वीरगन्जका मेयर घरघरमा पुगेर उपभोग्य सामग्री वितरण «

वीरगन्जका मेयर घरघरमा पुगेर उपभोग्य सामग्री वितरण

वीरगन्ज-कोरोना भाइरसको विश्वव्यापी महामारीको रोकथाम र नियन्त्रणका नेपालले गरेको लकडाउनको पाँचौ दिन वीरगन्ज महानगरपालिककाका मेयर विजयकुमार सरावगीले गरिब तथा असहायहरुलाई उपभोग्य सामग्री वितरण गरेका छन् । दैनिक ज्यालादारी गरी जिविका चलाउने विपन्न परिवारलाई लकडाउनले बिहान बेलुका खान समेत समस्या भएपछि वीरगन्ज महानगरपालिकाले आर्थिक सहयोगको अभियान सुरु गरेको हो ।
नगरप्रमुख सरावगीले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको घरमै पुगेर शनिबार दैनिक उपभोग्य सामग्री वितरण गरेका छन् । कोरोना भाइरस संक्रमणको गम्भीरतालाई हेर्दै सरकारले लगाएको लकडाउनको कारण दैनिक जिवत बिताउन कठिन भएपछि खाद्य सामग्री वितरण गर्ने अभियान सुरु गरिएको हो । दिनभरि कम गरेर परिवार चलाउने, रिक्सा चालक, ठेला चालक, दैनिक ज्यालादारी गरी कमाउनेलगायत निम्न वर्गका परिवारलाई खाद्य सामग्रीका पोका बनाएर घरघरै पुगेर मेयर सरावगीले वितरण गरेका छन् । शनिबार बिहान वडा– ३ र १२ मा पुगेर २ सय ५० व्यक्तिलाई दैनिक उपभोग्य खाद्य सामग्री वितरण गरेको वीरगन्ज महानगरपालिकाका मेयर सरावगीले बताए ।
चामल, दाल, नुन, आलु, चाउचाउ, विस्कुट लगायतका दैनिक उपभोग्य सामग्रीहरुको पकेट बनाएर नै बितरण गरिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका ३२ वटै वडाहरुमा उक्त अभियान चलाउने बताउँदै पहिलो चरणमा खाद्य सामग्रीहरुको १० हजार ५ सय प्याकेट तयार गरी वितरण अभियान सुरु गरिएको सरावगीको भनाई छ । आवश्यकता अनुसार अभियानलाई निरन्तरता दिने मेयर सरावगीले बताए । लकडाउनका कारण यातायातका साधन नचल्दा वीरगन्ज महानगरपालिका भित्र अलपत्र परेकाहरुलाई शुक्रबार पनि मेयर सरावगीले राहत सामग्री वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्