Logo

कोरोनाको उच्च जोखिममा जुम्ला

जुम्ला- कोरोना भाइरसको उच्च जोखिमा कर्णाली परेको छ । अन्य प्रदेशभन्दा कर्णालीबाट धन कमाउन कालापहाड (भारत) जानेको संख्या धेरै भएको र लकडाउनका बीच पनि दैनिक सयौं नेपाली घर फर्किरहेकाले जोखिम बढेको हो ।
तीन दिनमा मात्रै जुम्लामा करिब ३ हजार नागरिक भित्रिएका छन् । बाहिरबाट आउने सबैलाई अनिवार्य चेकजाँच गर्न, १४ दिन घरमै बस्न निर्देशन दिइएको छ । तर, यसको पालना भएको छैन । जुम्लामा कोरोनासँग लक्षण मिल्ने बिरामीहरू क्रमिक रूपमा बढ्दै गएका छन् । प्रदेश सरकारले एक हजार बेडको क्वारेन्टाइन बनाउने भने पनि समयमै काम पूरा नहुँदा भारतबाट आएका नागरिक होटलमै बास बसिरहेका छन् ।
रातारात भागेर नेपालगन्जबाट आएका नागरिकलाई प्रशासनले खोजिरहेको छ । तर भेटाउन मुस्किल भएको डिएसपी लाल बहादर धामीले बताए ।
जुम्ला तातोपानीका एक बाकलाई कोरोनाको शंकापछि आईसोलेसनमा राखिएको छ । उनलाई १०२ देखि १०४ डिग्रीसम्म ज्वरो आएपछि आईसोलेसनमा राखिएको डा. सुनिल बुढाथोकीले बताए । उनी ५ दिन अघिमात्र भारतबाट आएका थिए । जुम्लामा हालसम्म ३१ जनलाई क्वारेन्टाइनमा राखिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण सेन्टर नहुँदा काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेको अस्पतालका निर्देशक मंगल रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्