Logo

कोरोना संक्रमितको उपचार गर्न हस्पिटल उपलब्ध गराउने घोषणा

झापा – पूर्वका दुई हस्पिटलले कोरोना संक्रमितको उपचारका लागि अस्पतालको सम्पूर्ण संरचना र जनशक्ति सरकारलाई उपलब्ध गराउने घोषणा गरेका छन् । देशकै सु्विधासम्पन्न हस्पिटलको रुपमा रहेको बिर्तामोड स्थित बिएण्डसी टिचिङ हस्पिटल र विराटनगरको नोबेल हस्पिटलले संरचना र जनशक्ति सरकारलाई उपलब्ध गराउने घोषणा गरेका हुन् ।
शुक्रबार बिएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईंले विज्ञप्ति जारी गर्दै निजी क्षेत्रले कोरोनाको उपचारको लागि आवश्यक सामान प्राप्त गर्न नसकेको भन्दै अस्पताल नै सरकारलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । हस्पिटलसँग कोरोना परीक्षणका लागि आवश्यक किट्स, स्वास्थ्यकर्मीलाई चाहिने ड्रेस, पीपीई र नभएको र सरकारको पहलमा मात्र किट्स खरिद गर्न सकिने भएकाले हस्पिटल नै सरकारलाई दिइने बताएका हुन् ।
बिएण्डसीको ८ सय नर्मल बेड, १ सय आइसियू कक्ष र २५ वटा भेन्टिलेटरसहितको आइसियू रहेको छ । हस्पिटलमा १०५ जना डाक्टर छन् । सरकारले यसलाई प्रयोग गर्न सक्ने प्रसाईँले बताए । हस्पिटलको मेचीनगर–१२ स्थित धाइजनमा बेसिक साइन्स पढाउनका लागि तयार गरिएको भवनमा समेत ५०० बेडको क्वारेन्टाइन बनाउन मिल्ने बताएका हुन् । कोरोना भाइरसको महामारी रोक्नका लागि बिएण्डसी हस्पिटलले राज्यलाई सहयोग गरेको जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । सरकारलाई हस्पिटल उपलब्ध गराउने विषयमा स्वास्थ्य मन्त्रालयलाई पत्र र विज्ञप्ति पठाईसकेको गिरीले जानकारी दिए ।
यसअघि नै विराटनगर स्थित नोबेल शिक्षण अस्पताललाई कोरोना भाइरस संक्रमित बिरामीको उपचार केन्द्र बनाउन सरकारलाई दिने घोषणा सञ्चालक डा.सुनिल शर्माले गरेका थिए । नोबेलमा ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैय्या छन् । नोबेलमा शैय्या थप गरी १ हजार शैय्यासम्म सञ्चालन गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्