पोखरा महानगरले १५० बेडको क्वारेन्टाइन बनायो

पोखरा महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १ सय ५० बेडको क्वारेन्टाइन बनाएको छ । कोरोना भाइरसको जोखिम पोखरामा पनि भएकोले गर्दा पूर्वतयारी स्वरुप महानगरले पोखराका दुई ठाँउमा एक सय ५० बेडको क्वारेन्टाइन निर्माण गरेको हो ।
पोखराको सृजनाचोकमा रहेको लेक सिटि हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा एक सय बेड र पोखराकै नदीपुरमा रहेको पद्म नर्सिङ होमको स्वामित्वमा रहेको (पुरानो बुद्ध) हस्पिटलामा ५० बेडको क्वारेन्टाइन अस्पताल बुधबार तयार पारिएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । दुवै अस्पतालमा आवश्यक बेडलगायत उपचारका सामग्री तयारी अवस्थामा रहेकाले अन्य बाँकी काम पूरा गरेर बुधबारबाटै सञ्चालनमा ल्याइने गरी तयारी गरिएको उनले जनाइन् । स्थानीयले आवास क्षेत्रसँगै जोडिएकोले नदीपुरको बुद्ध हस्पिटलको क्षेत्रमा क्वारेन्टाइन बनाउन नहुने भनी विरोध जनाएका थिए । सरकारले गरेको निर्णयलाई मान्यु पर्ने भन्दै उपमेयर गुरुङले देशमा परेको विषम परिस्थितिमा राज्यले गरेको निर्णयविरुद्ध कोही जान नहुने बताइन् । पोखरा महानगरपालिका वडा नम्बर ३ का वडअध्यक्ष रविन्सन प्रजुले महानगरले आफूहरूलाई सहजरूपमा पास उपलब्ध नगराएको गुनासो गरे । महानगरले दिएको निर्देशन अनुसार आफ्नो वडामा विदेशबाट आएका ८ जनाको तथ्यांक आफूहरुले राखेको उनले जनाए । अध्यक्ष प्रजुका अनुसार बेलायतबाट आएका ५ र दुबईबाट आएका तीनजना सेल्फ क्वारेन्टाइनमा बसेका छन् । उनीहरूको स्वास्थ्य अवस्था हालसम्म ठीक भएको उनले जनाए ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले कोरोना भाइरस रोकथामको लागि महानगरले आफ्नो स्रोतसाधनले भ्याएसम्मको शक्ति खर्चन तयार रहेको बताए । महानगरले विपद् व्यवस्थापनका लागि भनी विनियोजन गरेको दुई करोड रुपैयाँमध्ये हाल पहिलो चरणमा ७० लाख खर्च गर्ने भएको उनले जनाए । उनले भने, “महानगरभित्र यदि कुनै व्यक्ति बाहिर देशबाट वा अन्य जिल्लाबाट समेत प्रवेश गरेको छ भने उनीहरूको अभिलेख वडामा हुनुपर्छ, वडाले वा सम्बन्धित व्यक्तिले पनि त्यसको बारेमा जानकारी गराउनु पर्छ, यदि कोरोना भाइरसको कुनै लक्ष्यण देखिमा हामीले आइसोलेसन वार्डमा राखिने छ, अन्य अवस्थामा उनीहरू क्वारेन्टाइनमा बस्नुपर्छ ।” सृजनाचोकमा रहेको लेक सिटि हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा आइसोलेसन बेडसमेत बनाउन सकिने मेयर जिसीले जनाए ।
लकडाउन उल्लंघन गर्ने १६७ सवारी चालक कारबाहीमा
पोखरामा लकडाउन उल्लंघन गर्ने एक सय ६७ सवारी चालक कारबाहीमा परेका छन् । लकडाउनको पहिलो दिन मंगलबार ३ सय ७० भन्दा बढी सवारी साधनका चालक कारबाहीमा परेको भोलिपल्ट बुधबार एक सय ६७ जना सवारी चालक कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक सन्तोष रोकाले बताए ।
पहिलो दिनमा लकडाउन उल्लंघन गर्ने चालकको सवारी साधनको चाबीमात्र नियन्त्रणमा लिएर सवारीसाधन छोडिएको थियो भने दोस्रो दिन बुधबार चाबीसहितको सवारी साधनको आवश्यक डकुमेन्टसमेत नियन्त्रणमा लिएको प्रमुख रोकाले जनाए ।