Logo

लकडाउनको अवज्ञा गरेपछि पुलमा छेकबार

धादिङ-कोराना भाइरसको संक्रमणबाट मानवजाति नै संकटमा पर्नसक्ने खतरालाई रोक्न नेपाल सरकारले मुलुकभर लकडाउन गरेको छ । तर त्यही मानव लकडाउनलाई पर्वका रूपमा मनाउन भीडभाड गरेर आवतजावत गर्ने वा घुमफिर गर्ने गरेपछि गजुरी गाउँपालिका–५ र सिद्धलेक गाउँपालिका–७ पिपलटार जोड्ने त्रिशुली नदी माथिको झोलुंगे पुलमा छेकवार गरिएको वडाध्यक्ष लक्ष्मण खतिवडाले बताए ।
गजुरी गाउँपालिका–५ घाटबेंसी सिद्धलेक ७ पिपलटारको मुख्य बजार केन्द्र हो । तर आफ्नै परिवारबाट समेत अलग बस्नु पर्ने अवस्था सिर्जना भएकाले अनावश्यक मानिसको आवतजावत बढेपछि पुल बन्द गर्नुपरेको वडाध्यक्ष खतिवडाले बताए । सिद्धलेक गाउँपालिका–७ स्थित पिपलटार पश्चिमपट्टि त्रिशुली किनारनजिक बैरेनीचौरमा सयांै युवायुवती आउने र बस्ती तिर छिर्न थालेपछि लकडाउनको तेस्रो दिन बिहान स्थानीयले झोलुंगे पुलमा छेकबार लगाएको अध्यक्ष खतिवडाले बताए । यस वडाको आदमटार र आदमघाट बजार जोड्ने अर्को झोलुंगे पुल छ । गजुरी गाउँपालिका–६ आदमघाट बजारका मानिस पानी लिन आउनु पर्ने भएकाले छेकबार गर्ने कि नगर्ने भन्नेमा छलफल भइरहेको छ । यदि आदमघाटबासीले लकडाउनको मर्मअनुसार पानी ओसार्ने वा नुहाइधुवाइ गर्ने हो भने खुला रहन्छ । लकडाउनको बेवस्ता गर्दै गाउँमा प्रवेश गर्न थाले भने आदमघाटको झोलुंगे पुल पनि छेकबार गर्ने वडाध्यक्ष खतिवडाले बताए ।
विश्वभर संक्रमण फैलिई २२ हजारको हाराहारीमा मानिसले ज्यान गुमाउनु परेको र चार लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । नेपालमा संक्रमण फैलन सक्ने भन्दै मुलुकभर लकडाउन गरेको दोस्रो दिन र तेस्रो दिनमा कोरोना भाइरस संक्रमितका रूपमा नेत्रावती दबजोङ गाउँपालिका–२ सेम्जोङमा रहेको पुष्टि भएको छ । उनीहरू विदेशबाट आएदेखि नै काठमाडौँ बसेको र घर परिवारसँग भेटघाट नभएको गाउँपालिका अध्यक्ष दुर्गाकुमार श्रेष्ठले बताए । अर्का एकजना कतारबाट घर आएका र परिवारसँग भेटघाट गरेकाले संक्रमणको सम्भावना भएकाले उनीसहित परिवारका अन्य दुई जनालाई अस्पताल पठाएको र एकजना अस्पताल पठाएको अध्यक्ष श्रेष्ठले बताए ।
मंगलबार तेस्रो संक्रमित व्यक्ति धादिङको रहेको पुष्टि गरेसँगै धादिङमा त्रास फैलिएको छ । अध्ययन, रोजगारी र व्यापार व्यावसाय गर्न मुलुककै विभिन्न सहरमा गएकाहरू गाउँ फर्केपछि चाडपर्वमा जस्तै चहलपल बढेको छ । भारत मजदुरी गर्न गएकाहरू मंगलबार गाउँ पसेपछि अवस्था झन त्रासमय बनेको छ ।
सबै गाउँपालिकाले भारतसहितका अन्य मुलुकबाट आएकाको खोजी गरिरहेको छ । गजुरी गाउँपालिकाले भारतसहतिका अन्य मुलुकबाट दुई साताभित्र गजुरी गाउँपालिका प्रवेश गरेका छुट्टै क्वारेन्टाइनमा बस्न नसक्ने अवस्था भए गाउँपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा निःशुल्क बस्न आउनु आह्वान गरेको छ । लकडाउन अवज्ञा गर्नेलाई पृथ्वीराजमार्गमा १५ जना मोटरसाइकल चालक र धादिङबेंसीमा एकजना ट्रक चालकलाई प्रहरीले कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्