भारतबाट आएका २७ जना क्वारेन्टाइममा «

भारतबाट आएका २७ जना क्वारेन्टाइममा

धादिङ-नेपाल सरकारले नेपालभर लक डाउन गरेको दोसो दिनको साँझसम्म धादिङमा २७ जनालाई क्वारेनटाइनमा राखिएको छ । २७ जना नै भारतको बैंग्लोर र मुम्बईबाट आएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न गाँउ पुगेका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको हो ।
मंगलवार बिहान बैंग्लोरबाट गाउँ आएका २० देखि २४ वर्ष समूहका नीलकण्ठ नगरपालिका–६ भोर्लेका नौजना युवालाई वडाअध्यक्ष उद्धव रिजालको सहयोगमा कोरोना भाइरसको लक्ष्णबिना नै चेकजाँच गरी क्वारेन्टाइनमा राखिएको स्वास्थ्य संयोजक विष्णु रिजालले बताए । एकजना घरमै जुटेकाले नीलकण्ठ नगरपालिका–३ धादिङबेसीस्थित जिल्ला वन कार्यालयको नयाँ भवनमा क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको स्वास्थ्य उपचार र खाना खाजाको व्यवस्था नगरपालिकाले गरेको स्वास्थ्य संयोजक रिजालले बताए ।
यसै गरी भारतकै वंकलोहर र वम्वईबाट आएका २० देखि ५० वर्ष उमेर समूहका गल्छी गाँउपालिका वडा नं. ८ गोगनपानीका १६ जनालाई वुधवार बागेश्वरी मावि वैरनीमा क्वारेनटाइनमा राखिएको छ । उनीहरुमा कुनै कोराना भाइरसको लक्ष्ण देखिएर नभई सम्भावित जोखिमलाई न्यूनिकरण गर्न राखिएको स्वास्थ्य संयोजक राम प्रसाद ज्ञवालीले बताए । भारतबाटै आएका गल्छी गाँउपालिका वडा नं. २ का एक जनामा रुघाखोकीको समस्या देखिएकाले छुट्टै राखिएको स्वास्थ्य संयोजक ज्ञावालीले बताए । उनीहरुको खाना खाजाको र स्वास्थ्य उपचारको व्यवस्था गाँउपालिकाले गरेको छ ।
यसैगरी बेनीघाट रोराङ गाउँपालिका–२ का एक जना व्यक्तिलाई राजमार्ग सामुदायिक अस्पतालले कोरोना भाइरसको आशंकामा काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकु प-याएकोमा रिपोर्ट नेगेटिभ आएको राजर्माग सामुदायिक अस्पताल मलेखुका डाक्टर संजय यादवले बताए । नेपालभर लकडाउन र भारतमा समेत कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा भएकाले भारत तथा अन्य देशमा गएका सबै पुरानो थाकथलो खोज्दै गाउँ आएपछि सहरमा भन्दा गाउँमा जोखिम रहेको भन्दै स्वास्थ्य संस्था दिनभर र आवश्यक परे रातीमा समेत खोल्ने व्यवस्था मिलाएको छ । स्वास्थ्यकर्मीहरू कोरोरा भाइरसबाट बच्न आनीबानीमा सुधारसहित सुरक्षित रूपमा बस्न प्रचार प्रसारलाई तीव्रता दिँदै हिँडिरहेका छन् । स्थानीय सरकारका प्रतिनिधिहरू कोरोना न्यूनीकरण गर्ने रणनीति बनाउँनै व्यस्त छन् । आवश्यक खर्चमा कमी नहुने गरी व्यवस्था मिलाएको प्रमुख तथा अध्यक्षहरूको भनाइ छ ।
नीलकण्ठ नगरपालिका–३ स्थित जिल्ला वन कार्यालयमा बनाइएको क्वारेनटाइन । यहाँ अहिले १० जना क्वारेनटाइनमा छन् । तस्बिर ः कारोबार

 

प्रतिक्रिया दिनुहोस्