बगर खेती गर्दै राना समुदाय «

बगर खेती गर्दै राना समुदाय

महेन्द्रनगर-कञ्चनपुरको सदरमुकामबाट पुर्वी क्षेत्र कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाको सिमानामा बग्ने बनहरा नदीको वरिपरी चैत अन्तिम र वैशाख महिनाको सुरु तिर बगरको हरियो सुन्दरदृष्य देखिन्छ । यसको उउटै कारण हो विगत ५ वर्ष देखि राना समुदायले गर्दै आएको बगरखेती ।
कृष्णपुर नगरपालिका–२ स्थित बंकमा बस्ने नन्दलाल राना विगत पाँच वर्ष देखि बनहरा नदी किनारमा बगर क्षेत्रमा तरकारी खेती गरेर बगरलाई नै हराभरा बनाउनमा लागिपरेका छन् । हिउँदे याममा रानाले पुसदेखि जेठसम्म नदी किनारको बालुवामा तरकारी खेती गर्दै मनग्य आम्दानी गर्न सफल भएका छन् ।
“पुस महिना पछि बगर खेती गर्न नदीको किनारमा लगाएको तरकारी खेतीले राम्रो प्रतिफल दिने गर्दछ ।” नन्दलाल रानाले भने, “५ वर्षको बगर खेतीले परिवारको जिवनशैली नै परिवर्तन भएको छ, छोराछोरीको विवाहदेखि राजमार्ग किनारमा एउटा घडेरी किन्नसमेत सफल भएको छु ।”
विगतका वर्षहरुमा रानाले बगर खेतीकै आम्दानी बाटै जेठा छोरा र माइली छोरीको विहे गरेर पूर्वपश्चिम राजमार्गको छेउमै आधा कट्टाको घरेडीसम्म जोडेका छन् । रानाले हरेक वर्ष बगरमा विभिन्न प्रकारका तरकारीहरुको खेती गरिरहेका छन् ।
“पुष माघको महिना नदीको पानी थोरै हुन थालेपछि खेतीका लागि बालुवा खन्दै नालीहरु बनाउन सुरु गरिन्छ ।” रानाले भने, “त्यसमा माटो र गाई गोरुको मल हालेपछि बालुवामा उर्वराशक्ति सिर्जना गर्दछ, मल र माटो मिल्न थालेपछि मात्र बीउ छर्कन समय हुन्छ ।”
विरुवा ठूलो हुन थालेपछि त्यसमा सहाराका लागि स–साना थाँक्राहरु राखिदिने र विस्तारै तरकारीका लहराहरु फैलिएपछि फल लाग्न सुरु हुने गर्दछ । त्यसले बगर क्षेत्र पनि हरियो बन्ने गरेको छ । नन्दलाल रानाले सुरुमा भारतबाट नेपाल आएर बगरखेती गर्ने मुस्लिमबाट बगर खेती गर्न सिकेको बताए ।
“सुरुमा भारतबाट मुस्लिमहरु आएर खेतमा बगर खेती गर्ने गरेका थिए मैले उनीहरुबाटै हेरेर यो काम सिकेको हु, म सँग जमिन पनि छैन, यसले हिउँदमा यसै बगरमा ४ कट्ठा जति क्षेत्रफलमा तरकारी खेती गर्छु अनि यसैले घरपरिवार चलाई रहेको छु ।” नन्दलालले भने ।
उनले बगर खेतीकै भरमा ५ जनाको परिवार पालेका छन् । आजभोली बुहारीबाहेक सबै परिवार नै बगर खेतीमा लाग्ने गरेको उनले बताए । “एक वर्षमा सबै गरेर ३५ हजारको लगानीमा ४ कट्ठा बगरको जमिनमा तरकारी खेती गरिन्छ ।, ३० हजारको लगानीले वर्ष भरिमा करिब २ देखि ३ लाखसम्मको आम्दानी हुन्छ ।” रानाले भने ।
बगर खेतीमा थोरै मात्र लगानी लाग्ने र मनग्य आम्दानी आउने भएकोले पछिल्लो समय यहाँका राना समुदाय नै बगरखेती गरिरहेका छन् । बनहरा नदीको पारी पुर्वतिर कृष्णपुर नगरपालिकाका राना समुदाय बगर खेती गर्छन् भने नदी वारी पश्चिमतर्फ शुक्लाफाँटा नगरपालिकाका राना समुदायले बगर खेती गर्दै आएका छन् ।
बनहरा नदिमा बगर खेती गरिरहेका नन्दलाल राना एक प्रतिनिधि पात्र हुन्, उनी जस्तै उक्त नदिमा करिब ५०-५५ जनाले बगर खेती गरिरहेका छन् । यस्तै शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरका प्रेमलाल रानाले पनि बगरमा करिब ५ कट्ठा जमिनमा बगरखेती गरिरहेका छन् । रानाले बगर खेतीबाटै छोराछोरीदेखि छोराछोरीको घरखर्च चलाइरहेका छन् ।
“४ वर्ष अघि आफ्नै पेट पाल्न समेत धौ–धौ हुन्थ्यो ।”प्रेमलाल रानाले भने, “पहिले र अहिलेको परिवारको अवस्थामा निकै सुधार भएको छ, छोराछोरीदेखि नातिनातिनासम्मको घरखर्च चलाउन बगर खेतीकै आम्दानीले निकै सहज भएको छ ।”
बगर खेतीबाट उत्पादिन तरकारीलाई उनले स्थानीय बजार झलारी र बंक कलुवापुर तथा गुलरियासम्म र बढी भएको समयमा महेन्द्रनगर र अत्तरियासम्म बेच्न लैजाने गरेको बताए । उनले हाल बगर खेतीमा विभिन्न प्रकारका तरकारीहरु लगाएका छन् । लौका र तरभुजा उल्लेख्य मात्रामा फल्ने गरेको रानाले बताए ।
उनले हाल लौका, व्याज, तरभुजा, मुला, खुर्सानी, फर्सीलगायतका तरकारीका बेर्नाहरु उमारी सकेका छन् । हाल लौका, व्याज, तरभुजा, मुला, खुर्सानी, फर्सी आदिका बेर्नाहरु पलाएका छन् तिनबाट चैत अन्तिम तथा वैशाख पहिलो हप्तासम्म फल लाग्न थाल्ने रानाले बताए ।
अरु खेती भन्दा पनि बगर खेती गर्न सजिलो हुने रानाको भनाई छ । उनले बगर खेती गर्दा छाडा गाईगोरुले समस्या पार्ने गरेको बताए । दिनभर बगरको खेतबारी मै व्यस्त हुने राना बेलुका मात्रै घर पुग्ने गर्छन् ।
यस्तै कृष्णपुर नगरपालिका–२ स्थित बंककी भज्जो देवी रानाले पनि बगर खेतीबाटै छोराछोरीको पढाई खर्च जुट्ने गरेको बताइन् । ४ कट्ठामा ३ वर्षयता उनले बगर खेती गर्दै आएकी छन् ।
“२० हजारको लगानीमा लौका, व्याज, तरभुजा, मुला, खुर्सानी, फर्सी लगायतका तरकारी बालीहरु लगाएकी छु, यसबाट वार्षिक रुपमा २ लाख रुपैयाँ सम्मकमाई हुन्छ ।” उनले भनिन्, ।

 चन्द्रकान्त जोशी

प्रतिक्रिया दिनुहोस्