Logo

चौदण्डीगढीमा आइसोलेसन, क्वारेन्टाइन र पीपीईको व्यवस्था

उदयपुरको चौदण्डीगढी नगरपालिकाले कोरोना भाइरस महामारीको सम्भावित संक्रमण नियन्त्रण गर्न सुविधासम्पन्न आइसोलेसन र क्वारेन्टाइन तयार गरेको छ । नगरपालिकाले उपचारमा संलग्न चिकित्सकका लागि ३० थान पीपीई पनि बितरण गरेको छ । नगरले हरेक वडामा स्थापना गरिएका क्वारेन्टाइनमा पीपीईसहितका स्वास्थ्यकर्मीले २४ सै घन्टा सेवा प्रदान गर्ने व्यवस्था समेत मिलाएको छ ।
“प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारका २ जना डाक्टर र अन्य स्वास्थ्यकर्मीे २४ घन्टा स्वास्थ्य सेवा प्रदान गर्ने गरी वडा नम्बर ७ को रामप्रसाद राई खेलमैदानको भवनमा ७ बेडको सुविधासम्पन्न आइसोलेसन तयार गरेका छौं,” नगरप्रमुख खगेन्द्र राईले भने, “सबै वडामा गरेर ३९ वटा वेड भएको क्वारेन्टाइन निर्माण गरेर स्वास्थ्यकर्मीको व्यवस्था गरेका छौं ।”
नगर क्षेत्रभित्र विदेशबाट आउनेहरुको लगत तयार गर्न थालेको र हालसम्म वडा नम्बर २, ३, ४ र ५ मा लगत तयार भइसकेको उनले बताए । जसमा विदेशबाट आएका ६ जना फेला परेपनि उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ । बाँकी ६ वटा वडामा पनि विदेशबाट आएकाहरुको विवरण संकलन गर्ने काम जारी छ ।
नगरपालिकाले गतबर्ष नै स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकारलाई टेकेर आफैले तलबको व्यवस्था गर्ने गरी एक मेडिकल डाक्टरसहित ५० स्वास्थ्यकर्मी भर्ना गरेको थियो । यहाँ सरकारी दरवन्दीका ३६ सहित हाल ८६ जना स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।
“स्वास्थ्यकर्मीलाई अस्पताल र आसपासका क्षेत्रमा बस्ने व्यवस्था मिलाएका छौं,” राई भन्छन्, “चारवटा एम्बुलेन्सलाई तयारी हातमा राखेका छौं ।” सम्भावित जोखिम न्यूनीकरणको लागि तयारी अवस्था रहेको उनले बताए ।
“अक्सिजनसहितको सुविधासम्पन्न आइसोलेसन तयार गरेपनि रोग पहिचान गर्ने किट्सको भने व्यवस्था गर्न सकिएको छैन” उनले भने, “किट्सको व्यवस्था हुनसके सम्भावित जोखिम न्यूनीकरणमा थप मद्दत हुने थियो ।”

प्रतिक्रिया दिनुहोस्