पोखराको लेकसाइडमा ४ वटा रेस्टुराँले विदेशी पर्यटकलाई सेवा दिने «

पोखराको लेकसाइडमा ४ वटा रेस्टुराँले विदेशी पर्यटकलाई सेवा दिने

पोखरा-देशभर लकडाउन भएको अवस्थामा पोखरामा भएका विदेशी पर्यटकहरूलाई लक्षित गरी पोखरामा ४ वटा रेस्टुराँहरूले उनीहरूको लागि खाजा-खानाको व्यवस्था गर्ने भएका छन् । रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले लेकसाइडका ४ वटा रेस्टुराँलाई देशको विसम परिस्थितिमा हाल खुला गर्न आग्रह गरेअनुसार पर्यटकहरूका लागि ४ रेस्टुराँहरूले खाजा-खाना उपलब्ध गराउने भएका हुन् ।
पर्यटकीय नगरी पोखरामा रहेका पर्यटकलाई खाजा तथा खाना खुवाउन सुविधा होस् भनेर रेस्टुराँ खुलाउने निर्णय गरेको रेवान पोखराका प्रथम उपाध्यक्ष लक्षमण बरालले बताए । उनका अनुसार लेकसाइडको अम्बोटस्थित माउन्ट कैलाश रिसोर्ट, बाराही चोकस्थित मुनडान्स रेस्टुराँ, मुस्ताङ चोकस्थित ड्याडी किचन र गौरीघाटस्थित होटल ग्लासिएर एन्ड रेस्टुराँ छन् । पर्यटकलाई लक्षित गरी खुल्ने रेस्टुराँहरूमा सुपथ मूल्यमा पर्यटकले खाजा-खाना लिएर जान पाउने व्यवस्था गरिएको प्रथम उपाध्यक्ष बरालले बताए । रेवान पोखराले बुधबार प्रेसित विज्ञप्तिमा जिल्ला प्रशासनसँग अनुमति लिएर नै उक्त रेस्टुराँ खुलाएको उल्लेख गरिएको छ ।
यी रेस्टुराँ खुलेपछि पोखरामा रहेका पर्यटकलाई खानाका लागि समस्या नहुने बरालले बताए । होटलमा बस्ने गरेका पर्यटकलाई कुनै समस्या नभए पनि होस्टलमा बस्ने गरेका पर्यटकहरूलाई लकडाउनपछि खाना खान अप्ठेरो भएको थियो । होटल ग्लासिएरका सञ्चालक राजेन्द्र ढकालले आफ्नो रेस्टुराँमा आउने पर्यटकलाई निःशुल्क खाना दिने व्यवस्था मिलाएको बताए । उनले भने, “पर्यटकले ३ मिटर परबाट अडर गर्ने छन्, १० देखि मिनेट २० मिनेटसम्ममा तयार भएपछि लिएर जानुपर्ने छ, रेस्टुराँमा बसेर खाने व्यवस्था छैन ।” रेवान पोखराका सदस्य एवं माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईले पोखरासहित लेकसाइडमा हाल खान नपाएरै भोकभोकै पर्यटक हाल हिँड्नु पर्ने अवस्था नरहेको बताए । उनले भने, “देश अहिले लकडाउनको अवस्थामा छ, यहाँ भएका पर्यटकलाई सम्बन्धित होटलहरूले खानाको व्यवस्था गरेका छन्, यदि खाजाको समस्या भए हामीले अडर गरेपश्चात् ४-५ वटा मेनु मात्र तयार पाछौं ।” देशको विसम परिस्थितिमा होटल तथा रेस्टुराँको सेवा आवश्यक पर्ला भनेर आफूले केही कुकसहितका कर्मचारीलाई होटलमै व्यवस्था गरेर राखेको भट्टराईले जनाए । मुन डान्स रेस्टुराँका सञ्चालक दोर्जे लामाले केही दिनअघि पोखरामा रहेका केही विदेशी पर्यटकलाई खाजा खुवाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्