमा हवाइजहाज, उद्योग कलखारखाना, तथा अन्य वातावरणीय प्रदुषणको भूमिका हुन्छ, कोरोना भाइरसका कारण वातावरणीय प्रदुषण कम भएको छ ।” उनका अनुसार यसले गर्दा विश्वभर कार्बनडाइअक्साइडको मात्रा कम भएको छ । विश्वमा जलवायु परिवर्तन गराउने मुख्य तत्व कार्बनडाइअक्साइडलाई मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्