सुर्खेतमा १०२ जना क्वारेन्टाइनमा «

सुर्खेतमा १०२ जना क्वारेन्टाइनमा

सुर्खेत- भारतको विभिन्न नाका हुँदै आएका कर्णाली प्रदेशका विभिन्न जिल्लाका १०२ जनालाई सुर्खेतस्थित क्वारेन्टाइनमा राखिएको छ ।
प्रदेश सरकारले भारतका विभिन्न सहरबाट कर्णाली आउन लागेका र रुपैडिया एवं कैलालीमा अलपत्र परेका नागरिकलाई होटलमा उद्धार गरी ल्याएर क्वारेन्टाइनमा राखेको हो । विभिन्न नाकामा अलपत्र परेका नागरिकलाई प्रदेश सरकारले उद्धार गरी ५७ जनालाई बुधबार राति २ बजे सुर्खेत ल्याएको थियो भने ४५ जनालाई दिउँसो ल्याइएको छ । वीरेन्द्रनगर १० दैलेख रोडमा रहेको होटल अशोककामा ६ महिलासहित ७८ जना र वीरेन्द्रनगर नगरपालिका–१० स्थित रहेको अन्तरनिर्भर समाज होस्टेलको भवनमा २४ जना पुरुष राखिएको छ जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरूको स्वास्थ्य जाँच गरिएको र ज्वरोलगायतका कुनै पनि लक्षण नदेखिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताए ।
भारतलगायत विदेशबाट आउने नागरिक अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले वीरेन्द्रनगरमा एक हजार बेडको क्वारेन्टाइन वार्ड निर्माण गरिरहेको छ । वीरेन्द्रनगरको खुलामञ्चमा क्वारेन्टाइन निर्माणाधीन अवस्थामा रहेकाले तत्कालका लागि होटलमा राखिएको प्रहरीले जनाएको छ । उनीहरूको सबै खर्च प्रदेश सरकारले बहोर्ने जनाएको छ ।

विदेशबाट फर्किएकाहरूको निगरानी गर्दै नगरपालिका

भारतका विभिन्न स्थानमा रोजगारी गर्न गएर वीरेन्द्रनगर फर्किएकाहरूको नगरपालिकाले विवरण संकलन गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ६ र ९ ले १७ जनाको विवरण संकलन गरेको हो ।वडा नम्बर ९ ले विदेशबाट वीरेन्द्रनगर फर्किएकाको संख्या १६ जना रहेको विवरण नगरपालिकालाई बुझाएको छ । यीमध्ये १५ जना भारत र एकजना कतारबाट आएको बताइएको वीरेन्द्रनगर नगरपालिकाका सूचना अधिकारी दिपेन सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार वीरेन्द्रनगर नगरपालिका–६ मा एकजना मात्रै भारतबाट फर्किएका छन् । भारत र कतारबाट फर्किएकालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको उनले बताए । नगरपालिकाले वडामा नयाँ व्यक्ति आएमा उनीहरुको विवरण संकलन गर्न वडा कार्यालयलाई निर्देशनसमेत दिइसकेको छ । वडा कार्यालयहरूले टोलविकास समितिलाई सोको विवरण संकलनका लागि पत्राचार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्