Logo

आर्थिक समृद्धिका लागि उद्यमशीलता आवश्यक

मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास गर्न सरोकारवालाहरूले सुझाव दिएका छन् । मिडिया इन्टरनेसनलको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा गरिएको कार्यक्रममा सरोकारवालाहरूले मुलुकमा राजनीतिक स्थायित्व भइसकेकाले अब उद्यमशीलताको विकासमा लाग्नुपर्ने बताएका हुन् ।
कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले कृषिलाई व्यावसायिक बनाइनुपर्ने बताए । उनले मुलुकमा विद्युत्, सडकलगायतको विकाससँगै राजनीतिक स्थिरतासमेत आइसकेकाले अबको बाटो उद्यमशीलता नै हुनुपर्ने बताए । भौगोलिक विविधता रहेको नेपालको हिमाल, पहाड र तराईमा छुट्टाछुट्टै किसिमका कृषि व्यवसाय गरेर मुलुकको आर्थिक विकासमा टेवा पु¥याउन सकिने उनको भनाइ थियो ।
पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक दलहरूले पनि अब आर्थिक मुद्दा उठाउन थालेको बताए । आर्थिक समृद्धिका लागि मुलुकमा प्रशस्त सम्भावना रहेको भन्दै उनले सम्भावनालाई विकासमा बदल्न राज्यले प्राविधिक र वित्तीय सहयोगका साथमा बजारको समेत व्यवस्था गर्न सुझाव दिए ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले अब सबैको ध्यान आर्थिक समृद्धिमा लगाउनुपर्ने बताए । उनले मुलुकको राष्ट्रिय अर्थनीतिका तीन खम्बाहरू सरकारी, निजी र सहकारी क्षेत्रको संयुक्त पहल हुनुपर्नेमा जोड दिए ।
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेले मुलुकभित्र प्रशस्त सम्भावना हुँदाहुँदै पनि आयात बढिरहेको, युवा बिदेसिएको र खेतबारी बाँझो रहेको भन्दै अब मुलुकको समृद्धिका लागि सरकार र जनता सबै मिलेर लाग्नुपर्ने बताए ।
निर्धन उत्थान बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले बेरोजगारीका कारण मुलुकमा गरिबी बढेको भन्दै अब स्वरोजगारी सिर्जना गर्ने तथा उद्यमी बन्नेतर्फ लाग्नुपर्ने बताए । कम्तीमा एक घरमा एक जना उद्यमशीलतामा लाग्नु आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्