नेपालगन्जका भित्री सडक निर्माण सुरु «

नेपालगन्जका भित्री सडक निर्माण सुरु

नेपालगन्जका भित्री सडक र नालाहरूको निर्माण कार्य सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्रका सडक तथा ढल-नाला निर्माणको ठेक्का पाएको कालिका जेडीटएसजे जेभीले सम्झौता लगत्तै काम समेत अगाडि बढाएको छ ।
यसअघि राँझा–कोहलपुर सडक खण्ड निर्माण गरेको कालिकाले निर्धारित समय अगावै काम सकेकाले अब पनि समयमै काम पुरा हुनेमा उपमहानगरपालिका विश्वस्त रहेको उपमहानगरपालिकाले जनाएको छ ।
एशियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले सहरी विकास आयोजना, परियोजना कार्यान्वयन इकाइ अन्तर्गत सडक तथा नाला निर्माणको काम गरिरहेको छ । १ अर्ब ४४ करोड ७१ लाख ६६ हजार ४ सय ६५ रूपैयाँ लागतमा ३० महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने गरी सम्झौता भएको परियोजनाका इन्जिनियर शैलेन्द्र महर्जनले जानकारी दिएका छन् ।
‘७ सय मिटरदेखि ३ हजार मिटरसम्मका ४१ वटा सडकहरू निर्माण हुँदैछ’, इन्जिनियर महर्जनले भने, ‘कुल ३६ किलोमिटर सडक निर्माणका लागि सम्झौता भएको हो ।’ अब बन्ने सडकहरू ६ मिटर देखि १६ मिटर सम्मको चौडा हुने महर्जनले जानकारी दिए ।
सडकका दुवैतर्फ ढल तथा नाला समेत निर्माण हुनेछन् । सडकको चौडाई अनुसार नाला बनाउने उपमहानगरपालिकाले जनाएको छ । ‘उपमहानगरपालिका भित्र ४० किलोमिटर नाला बन्नेछन्’, इन्जिनियर महर्जनले भने ।
उपमहानगरपालिकाको तर्फवाट प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र कालिकाको तर्फवाट निर्देशक युवराज क्षेत्रीबीच सडक तथा नाला निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
परियोजनाले सम्पूर्ण प्रक्रिया एवं मुल्यांकन गर्दै ठेकेदार कम्पनी छनौट गरेको आयोजना प्रमुख सुनिल ठाकुरले बताएका छन् ।
रामलिला बुललिया मार्ग, अशोक मार्ग, समशानघाट रोडमा बाटो सम्याउने काम सुरु भैसकेको छ । ‘सडक सबैका लागि हो र यसका लागि आवश्यक क्षेत्रफल छुट्याउन स्थानीयबासीले पूर्ण सहयोग गर्नुपर्छ’, इन्जिनियर महर्जनले भने, ‘जनप्रतिनिधि समेत आएकाले सडक क्षेत्रफल खाली गर्न थप सहज भएको छ ।’
सडक तथा नाला निर्माणका लागि उपमहानगरपालिकाले सडक क्षेत्रफल सहित उल्लेख गरेर उक्त क्षेत्रमा रहेका भौतिक संरचना, पर्खाल र घर भत्काउन २०७४ बैशाख १५ गते नै सूचना जारी गरेको थियो । ‘सडक क्षेत्रफलका लागि चिन्ह लगाउने काम पहिल्यै भैसकेको छ’, इन्जिनियर महर्जनले भने, ‘कतिपयले आवश्यक क्षेत्रफल छाडिपनि सक्नुभएको छ ।’
परियोजनामा अन्तर्गत सदरलाइनको बाटो पनि रहेको छ । ‘सदरलाइन १४ मिटरको बन्नेछ, घरधनीले घर फोडीसकेकोले अब केही दिनमै त्यहाँ पनि काम सुरु हन्छ’, इन्जिनियर महर्जनले भने, ‘त्यसका लागि हामीले सहजीकरण पनि गरिराखेका छौं ।’ त्रिवेणीमोडदेखि चारबाहिनीसम्म रहेको उक्त सडकको बाँकी खण्ड त्रिभुवन चोकदेखि त्रिवेणीमोडसम्मको सडकखण्ड पनि ३० महिने अवधी भित्र बनिसक्नेछ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले समयमै गुणस्तरीय काम सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । विद्यतु, खानेपानी, टेलीकमका संरचना स्वयं व्यवस्थित गर्नका लागि सम्वन्धित पक्षलाई पत्राचार गरेको उपमहानगरपालिकाले सुरक्षा अधिकारी, राजनीतिक दल लगायतसँग समन्वय गर्दै सबैसँग सहयोगको अपिल गरेको छ ।
परियोजनाअन्तर्गत तत्कालीन वडा नं. १६ को विपीचोक पथ ९ मिटर, चारवाहिनीदेखि नगरभवन सम्म १५ मिटर, रंगशालादेखि अस्पतालसम्मको रोड १५ मिटर, अशोक मार्ग १० मिटर, रानीतलाउ देखि त्रिभुवनचोकसम्म १० देखि १६ मिटरसम्म, शितल नगर रोड ८ मिटर, श्रृष्टि सिनेमा हल रोड ६ मिटर, कस्तुरीमार्गदेखि भेरी प्राविधिक शिक्षालयसम्मको रोड ८ मिटरको बन्नेछ ।
आइएनएफ मार्ग १० मिटर, समशानघाटदेखि रानीतलाउसम्म १० मिटर, भेरी अञ्चल अस्पतालदेखि रामलिला मैदानसम्मको बाटो १० मिटर, तत्कालीन वडा नं. १ को वाटर पार्क रोड ८ मिटर, घरबारीटोल देखि नागरिक चोकसम्म ८ मिटर, तत्कालीन वडा नं. २ र ३ घरबारीटोलदेखि त्रिवेणीमोडसम्मको बाटो १० मिटर बन्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्