कोरोना कोषमा रकम जम्मा गर्ने बढ्दै «

कोरोना कोषमा रकम जम्मा गर्ने बढ्दै

सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषमा रकम जम्मा हुने क्रम जारी छ । शनिबार पनि विभिन्न व्यक्ति तथा संस्थाले कोषमा रकम जम्मा गर्ने घोषणा गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १५ दिनबराबरको तलब जम्मा गर्ने भएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार कोरोना भाइरसको विश्व महामारीको वर्तमान अवस्थामा कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग पु¥याउन आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे, आयुक्त डा गणेशराज जोशी र आयुक्त डा सावित्री थापा गुरुङले आफ्नो १५ दिन बराबरको तलब जम्मा गर्ने निर्णय गरेका छन् ।
उनीहरुले शुरु तलब स्केलको १५ दिनको तबल सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने निर्णय गरेको बताइएको छ । त्यस्तै आयोगमा कार्यरत सचिवलगायतका कर्मचारीको हकमा नेपाल सरकारको सचिव बैठकको निर्णयबमोजिम तलब कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

सभामुख र उपसभामुखले एक महिनाको तलब दिने
गण्डकी प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरेको उपचार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।
सभामुख नेत्रनाथ अधिकारी र उपसभामुख सिर्जना शर्माले सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा पारिश्रमिक जम्मा गर्न सचिवालयलाई निर्देशन दिएको उपसभामुख शर्माले जानकारी दिइन् ।
उनले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि सजग र सतर्क हुँदै सरकारी तथा निजी सबै क्षेत्रले आ–आफ्नो ठाउँबाट सरकारलाई सहयोग गर्न आग्रह गरिन् ।
त्यसैगरी गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा राजेन्द्र घिमिरे तथा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा भीमा ढुङ्गानाले पनि आफ्नो एक महिनाको पारिश्रमिक प्रदेश सरकारले स्थापना गरेको सो कोषमा प्रदान गर्ने भएका छन् ।
यस्तै गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा १५ दिनको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।
प्रदेश सरकारको बुधबार बसेको बैठकले कोरोना रोकथाम तथा व्यवस्थापन गर्न गण्डकी प्रदेशमा रु. १५ करोडको कोष स्थापना गर्ने घोषणासँगै सभापति कोइरालाले आफ्नो १५ दिनको तलब बराबर रु. २८ हजार ४२० सहयोग गर्ने घोषणा गरेका हुन् ।
जनताको सुखदुःखमा आफ्नो साथ रहने विश्वास व्यक्त गर्दै उहाँले कोही रोजगारी वा वैदेशिक यात्राबाट नेपाल फर्केको भए आफ्नै घरमा भए पनि १४ दिनसम्म सेल्फक्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन् ।

शिक्षकलाई एक दिनको तलब दिन आग्रह
नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षक र कर्मचारीलाई आफ्नो न्यूनतम एक दिन बराबरको तलब सुविधा दिन आह्वान गरेको छ ।
महासङ्घका अध्यक्ष बाबुराम थापाले सङ्कलित रकम सरकारलाई हस्तान्तरण गर्ने जनाउँदै कोरोना भाइरसबाट बच्न र बचाउन सबैमा आग्रह पनि गरे । उनले सरकारले जारी गरेको लकडाउनमा समर्थन जनाउन पनि आग्रह गरे ।

समाजवादीले १० लाख दिने
समाजवादी पार्टी नेपालले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट एकमुस्ट रु. १० लाख प्रदान गर्ने जनाएको छ ।
सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गरी पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिनाबराबरको तलब तथा पार्टी कार्यकर्ता तथा शुभेच्छुकको सहयोगसमेत गरी एकमुस्ट रु. १० लाख रकम दिने जनाए ।
अध्यक्ष यावदले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट प्राप्त सहयोगको सदुपयोगको प्रबन्ध मिलाउनसमेत र विशेष स्थितिमा उच्च सतर्कता अपनाउन चालु आर्थिक वर्षको राज्यको सञ्चित कोषबाट खर्च गर्न पनि आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्