जंगली हात्तीले घर भत्कायो «

जंगली हात्तीले घर भत्कायो

सिन्धुलीको कमलामाई नगरपालिकाका स्थानीय बासिन्दाहरू जंगली हात्तीको आक्रमणबाट त्रसित भएका छन् । हात्तीले कनपा ८ हात्तिसारका आधा दर्जन घर भत्काएपछि स्थानीयमा त्रास बढेको हो ।
सदरमुकाम सिन्धुलीमाढीको राजपानी जंगलबाट ग्वाङखोला हुँदै फर्किएका पाँच वटा जंगली हात्तीको समूहले हात्तिसारमा पुगेर घर भत्काउनुका साथै अन्नपातसमेत नष्ट गरेको प्रहरीले जनाएको छ ।
शुक्रवार बिहानीपख सदरमुकाम सिन्धुलीमाढीस्थित धुरा बजार पुल नजिकै खोलामा एकै साथ देखापरेको हात्तीको समूह लब्दाह खोला हुँदै राजपानी जंगलमा पुगेर दिनभरि बसेका थिए ।
ती हात्ती फर्किने क्रममा हात्तिसारमा पुगेर सो वडाका स्थानीय प्रेमबहादुर नेवार, खड्गबहादुर अधिकारी, कृष्णमाया आले, मुकुन्द श्रेष्ठ, गोपालबहादुर श्रेष्ठ र अर्जुन बिकको घर भत्काई अन्नबाली नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यसअघि सोही वडाको सिस्नेरीमा पनि दुईवटा घर भत्काएको थियो । गत फागुन २३ गते ३ वटा जंगली हात्तीले स्थानीय अशोक माझी र दिलकुमार मगरको घर भत्काउनुका साथै धान, मकैलगायतका अन्नपात खाई हात्ती जंगल पसेको थियो ।
जिल्लामा हात्तीले वितण्डा मच्चाउन थालेपछि जिल्ला प्रशासन कार्यालयले अन्य संघसंस्थासँगको समन्वयमा हात्ती नियन्त्रणका लागि प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । “हात्ती धपाउन हम्मे–हम्मे परेको छ,” उनले भने, “अहिले हात्ती भिमान वरिपरिको जंगलमा बसेको छ । सकेसम्म हात्तीलाई जिल्लाबाट धपाउन पाए हुन्थ्यो ।” हात्ती धपाउन अन्य उपाय नभएकाले आफू सुरक्षित बस्नुको विकल्प पनि नरहेको उनको भनाइ छ ।
हात्तीसँग सुरक्षाकर्मी, वनका कर्मचारीलगायतको टोली पछि लागेर हात्तीको निगरानी गरिरहेको साथै माइकिङ र साइरन बजाएर सर्वसाधारणलाई सजग गराउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए । उनले हात्ती आफ्नै सुरमा हिंडेको भन्दै हात्तीलाई नजिस्काउन, नचलाउन र सतर्क रहन जिल्लावासीलाई आग्रह समेत गरे ।
विगतका वर्षहरूमा जिल्लाको कमलाखोंच क्षेत्रका दर्जनौँ गाविसका स्थानीयहरू हात्तीको आक्रमणमा पर्ने गरेका भए पनि यस वर्ष सिन्धुलीमाढीमा समेत हात्ती प्रवेश गरेको हो । कमलाखोंच क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट झन्डै आधा दर्जन मानिसले ज्यान गुमाइसकेका छन् ।

स्थानीयहरू रातभर जाग्राम
कमलामाई नगरपालिका वडा नम्बर ८, ९ र १० नम्बर क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन् । केही दिनयता सो वडाहरूमा पालैपालो हात्ती गाउँ पसेर वितण्डा मच्चाउन थालेपछि सो क्षेत्रका स्थानीय बासिन्दा जाग्राम बस्न बाध्य भएका हुन् । केही दिनअघि मात्रै सिन्धुली प्रवेश गरेको हात्ती वडा नम्बर ८ मा पसी ८ वटा घर भत्काइदिएपछि त्रासका साथ रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको कनपा ८ की स्थानीय गोमा श्रेष्ठले बताइन् ।
आहाराका लागि बस्ती पस्ने गरेको हात्तीले कनपा ८ का सिस्नेरी र हात्तीसार क्षेत्रका बस्तीमा बिहानीपख वितण्डा मच्चाउने गरेको छ । सो क्षेत्रमा हात्तीले घर भत्काउने, बालीनाली नष्ट गर्ने, घरका खाद्यान्न खाइदिनेलगायतका वितण्डा मच्चाउँदै आएको स्थानीय बासिन्दाले बताएका छन् ।
हात्ती जिल्लाको कनपा ८, ९ र १० आसपासमा जंगलमा रातभर बस्ने र बिहानीपख गाउँ पस्ने गरेको स्थानीयहरूले बताएका छन् ।

कृञ्जला पुलामी

प्रतिक्रिया दिनुहोस्