नेपाली चार्टर्ड एकाउन्टेन्टलाई आस्ट्रेलियामा मान्यता «

नेपाली चार्टर्ड एकाउन्टेन्टलाई आस्ट्रेलियामा मान्यता

नेपाली चार्टर्ड एकाउन्टेन्टले आस्ट्रेलियामा मान्यता पाएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र आस्ट्रेलिया तथा न्युजिल्यान्ड चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच आपसी समझदारीपत्रमा हस्ताक्षर भएपछि उक्त मान्यता प्राप्त भएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले विभिन्न अन्तर्राष्ट्रिय लेखा व्यावसायिक संस्थासँग मान्यता प्राप्त गर्न गरिएको प्रयास स्वरूप आइक्यान र आस्ट्रेलिया तथा न्युजिल्यान्ड चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच संस्थाका सदस्यहरुले एक अर्को संस्थाको सदस्यता प्राप्त गर्न सक्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट अध्यक्ष सीए प्रकाशजंग थापा र आस्ट्रेलिया तथा न्युजिल्यान्ड चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रिक इलिसले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा आस्ट्रेलिया तथा न्युजिल्यान्ड चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष जेन स्टेटन तथा आइक्यान पार्षद् तथा सदस्यसमेत सहभागी भएको आइक्यानका अध्यक्ष सिए प्रकाशजंग थापाले बताए ।
अस्ट्रेलियास्थित एक लेखाव्यासायिक संस्थाका १ लाख २० हजार सदस्यले अस्ट्रेलिया, न्युजिल्यान्ड तथा अन्य देशमा रहेर व्यावसायिक क्षेत्रमा आफ्नो विशेषज्ञता प्रदान गरिरहेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापित नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था एक स्वायत्त र नियमनकारी निकाय हो ।
सम्झौतापत्र आस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका लागि नेपालका महावाणिज्यदूत दीपक खड्का र संस्था सम्बद्ध देशका पदाधिकारीको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।
समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आइक्यानका अध्यक्ष थापाले आपसी पहिचान र सहकार्यले दुवै संस्थाका सदस्यले एक अर्को संस्थाको सदस्यता लिन सक्ने, दुवै संस्थाको उद्देश्य प्राप्तिमा सहयोगी हुने, सदस्यहरुको व्यावसायिक अवसरका क्षेत्र बढ्ने तथा सदस्य र संस्था दुवैको वृत्तिविकासमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । उनले समझदारीले दुई देशबीचको सम्बन्धका साथै लेखा व्यवसायको क्षेत्रमा नयाँ आयाम थपेको दाबी गरे ।
त्यसैगरी आस्ट्रेलिया तथा न्युजिल्यान्ड चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रिक इलिसले संस्थाहरुबीच आपसी पहिचान र सहयोगको अपेक्षा राख्दै समझदारी भएकोमा खुसी व्यक्त गरे ।
आस्ट्रेलियाको न्यू–साउथ वेल्स राज्यका लागि नेपालका महावाणिज्यदूत दीपक खड्काले दुवै संस्थाबीचको यो प्रयासले नेपाल र आस्ट्रेलियाबीचको सम्बन्ध अझ प्रगाढ हुने र लेखा व्यवसायीहरु, आइक्यान र नेपालका लागि ठूलो उपलब्धि भएको बताए ।
यसैबीच आइक्यानको अस्ट्रेलिया च्याप्टर पनि स्थापना भएको छ । आस्ट्रेलियाको सिड्नीमा आयोजित एक विशेष समारोहकाबीच आइक्यानले आफ्नो प्रथम वैदेशिक च्याप्टरको रूपमा अस्ट्रेलिया च्याप्टर स्थापना गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्